गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेस्थित निन्युखर्क माध्यमिक विद्यालयको आठकोठे भवन निर्माण हुने भएको छ । भारतीय राजदुतावासको सहयोगमा निर्माण हुने विद्यालय भवनको मंगलबार भारतीय राजदुतावासकी काउन्सिलर गीताञ्जली ब्रैडन र धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले संयुक्त रुपमा शिलन्यास गरे ।
भवन शिलन्यासपछि संक्षिप्त प्रतिक्रया दिँदै काउन्सिलर गीताञ्जली ब्रैडनले यो कामले दुई देशबिचको सम्बन्ध अझै बलियो र सुदृढ हुने बताइन् । उनले नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण बिद्युतीकरण लगायतको क्षेत्रमा भारतीय सरकारले काम गर्दै आएको बताइन् ।
ब्रैडनले समयमै निर्माणको काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरिन् । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले भारत सरकारको ९५ प्रतिशत लगानीमा विद्यालय भवन निर्माण गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले दुतावासले गाउँको दलित र जनजाती बस्तीमा विद्यालयको क्षेत्रमा गरेको योगदान प्रशंसायोग्य रहेको बताए । दुई तले आठकोठे भवनको कुल लागत तीन करोड आठ लाख रुपैँया रहेको छ ।
बिजी मुडली जेभी मार्फत २०८२ साउन ०४ गते सम्झौता भएको भवन निर्माण आगामी बर्षको असोज ७ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । २०१६ सालमा स्थापना भएको निन्युखर्क माध्यमिक विद्यालयमा अहिले एक सय ७५ छात्रा र एक सय ६५ छात्र गरी कुल ३४० विद्यार्थी अध्ययनरत भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र सुनारले बताए । कार्यक्रममा बोल्दै वडाध्यक्ष पदम विष्टले विद्यालयका लागि बस सेवा संचालन गर्न आग्रह गरे ।
पुरानो भवनको समस्या समाधान हुँदै गएकाले दुतावाससँगै बसको माग पनि गरिएको सुनारले बताए । हाडहाडेमा ४० जना बढि भूतपुर्व भारतीय सेना रहेका छन् । उनीहरुको योगदानलाई कदर गर्दै बिद्यालय भवन, खानेपानी, पुस्तकालय लगायतको क्षेत्रमा दुतावासबाट सहयोग हुँदै आएको भूतपुर्व भारतीय सुवेदार दिल बहादुर श्रीसले बताए । उनले निन्युखर्क मावि पनि भारतीय सेनाबाट अवकास प्राप्त व्यक्तिहरुबाट पढाउँदै अगाडी बढाइएको श्रीसले बताए ।






