काठमाडौं । संगीत महर्षि नातिकाजीको नेपाली संगीतमा योगदान’bout चर्चा गर्दै बिहीबार उनको १०० औँ जन्म जयन्ती मनाइयो । चाबहिलको कुटुवहाल स्थित नातिकाजीको निवासमा नातिकाजी स्मृति समाजले आयोजना गरेको सो कार्यक्रममा उनले नेपाली संगीतको विकासमा पु¥याएको योगदान’bout विभिन्न संगीतकर्मीले चर्चा गरे ।
अग्रज गीतकार राजेन्द्र थापाले नेपाली सुगम अर्थात् आधुनिक संगीतको मौलिक पहिचान बनाउने पहिलो संगीतकार नातिकाजी नै भएको जिकिर गर्दै उनले भने,‘ललितपुरमा जन्मेका नातिकाजीले त्यति बेला स्थानीय भजन समूहमा रहेर भजन गाउँदै बजाउँदै सांगीतिक यात्रा अघि बढाएका थिए । त्यसैले रेडियो नेपाल स्थापना भएपछि रेडियो नेपालमा रहेर संगीत गर्ने क्रममा उनले आधुनिक गीतमा समेत भजनमा प्रयोग हुने हार्मोनियम, तबला, बाँसुरी, मादल जस्ता नेपाली बाजाहरूकै प्रयोग गरे’, त्यो अघिका संगीतकारहरू हिन्दुस्तानी संगीतबाट प्रयोग भएको र उनका समकालीन शिवशंकर मानन्धर सहित अन्य संगीतकारले पनि नेपाली आधुनिक संगीतमा ड्रम सेट, गिटार जस्ता पश्चिमा बाजा प्रयोग गरेको पनि उनले बताए ।

स्रष्टा नातिकाजीको तस्बिरमा माल्यार्पण पश्चात् मन्तव्य राख्ने क्रममा अग्रज संगीतकार तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बासकोटाले नेपाली आधुनिक संगीतको अहिलेको राजमार्गको गोरेटो कोर्ने काम नातिकाजीबाटै सुरु भएको बताए । कार्यक्रममा उनले भने,‘आजीवन रेडियो नेपालमा रहेर आधुनिक संगीतको श्रीवृद्धिमा योगदान पु¥याउनु भएका संगीत महर्षि नातिकाजीको नाममा नेपाल सरकार तथा रेडियो नेपालले नै विशेष सांगीतिक पुरस्कार स्थापना गर्नु पर्ने हो । तर राज्यले उहाँलाई बेवस्ता गरेपछि नातिकाजीको योगदान नयाँ पुस्तामा हस्तान्तरण गर्न नातिकाजी स्मृति समाजले नै उहाँको नाममा बर्सेनि सम्मान तथा पुरस्कार कार्यक्रम गर्दै आएको छ ।
विगतका वर्षमा नातिकाजीको जन्म जयन्तीको अवसर पारेर स्मृति समाजले नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कारको घोषणा गर्दै आएको थियो । तर गत १९ असोजमा नातिकाजीकी पत्नी सरस्वती श्रेष्ठको निधनको भएको र उनको निधनको तीन महिना नपुगेका कारण बिहीबार यो पुरस्कार एवम् सम्मान घोषणा नगरिएको अध्यक्ष बासकोटाले बताए । यो महिनाको अन्तिमसम्म सम्मान एवम् पुरस्कार प्राप्त संगीतकर्मीहरूको नाम घोषणा गरेर उनीहरूलाई राष्ट्रपतिबाट पुरस्कृत गरिने पनि अध्यक्ष बासकोटाले कार्यक्रममा जानकारी गराए ।
संगीत महर्षि नातिकाजी प्रति श्रद्धा सुमन अर्पण गर्दै साधना कला केन्द्रका अध्यक्ष एवम् संगीतकार मिलन मोक्तानले १०० औँ जन्म जयन्तीको अवसरमा नातिकाजीको स्मृतिमा राज्यबाटै बृहत् कार्यक्रम हुने पर्ने बताए । नेपाली संगीतमा नातिकाजीको योगदानको उचित मूल्यांकन राज्य तर्फबाट नभएको उनको गुनासो थियो ।
यस्तै गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले गीतकारले लेखेको गीतमा सधैँ न्याय गर्ने संगीतकारको रूपमा आफूले नातिकाजीलाई सम्झने गरेको बताए । नेपाली सुगम संगीतमा नातिकाजीको जति चर्चा गरे पनि कम हुने बताउँदै उनले देखाएको बाटोमा लाग्न नयाँ पुस्ताका संगीतकारलाई मार्गदर्शन दिनु पर्नेमा सुझाव थापाले दिए ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् संगीतकार चेतन सापकोटाले आफ्नो देशको लागि गीत गाउने सच्चा संगीतकारको रूपमा नातिकाजीको चर्चा गर्दै भने,‘उहाँले नेपाली हामी रहुँला कहाँ नेपालै नरहे भनेर गाउनु भएको गीतले पनि नातिकाजी कतिसम्म देशप्रेमी हुनुहुन्थ्यो भन्ने स्पष्ट पारेको छ । नेपाली संगीतमा उहाँले दिनु भएको योगदान साँच्चै सलाम योग्य छ र उहाँको योगदानको स्मरणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यो वर्ष विशेष कार्यक्रम गर्ने छ ।’






