काठमाडौं । अमेरिकाले भेनेजुएलामा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको छ । २७ वर्षदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका यी दुई देशबीच अन्ततः युद्धको अवस्था मात्र आएन, अमेरिकाले अर्को देशका राष्ट्रपतिलाई नै पक्राउ गरेर आफ्नो कब्जामा लिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामा ठूलो स्तरको सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देशबाहिर लगिएको पुष्टि गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्र‘थ सोसलमा पोस्ट गर्दै अमेरिकी कानुन कार्यान्वयन निकायसँगको सहकार्यमा कारबाही सम्पन्न गरिएको बताएका छन् । ट्रम्पले पक्राउ गरी देशबाहिर लगिएको दाबी गरे पनि मादुरो र उनकी पत्नीलाई कहाँ राखिएको छ भनेर खुलाएका छैनन् ।
बीबीसीका अनुसार मदुरोको पक्राउ अमेरिकी सेनाको डेल्टा फोर्स–आतंकवादविरुद्धको शीर्ष इकाईले गरेको हो । अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले विदेशमन्त्री मार्को रुबियोसँगको कुराकानी उद्धृत गर्दै मादुरोलाई अमेरिकामा आपराधिक अभियोगमा मुद्दा चलाइने बताएका छन् । अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन् ।
‘निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकाविरुद्ध नार्को आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र खतरनाक उपकरण राख्ने षड्यन्त्र गरेको अभियोग छ । उनले चाँडै अमेरिकी भूमिमा, अमेरिकी अदालतमा, अमेरिकी न्यायको सामना गर्नेछन्,’ बोन्डीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेकी छन् । स्थानीय समयअनुसार करिब साढे २ बजेपछि भेनेजुएलाको राजधानी कराकासमा तीन ठूला विस्फोटका आवाज सुनिएको र सहरमाथि धुवाँको मुस्लो देखिएको बताइएको छ । राजधानीको केन्द्रमा रहेको ला कार्लोटा सैन्य हवाई मैदान र भेनेजुएलाको प्रमुख सैन्य अड्डा फुएर्ते तिउना लक्षित आक्रमण भएका छन् ।
मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यहरू पनि प्रभावित भएको भेनेजुएला सरकारले जनाएको छ । आसपासका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने सामाजिक सञ्जालमा विस्फोट र हेलिकोप्टर उडिरहेको भिडियोहरू देखिएका छन् । मानवीय क्षति’bout शनिबार रातिसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
उपराष्ट्रपतिले मागिन् जीवित प्रमाण
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको भन्दै जीवित भएको प्रमाण सार्वजनिक गर्न माग गरेकी छन् । रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले नागरिक क्षेत्रमा आक्रमण भएको दाबी गर्दै मृतक र घाइते’bout तथ्यांक संकलन भइरहेको बताएका छन् । उनले विदेशी सैनिकको उपस्थितिविरुद्ध प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।
तेल र खनिज कब्जाको नियत
भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रमण’ भनेको छ । विज्ञप्तिमा यसले अन्तर्राष्ट्रिय शान्ति र स्थिरतालाई खतरा पु¥याएको र भेनेजुएलाको तेल र खनिजजस्ता रणनीतिक स्रोत कब्जा गर्ने उद्देश्य रहेको आरोप लगाइएको छ ।
भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र उल्लंघन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पु¥याएकोे आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको निन्दा गरेको छ । आधिकारिक विज्ञप्तिमा अमेरिकाले काराकास र मिरान्डा, अरागुआ र ला गुएराका नागरिक र सैन्य स्थानहरूमा आक्रमण गरी संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको उल्लेख छ ।
भेनेजुएला सरकारले आक्रमणको उद्देश्य देशको रणनीतिक स्रोतहरू, विशेष गरी तेल र खनिजहरू कब्जा गर्नु र भेनेजुएलाको राजनीतिक स्वतन्त्रतालाई कमजोर पार्नु रहेको बताएको छ । विज्ञप्तिमा भेनेजुएलाका जनताले साइमन बोलिभर र अन्य राष्ट्रिय नेताहरूको विरासतलाई आह्वान गर्दै एक पटक फेरि आफ्नो स्वतन्त्रताको रक्षा गर्ने सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई साम्राज्यवादी आक्रमणको अस्वीकार गर्न आग्रह गरेको छ ।
बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू सार्वभौमिकता र शान्तिको ग्यारेन्टी गर्न राष्ट्रव्यापी रूपमा तैनाथ गरिएको छ भने कूटनीतिक च्यानलहरू संयुक्त राष्ट्र सुरक्षा परिषद, संयुक्त राष्ट्र महासचिव, समक्ष उजुरी गर्ने जनाइएको छ ।
ट्रम्प भन्छन् : ब्रिलियन्ट अपरेसन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क टाइम्ससँग भेजेजुएलामाथिको आक्रमणलाई ‘ब्रिलियन्ट अपरेशन’ भनेका छन् । मादुरो सन् २०१३ देखि सत्तामा छन् । सन् २०२४ को निर्वाचनमा उनी विजयी घोषित भए पनि विपक्षीले नतिजा अस्वीकार गरेको थियो । ट्रम्प प्रशासनले भेनेजुएलाबाट हुने लागूऔषध तस्करी र आप्रवासनलाई कारण देखाउँदै दुई आपराधिक समूहलाई विदेशी आतंकवादी संगठन सूचीमा राखेको थियो । मादुरोको पक्राउका लागि अमेरिकाले ५० मिलियन डलर पुरस्कार घोषणा गरेको थियो ।
अन्तर्राष्ट्रिय विरोध
भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपतिलाई गरिएको पक्राउप्रति रुस र इरानसहितका अन्तर्राष्ट्रिय जगतले कडा शव्दमा निन्दा गरेका छन् । रुसले यसलाई ‘सशस्त्र आक्रामण’ भन्दै निन्दा गरेको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले प्रतिरोधको आह्वान गरेका छन् । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले यसलाई ल्याटिन अमेरिकाको सार्वभौमिकतामाथिको आक्रमण भनेका छन् । क्युबाले आपराधिक हमलाको संज्ञा दिएको छ । स्पेनले तनाव कम गर्न आग्रह गरेको छ भने जर्मनी र इटालीले अवस्था नजिकबाट नियालिरहेको बताएका छन् ।
२७ वर्षदेखिको ‘तीतो सम्बन्ध’
अमेरिकाले यसअघि भेनेजुएलामाथि प्रत्यक्ष सैन्य आक्रमण नगरे पनि राजनीतिक हस्तक्षेप, आर्थिक नाकाबन्दी र सरकार परिवर्तनका प्रयासमार्फत दशकौंदेखि दबाब सिर्जना गर्दै आएको छ । भेनेजुएलाले यसलाई ‘आर्थिक तथा राजनीतिक आक्रमण’ भन्ने गरेको छ । सन् १९९८ मा ह्युगो चाभेज राष्ट्रपति निर्वाचित भएपछि अमेरिका–भेनेजुएला सम्बन्ध बिग्रँदै आक्रमणसम्ममा आइपुगेको हो ।
भेनेजुएलाको समाजवादी नीति, तेल उद्योगको राष्ट्रियकरण र अमेरिका विरोधी धार बलियो बन्दै गएपछि अमेरिका चिढिएको हो । सन् २००२ मा चाभेजविरुद्ध भएको असफल सैनिक कूमा पनि अमेरिकाको अप्रत्यक्ष समर्थन रहेको भेनेजुएलाले लगाउँदै आएको छ । तर अमेरिकाले यसको अस्वीकार गर्दै आएको छ । चाभेजको मृत्युपछि सन् २०१३ मा निकोलस मदुरो सत्तामा आएपछि यी दुइदेशबीचको सम्बन्ध थप चिसिँदै गएको छ ।
सन् २०१५ देखि त अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध नै लगायो । सन् २०१७ मा नाकाबन्दी कडा बनाएपछि भेनेजुएलामा खाद्यान्न र औषधिको अभाव मात्र भएन, मुद्रास्फीति ऐतिहासिक स्तरमा पुग्यो । सन् २०१९ मा अमेरिकाले विपक्षी नेता जुआन ग्वाइदोलाई ‘अस्थायी राष्ट्रपति’को मान्यता दिँदै मदुरो सरकार हटाउने असफल प्रयास गरेको अभियोग भेनेजुएलाले लगाउँदै आएको छ ।
सन् २०२० मा ‘अपरेशन गिडियन’ नामक सशस्त्र घुसपैठ गरेको अभियोगमा भेनेजुएलाले अमेरिकी पूर्वसैनिकहरू पक्राउ गरेपछि सम्बन्ध सुमधुर हुन सकेन । अमेरिकारले भेनेजुएलामाथि लगाउँदै आएको प्रतिबन्ध र राजनीतिक दबाबका कारण लाखौँ नागरिक देश छोड्न बाध्य भएका छन् भने स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षामा गम्भीर संकट उत्पन्न भएको छ ।






