विपन्न नागरिकको उपचार कोष स्थापनार्थ सिन्धुली महोत्सव हुने

सिन्धुली । सिन्धुली अस्पतालमा उपचारका लागि आउने विपन्न नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले विपन्न नागरिक उपचार कोष स्थापना गर्न सिन्धुली महोत्सव २०८२ आयोजना गरिने भएको छ। महोत्सव आगामी माघ ९ गतेदेखि १९ गतेसम्म सिन्धुलीमाढीस्थित खुल्लामञ्चमा सञ्चालन हुनेछ ।

महोत्सवबाट संकलित टिकट बिक्री तथा विभिन्न सहयोगदाताबाट प्राप्त रकमबाट उद्योग वाणिज्य संघ सिन्धुलीको मातहतमा कोष स्थापना गरिने जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो । कोष सञ्चालनका लागि आवश्यक कार्यविधि समेत निर्माण भइसकेको उद्योग वाणिज्य संघले जनाएको छ ।

संघले प्रारम्भिक चरणमा ५० लाख रुपैयाँसम्मको कोष स्थापना गर्ने लक्ष्य लिएको छ । वडाबाट सिफारिस भई सिन्धुली अस्पतालमा उपचारका लागि आएका विपन्न नागरिकलाई अस्पतालको सिफारिसका आधारमा प्रति बिरामी अधिकतम ५ हजार रुपैयाँसम्म सहयोग प्रदान गर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

‘पहिचान, समुन्नत र समृद्ध सिन्धुली हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । सिन्धुली उद्योग वाणिज्य संघ, कमलामाई नगरपालिका र सिन्धुली नगरपालिका कार्यालयको संयुक्त आयोजनामा हुने महोत्सवबाट करिब २७ लाख रुपैयाँ नाफा हुने अनुमान आयोजकको छ।

संघका अनुसार महोत्सवबाट १ करोड १९ लाख ४५ हजार रुपैयाँ आम्दानी हुने र ९१ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवमा स्थानीय कला, संस्कृति र उत्पादनलाई विशेष प्राथमिकतामा राखिने अध्यक्ष श्रेष्ठले बताए । लगानीमैत्री वातावरण सिर्जना गर्न, औद्योगिक क्षेत्रको पहिचान गराउन, कृषि व्यवसायमा आधुनिक प्रविधि भित्र्याउन तथा पर्यटकीय र धार्मिक स्थलको प्रचारप्रसार गर्न महोत्सव महत्वपूर्ण हुने उनले उल्लेख गरे।

महोत्सवमा ३०० भन्दा बढी स्टलहरू रहनेछन् । बाल उद्यान, व्यापारिक प्रदर्शनी, जातीय विविधता झल्किने झाँकी, सांस्कृतिक कार्यक्रम, ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति, विभिन्न सांस्कृतिक प्रतियोगिता, सर्कस, लोपोन्मुख खैजडी भजन तथा रत्यौली प्रतियोगितालाई महोत्सवका प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिनेछ ।

सुरक्षाका दृष्टिले महोत्सव स्थलमा कडा सुरक्षा व्यवस्था, विद्युत् तथा शौचालयको पर्याप्त प्रबन्ध, एम्बुलेन्स र प्राथमिक स्वास्थ्य केन्द्र, सिसिटिभी क्यामेरा तथा निःशुल्क वाइफाइ सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।

महोत्सवको प्रवेश टिकट दर प्रतिव्यक्ति ६० रुपैयाँ निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिले परिचयपत्रको आधारमा निःशुल्क प्रवेश पाउनेछन् । उद्योग वाणिज्य संघका सदस्यहरूका लागि प्रवेश निःशुल्क हुनेछ। विद्यार्थी तथा एकल महिलाले परिचयपत्र देखाएमा ४० रुपैयाँमा टिकट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो