रौतहट । जनमत पार्टीका कार्यकारिणी समिति, केन्द्रीय कमिटी सहित विभिन्न जिम्मेवारीमा रहेका दर्जनौं नेताहरु पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको गृहनगर रौतहटको मौलापुर नगरपालिकाको पतौरा बजारमा आज आयोजित एक कार्यक्रमका बीच नेताहरु जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा जनमत पार्टीका कार्यकारिणी समिति सदस्य सुनिल यादव, केन्द्रीय सदस्य सियाराम जयसवाल, केन्द्रीय सदस्य विनोद यादव, सांस्कृतिक जनमत संघका केन्द्रीय सदस्यद्धय दिपक बैठा, रामबाबु यादव रहेका छन् ।
यसैगरी जनमत पार्टी बाराका सदस्य एवं सुवर्ण गाउँपालिकाका इन्चार्ज कामेश्वर मुखिया, देवताल गाउँपालिका अध्यक्ष संदिप यादव, महागढीमाई नगरपालिका सचिव राजेश यादव, देवताल गाउँपालिका सचिव कौशल कुशवाहा, वडा नं. ६ का वडा अध्यक्ष कपिलदेव पण्डित, महागढीमाई नगरपालिका वडा नं. ६ का पूर्व वडा अध्यक्ष कुबेर यादव, सचिव हरिन्द्र यादव, बारा जिल्ला सदस्य उमाशंकर दास, पुन्देव चौरसिया, पतौरा ९ का वडा अध्यक्ष सविन्द्र यादव लगायतका नेताहरु आजपामा प्रवेश गरेका छन् ।
जनमत पार्टी परित्याग गरी आजपा प्रवेश गर्ने नेताहरु बारा जिल्ला क्षेत्र नं. २ का बढी रहेका छन् । पछिल्लो समय जनमत पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्ने नेताहरुको संख्या बढदै गइरहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।
उनीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका, माला, अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् । आजपामा स्वागत गर्दै उनले सफल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका छन् ।
यसअघि जनमत पार्टीका केन्द्रीय सदस्यहरु विक्रमबहादुर बम, उदयपुर जिल्ला इन्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारी सहितका नेताहरु गत बुधबार आजपामा प्रवेश गरेका थिए ।
जनमत पार्टी परित्याग गरी आजपामा प्रवेश गर्ने नेताहरुले जनमतले मुलुकको नेतृत्व गर्दै नेपाली जनताको आवश्यक्ता, चाहना पुरा गर्न नसक्ने भएकाले आफूहरुले आजपामा प्रवेश गरेको जनाएका छन् ।
आजपाले लिएको रणनीति, उठाउदै आएको मुद्धाले मुलुक र नेपाली जनताको पक्षमा रहेको र आजपाले मुलुकको नेतृत्व गर्दै समृद्धिको स्पष्ट खाका सहित अगाडी बढेकाले आजपामा प्रवेश गरेको उनीहरुले जनाएका छन् । आजपाको नेतृत्व, नीति, विचार नै अहिलेको आवश्यक्ता भएकाले अन्य नेतालाई समेत उनीहरुले आजपामा गोलबद्ध हुन आह्वान गरेका छन् ।






