काठमाडौं । नासा सेक्युरिटिज कम्पनी (ब्रोकर नम्बर ५८) का मुख्य प्रवर्धक तथा सागर डिस्टिलरीका मुख्य सञ्चालक सन्दीप जलान नक्कली सेयर कारोबारी भएको पुष्टि भएको छ । नक्कली सेयर कारोबार अभियोगमा जलानलाई सर्वोच्च अदालतले ५० हजार रुपैयाँ जरिमाना हुने फैसला गरेको छ ।
सर्वोच्च अदालतद्वारा ५० हजार जरिमाना
नेसनल हाइड्रोपावर कम्पनीको १५ हजार कित्ता सेयर नक्कली रूपमा कारोबार गरेको अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र कुमार चुँडालको संयुक्त इजलासले जलानलाई ५० हजार रुपैयाँ जरिमाना तिराउने फैसला गरेको हो । २६ असार २०८१ मा सर्वो च्च अदालतका न्यायाधीशद्वयले उच्च अदालतले नक्कली सेयर कारोबारी अभियोगबाट उन्मुक्ति दिने गरी गरेको फैसलालाई उल्टाउँदै नेपाल धितोपत्र बोर्डको निर्णय सदर गरिदिएको छ ।
श्रीहरि सेक्युरिटिज प्राइभेट लिमिटेडको कार्यकारी प्रमुखका हैसियतमा जलानले सेयरधनी नै नभएको व्यक्तिको सेयर खण्डीकरण तथा दस्तखत प्रमाणीकरण गरी १५ हजार कित्ता सेयरको नक्कली कारोबार गरेको अदालतको ठहर छ ।
‘नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रार ग्रोमोर मर्चेन्ट बैंकर लिमिटेडले मिति २०७१ भदौ १५ मा धितोपत्र दलाल श्रीहरि सेक्युरिटिज प्राइभेट लिमिटेडलाई पत्र लेखी रमेशसुन्दर मल्ल नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरधनी रहेको रेकर्डबाट नदेखिएको र सेयरधनी नै नभएको व्यक्तिको सेयर खण्डीकरण तथा दस्तखत प्रमाणीकरण हुन नसक्ने अवस्थामा यस कम्पनीबाट निजको नामको सेयर खण्डीकरण तथा निजको दस्तखत प्रमाणीकरण नगरिएको ब्यहोरा जानकारीमा आएकोले श्रीहरि सेक्युरिटिज प्राइभेट लिमिटेडलाई नक्कली सेयर कारोबार भएको मौकामा थाहा भएको देखिन्छ,’ अदालतको फैसलामा उल्लेख छ ।
नक्कली सेयर कारोबार गरेको उजुरी परेपछि नेपाल धितोपत्र बोर्डले पूर्वनायव महान्यायाधिवक्ता चेतनाथ घिमिरेको संयोजकत्वमा गठन गरेको व्यवसायी सन्दीप जलान नक्कली सेयर कारोबारी पुष्टि ल सर्वोच्च अदालतद्वारा ५० हजार जरिमाना छानबिन समितिले नक्कली सेयर कारोबार गरेको अभियोगमा जलानलाई ५० हजार रुपैयाँ र उनी कार्यकारी प्रमुख रहेको श्रीहरि सेक्युरिटजि प्रालिलाई १० लाख रुपैयाँ जरिमाना गर्न सिफारिस गरेको थियो ।
समितिको सो सिफारिसको आधारमा बोर्डले २१ पुस २०७४ मा श्रीहरी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ र कार्यकारी प्रमुख जलानलाई ५० हजार रुपैयाँका दरले जरिमाना तिराउने निर्णय गरेको थियो । ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम कसैले जानीजानी वा बदनियत साथ यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा विनियमबमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नु पर्ने हिसाब किताब, खाता विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेस गर्नुपर्ने समयमा पेस नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाई बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ भन्ने व्यवस्था रहेकोले श्रीहरि सेक्युरिटिजका पूर्वकार्यकारी प्रमुख सन्दीप जलानलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गर्ने,’ बोर्डको निर्णयमा उल्लेख छ ।
बोर्डको यो निर्णयविरुद्ध जलानले ३ फागुन २०७४ मा उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएकोमा उच्च अदालतका न्यायाधीश मेघनाथ भट्टराई र अग्निप्रसाद थपलियाको संयुक्त इजलासले २४ मंसिर २०७५ मा जलानलाई अभियोगबाट सफाइ दिएको थियो । उच्चको यो फैसलाविरुद्ध धितोपत्र बोर्डले ९ बैशाख २०७६ मा सर्वोच्च अदालतमा दोहो-याइ पाऊँ (पुनरावेदन) निवेदन दर्ता गरेको थियो । सो निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै २६ असार २०८१ मा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र डा. कुमार चुँडालको संयुक्त इजलासले जलानलाई ५० हजार रुपैयाँ जरिमाना गर्ने बोर्डको निर्णय सदर गर्दे उच्च अदालतको आदेश बदर गरिदिएको हो ।






