नुवाकोट । विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गरिने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि तथा सरोकारावालाको अनुगमनपश्चात् बाल सुधार केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको हो । यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।
जिल्ला कारागारको खाली रहेको भवनमा केन्द्र स्थापना गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी थिइन् । केन्द्रीय कारागारमा ब्लक प्रवेशको एकमात्र द्वार भएको, कैदीबन्दीका लागि खटिएका सुरक्षाकर्मीको घेराभित्र नै उक्त ब्लक कायम रहेको तथा ब्लक भित्रको संरचना कैदीबन्दी प्रयोजनका लागि निर्माण गरिएको हुदाँ बाल बिज्याइँकर्ता राख्न उक्त स्थान उपयुक्त नभएको मन्त्री श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार भक्तपुरलगायत जिल्लाका बाल बिज्याइँकर्ता राख्न स्थान अभाव भएकाले तत्कालै विदुर–१ स्थित नुवाकोट जिल्ला कारागारको खाली भएको भवनलाई स्तरोन्नति गरेर केन्द्र सञ्चालन गर्न लागिएको हो । त्यसका लागि आवश्यक संरचना निर्माण कार्य एक महिनाभित्र पूरा गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठले निर्देशन दिए ।
“बाल सुधार केन्द्रको सुरक्षामा हातहतियार बिनाका सादा पोसाकका सुरक्षाकर्मी खटिनुपर्ने हुन्छ, केन्द्रीय कारागारमा त्यो कार्यान्वयन गर्न सम्भव हुने देखिएन,” मन्त्री श्रेष्ठले भनिन्, “बालबालिकाको मानवअधिकार अन्तर्गतका शिक्षा, स्वास्थ्य उपचार लगायतका मापदण्ड पूरा गर्न केन्द्रीय कारागारमा तत्कालै उपलब्ध गराउन सक्ने अवस्था नभएकाले स्थानान्तरण आवश्यक भएको हो ।”
जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई २०८१ भदौ १५ गते केन्द्रीय कारागार सञ्चालनमा आएसँगै स्थान्तरण गरिएकाले उक्त स्थानमा खाली भएका ब्लकलाई बाल बिज्याइँकर्ता राख्न बालसुधार केन्द्रका रुपमा सञ्चालन गरिने भएको छ । यससम्बन्धी आवश्यक निर्णय सम्बन्धित निकायबाट गराउने मन्त्री श्रेष्ठबाट प्रतिबद्धता आएसँगै कार्य प्रारम्भ गर्न थालिएको छ । आवश्यक संरचना अबको एक महिनाभित्र निर्माण गरी १६० बाल बिज्याइँकर्ता नुवाकोट ल्याउने योजना छ ।
हाल देशका विभिन्न नौ स्थानमा बालसुधार केन्द्र सञ्चालनमा रहेकाले त्यसमध्ये बाल बिज्याइँकर्ता ठहरिएर १८ वर्ष उमेर पूरा भएका पुरुषलाई नुवाकोटस्थित बाल सुधार केन्द्रमा ल्याउन लागिएको हो ।
सम्बन्धित समाचार
महाधिवेशन समीक्षा भेलालाई गलतरुपले नबुझ्न ईश्वर पोखरेलको आग्रह
‘केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन’
प्रचण्ड महोत्तरी क्षेत्र नं ४ बाट उम्मेदवार सिफारिस
रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार मन्त्रालय
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
ओलीको स्थानहद फुकुवा






