काठमाडौं । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ मा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले आफ्नो सेवालाई स्तरोन्नति गर्दै लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पाको ब्रान्डमा सञ्चालन गर्ने भएको छ । यो म्यारियट इन्टरनेशनलको काठमाडौं उपत्यकाबाहिरको पहिलो उपस्थिति हुनेछ ।
रिसोर्टले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै म्यारियट इन्टरनेशनलसँग होटल म्यानेजमेन्ट एग्रीमेन्ट (एचएमए) सम्पन्न गरेको जनाएको छ । सम्झौतामा रिसोर्टका तर्फबाट अध्यक्ष दीपक पाण्डे, प्रबन्ध सञ्चालक रोशनकुमार न्यौपानेलगायतका सञ्चालकहरू तथा म्यारियटका तर्फबाट एशिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत नीरज गोविल, सिनियर भाइस प्रेसिडेन्ट (डेभलपमेन्ट साउथ एसिया) किरण एन्डिकोट, भाइस प्रेसिडेन्ट (डेभलपमेन्ट साउथ एसिया) जुही रोयलगायतका उच्च पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।

२०७५ सालदेखि सञ्चालनमा रहेको यो रिसोर्ट विगत तीन वर्षदेखि निरन्तर मुनाफामा छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा पाँचतारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य राखिएको छ । नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने गरी यो रिसोर्टलाई नेपालको पहिलो वाटर रिसोर्टको रूपमा विकास गरिने भएको छ । यसमा अत्याधुनिक वाटर फाउन्टेन, वाटर शो, म्युजिकल फाउन्टेन, थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुराँ, वाटर स्पालगायत दर्जनौं वाटर एक्टिभिटीज उपलब्ध हुनेछन् ।
विज्ञप्तिमा भनिएको छ, “जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पर्यावरणीय असन्तुलनजस्ता चुनौतीलाई ध्यानमा राख्दै यो रिसोर्टलाई नेपालको पहिलो ग्रीन सर्टिफिकेसन (गोल्ड) सहितको वेलनेस रिट्रिट एन्ड इको रिसोर्टको रूपमा विकास गरिनेछ ।” यसका लागि वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास र न्यून प्रदूषणजस्ता मापदण्डहरूको पूर्ण पालना गरिने छ । साथै, प्राकृतिक स्वास्थ्य र न्याचुरोथेरापीलाई प्रवर्द्धन गर्दै अर्गानिक सर्टिफिकेसनसहितको नेपालको पहिलो अर्गानिक फाइभ स्टार वेलनेस लग्जरी रिसोर्ट बनाउने लक्ष्य छ ।

स्पोर्ट्स टुरिजमलाई पनि जोड दिँदै यो रिसोर्टलाई नेपालको पहिलो मल्टी स्पेसियालिटी रिसोर्टको रूपमा स्थापित गरिने छ । यसमा नेपालमा खेलिने प्रमुख खेलहरूका लागि अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारहरू एकै ठाउँमा उपलब्ध हुनेछन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवर्द्धनका लागि बुद्ध थिम पार्क, मिनी स्तूपा, मिनी बुद्ध म्युजियम, मेडिटेसन जोन, कल्चरल सेन्टरलगायतका सुविधा पनि थपिने छन् ।
पूर्ण सञ्चालनपछि यो रिसोर्ट वाटर, इको, वेलनेस, स्पोर्ट्स, कल्चरल पर्यटन तथा अन्तर्राष्ट्रिय सम्मेलन र व्यक्तिगत कार्यक्रमहरूका लागि नेपालको उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यसका लागि होटल व्यवस्थापनमा २७ वर्षभन्दा बढी अनुभव भएका विजयानन्दरन शान्मुगमलाई भाइस प्रेसिडेन्ट (अपरेशन्स एन्ड एसेट्स डेभलपमेन्ट) को रूपमा नियुक्त गरिसकिएको छ । साथै, अन्तर्राष्ट्रिय विज्ञहरूलाई म्यानेजमेन्ट/एसेट्स डेभलपमेन्ट कन्सल्टेन्टको रूपमा पनि नियुक्त गरिएको छ ।
रिसोर्टले स्थानीय रोजगारी, उत्पादन र पर्यटन प्रवर्द्धनमार्फत देशको अर्थतन्त्रमा योगदान दिने योजना बनाएको छ । यसका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी पनि अघि बढाइएको छ ।
यो सम्झौताले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ ।







