सुरक्षा तयारी बिना भीड तान्दा चन्द्रौटा मेला तनावग्रस्त

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–चन्द्रौटामा आयोजना गरिएको मेलाको समापनका दिन साउण्ड सिस्टम बन्द भएपछि उत्पन्न विवाद उग्र बन्दा मञ्च र साउण्ड उपकरणमा तोडफोड भएको छ। सोमबार साँझ भएको घटनापछि कार्यक्रमस्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

चन्द्रौटा उद्योग वाणिज्य संघको नाममा आयोजना गरिएको मेलाको समापन समारोहमा लोकप्रिय र्‍यापर जी बब प्रस्तुति दिइरहेका बेला साँझ करिब ८ बजेतिर साउण्ड सिस्टम अचानक बन्द भएको थियो। दर्शकहरू मञ्च नजिक पुगेर नाच्ने क्रममा साउण्डको तार छुट्टिँदा आवाज बन्द भएको प्रत्यक्षदर्शीले बताएका छन्।

साउण्ड बन्द भएपछि कलाकारले दर्शकलाई मञ्चतर्फ आउन आग्रह गरेसँगै भीड थप उत्तेजित बनेको स्थानीयको भनाइ छ। क्रमशः आक्रोशित बनेको भीडले बोतल प्रहार गर्न थालेको र मञ्चमै पुगेर साउण्ड सिस्टम तथा संरचनामा तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

स्थानीय विकास पौडेलका अनुसार टिकट व्यवस्थापनकै कारण दिउँसैदेखि असन्तुष्टि देखिएको थियो। “साँझ ५ बजेसम्म १०० रुपैयाँ र त्यसपछि २०० रुपैयाँ टिकट राखियो। मेला अवधिभरका लागि भनेर ५०० रुपैयाँमा दिइएको पास समेत साँझ अमान्य बनाइएपछि विवाद सुरु भयो,” उनले भने। साउण्ड बिग्रिनु र कलाकारको प्रतिक्रिया थप उत्तेजक बनेपछि स्थिति नियन्त्रण बाहिर गएको उनको भनाइ छ।

हजारौँ दर्शक सहभागी हुने कार्यक्रमका लागि पर्याप्त सुरक्षा व्यवस्था, प्रवेश नियन्त्रण र आपतकालीन योजना नदेखिनु आयोजकको गम्भीर लापरवाही भएको स्थानीयको आरोप छ। “चर्चित कलाकार बोलाएर भीड तानियो, तर त्यस भीडलाई सुरक्षित व्यवस्थापन गर्ने तयारी देखिएन,” पौडेलले टिप्पणी गरे।

स्थानीयका अनुसार अन्य दिनको तुलनामा र्‍यापर आउने दिन २०० रुपैयाँ टिकट तोकिएको थियो। मेलाको सम्पूर्ण व्यवस्थापन ठेक्कामा दिइएकाले स्थानीयले अपनत्व महसुस गर्न नसकेको गुनासो पनि छ।

पुस १३ गतेदेखि सुरु भएको मेला ‘चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२’ नाम दिइए पनि व्यापारिक स्टलबाहेक प्रदर्शनीजन्य सामग्री नदेखिएको स्थानीयले बताएका छन्। नाम उद्योग वाणिज्य संघको भए पनि मेलाको सम्पूर्ण व्यवस्थापन व्यवसायीलाई ठेक्कामा दिइएको जनाइएको छ।

स्थानीय पत्रकार रामअवतार चौधरीका अनुसार साउण्ड पटक–पटक बन्द भएपछि कलाकारले “सबै मिलाउनुस्” भन्दै दर्शकलाई सम्बोधन गरेपछि स्थिति झन् बिग्रिएको हो। “घाइते कोही छैनन्, तार सर्ट भएर साउण्ड बिग्रिएको हुनसक्छ,” उनले भने।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले प्राविधिक समस्यालाई लिएर यस्तो आक्रोश देखाउनु गलत भएको टिप्पणी गरेका छन्।

यस विषयमा आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले अपेक्षाभन्दा धेरै दर्शक उपस्थित हुँदा प्राविधिक समस्या आएको दाबी गरेका छन्। उनका अनुसार करिब १० हजार दर्शक जी–बबको प्रस्तुति हेर्न पुगेका थिए। “कुनै गम्भीर अप्रिय घटना भएको छैन,” उनले भने, “करिब २५–३० वटा कुर्सी मात्र क्षति भएको हो।”

यता, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जिल्ला प्रशासन कार्यालयबाट लिइएको अनुमति अवधि सकिएकाले प्रहरी महोत्सव स्थलमा नियमित रूपमा तैनाथ नरहेको स्पष्ट पारे। “सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको हो, तर त्यसबेला युवाहरूको समूह उग्र अवस्थामा थियो,” उनले भने।

महोत्सव सञ्चालनका लागि अनुमति नहुँदा पनि कार्यक्रम किन रोकिएन भन्ने प्रश्नमा उनले सो विषय जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको उल्लेख गर्दै थप टिप्पणी गर्न चाहेनन्। प्रशासनिक तहबाट आवश्यक निर्णय र समन्वय हुनुपर्ने विषय रहेको भन्दै उनले त्यस सम्बन्धी जिम्मेवारी प्रशासनकै भएको संकेत गरे। पछिल्लो समय सामाजिक, पेशागत तथा निजी संस्थाको नाम प्रयोग गरी मेला ठेक्कामा दिने प्रवृत्ति बढ्दै गएको भन्दै स्थानीयले यस्तो अभ्यासले अव्यवस्था र विवाद निम्त्याउने खतरा रहेको बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : प्रभु साह