बाँस बेचेर विदेशी मुद्रा भित्र्याउन सकिन्छ : मन्त्री घिसिङ

ललितपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाँसको उत्पादन बढाएर आन्तरिक आत्मनिर्भरता बढाएसँगै विदेशी मुद्रा भिœयाउन सकिने बताएका छन् । स्थानीय उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै मन्त्री घिसिङले पूर्वाधार निर्माणमा बाँसको आर्थिक, पर्यावरणीय र सामाजिक तथा सांस्कृतिक महत्व रहेको चर्चा गरे ।

ह्याविट्याट फर ह्युम्यानिटी नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको बाँस संरचना डिजाइन मार्गदर्शन २०८२ विमोचन गर्दै मन्त्री घिसिङले खर्च कम गर्न र परनिर्भरताको अन्त्य गर्न नेपालका पहाडी जिल्लासहित देशैभर बाँसको व्यावसायिक खेती र उत्पादन विस्तार गर्न सकिनेमा जोड दिए ।

मन्त्री घिसिङले निर्माण सामग्रीको आयातका क्रममा बाहिरिने विदेशी मुद्रा सञ्चित गर्न सकिने बताए । संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरी आफ्नो मौलिकता संरक्षणमा समेत बाँसको योगदान रहने बताउँदै मन्त्री घिसिङले बाँसबाट कलात्मक सामग्रीहरू निर्माण गरी उपहारका रूपमा बिक्री गरी आयआर्जन गर्ने संस्कृति बढेकाले आत्मनिर्भर अर्थतन्त्रका लागि बाँसको योगदान रहेको बताए ।

सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सरकारको नीति तथा कार्यक्रममा स्थानीय उत्पादनको प्रयोग र परिचालनलाई जोड दिइएको बताए । नीतिमा मात्रै रहेर नहुने बताउँदै सचिव सिग्देलले कार्यक्रम र कार्यान्वयनका लागि सरोकारवाला, साझेदार र स्थानीय समुदाय जागरुक हुनुपर्नेमा जोड दिए ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भ अनुकूल, जलावायुमैत्री प्रविधि, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि आवश्यक नीतिगत व्यवस्था, मापदण्ड, निर्देशिका र कार्यविधि तयार गरी लागू गर्न विभाग प्रतिबद्ध रहेको बताए ।

भविष्यका लागि बाँसको आवास भन्ने नाराका साथ ह्याविटाट फर ह्युम्यानिटीले संरचना निर्माण र बाँस प्रवर्धनमा काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

दुई सय असक्तले चिसोबाट जोगिन पाए कम्बल