व्यवसायीको समस्या समाधान गर्ने बागमती प्रदेशका पर्यटनमन्त्रीको आश्वासन

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटन व्यवसायीले उठाउँदै आएका विविध समस्या समाधान गर्ने आश्वासन दिएका छन् । आइतबार राजधानीमा सम्पन्न नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५८ औं वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले यस्तो आश्वासन दिएका हुन् ।

देशको आर्थिक समृद्विको मुख्य आधार पर्यटन क्षेत्र भएकाले पर्यटन व्यवसाय नफस्टाएसम्म आयआर्जन सम्भव नभएको धारणा राख्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेकाले पर्यटन व्यवसायीका समस्या समाधान गर्न बागमती प्रदेश सरकार तयार रहेको बताए ।

देशको पर्यटन विकासका काम गर्ने वातावरण बनाउन प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पार्दै उनले पर्यटन क्षेत्र ऐन–कानुन र राजनीतिक गतिविधिका कारण संवेदनशील बनेकाले अब व्यवसायीलाई परेका अप्ठ्यारामा सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरे ।

निजी क्षेत्रको संघिय प्रतिनीधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले पनि पर्यटकीय पूर्वाधार विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि अहिलेसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा मुलुकको पर्यटन क्षेत्रमा ठूलो नोक्सानी भइरहेको गुनासो गरे ।

यि दुइवटा विमानस्थल निर्माणकार्य सम्पन्न भएको लामो समय बितिसक्दा पनि अझै विमानस्थलबाट हवाई उडान नभएका कारण निजी क्षेत्रले होटल र पूर्वाधारमा गरेको ठूलो लगानी समेत जोखिममा परेको उनको भनाई थियो ।

अहिलेसम्म पर्यटन क्षेत्रमा धेरै समस्या रहेको दावी गर्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पर्यटनलाई पनि अन्य उद्योग सरहको कानुनी मान्यता दिन र निजी क्षेत्रको लगानी सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे । दिगो र गुणस्तरीय पर्यटन विकासका लागि गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिनुपर्नेमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले अहिलेसम्म संसारकै सबैभन्दा महंगो हवाई टिकटमा लगाइएको मूल्यअभिबृद्धिकर (भ्याट) का कारण नेपालको पर्यटन प्रतिस्पर्धामा कमजोर बनेको टिप्पणी गरे ।

नेपालमा हवाई टिकट महंगो हुँदा पर्यटकले भारतबाट टिकट काट्ने गरेको र यसले स्वदेशी राजस्व बाहिरिएको भन्दै उनले हवाई टिकटमा लगाईएको भ्याट हटाएर ३ देखि ५ प्रतिशत पर्यटन कर लगाउन माग गरे । यसैगरी, सापकोटाले अहिलेको अवस्थामा लक्जरीभन्दा मध्यमस्तरको पर्यटक भित्राउने लक्ष्यमा ध्यान दिनु आवश्यक रहेको औंल्याए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले निजी क्षेत्रसँगको सहकार्यमा बोर्डले हालसम्म गर्दै आएका विविध गतिविधीहरू’bout जानकारी गराएका थिए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले देशको पर्यटन प्रवर्र्धनमा अझै धेरै कमजोरी रहेको धारणा राख्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्धनकालागि विदेशस्थित नेपाली राजदूतलाई थप सक्रिय र जिम्मेवार बनाउन सुझाव दिए । उनले पर्यटन विकासका लागि नयाँ क्षेत्रको पहिचान गर्नुपर्ने र पर्वतारोहण संघले माउन्टेन एड्भेन्चर टुरिजम सम्बन्धी विश्वविद्यालय स्थापनाको तयारी गरिरहेको जानकारी गराए । उनले अब छिटै माउन्टेन एड्भेन्चर टुरिजम सम्बन्धी विश्वविद्यालय स्थापना गरि संसारभरका नागरिकलाई नेपालको पर्यटन शिक्षा दिने लक्ष्य लिएको बताए ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले पर्यटन व्यवसायीहरूले भोगिरहेका विविध समस्या’bout सरकारको ध्यानाकर्षण गराउँदै समाधानका तीन मुख्य प्रस्ताव प्रस्तुत गरे । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य समेत रहेका अध्यक्ष थपलियाले भने, ‘नेपाललाई केवल ‘बेटर डेस्टिनेसन’ होइन, ‘इजी डेस्टिनेसन’ पनि बनाउनुपर्छ ।’

जसका लागि भिसा प्रक्रिया सरल बनाउन, व्यवसाय सञ्चालन सहज बनाई प्रशासनिक र कर प्रणाली सुधार गर्न एवं अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन गन्तव्यहरूको प्रचार विस्तार गर्नु आवश्यक रहेको उनको भनाई थियो । उनले हाल पर्यटन क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारबीच आपसी सहकार्य अनिवार्य रहेको धारणा राखे ।

सो कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा.अच्युत वाग्लेले नाट्टाको पहलले नेपालको पर्यटन उद्योगलाई दीगो, पहुँचयोग्य र प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए । देशभरका पर्यटन व्यवसायी सहभागी सोही कार्यक्रममा नाट्टाले अवार्ड समेत वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

मधेसी आयोगसहित अन्य आयोगसँग गृहमन्त्रीको छलफल