सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन मतदातासंग आग्रह गरेका छन् ।
एमाले केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थितिमा दुई दलका प्रदेशस्तरका नेताहरुको बैठकले माघ ११ गते वीरेन्द्रनगरमा हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउने प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुलाई आग्रह गर्ने निर्णय गरेको हो ।
साथै बैठकले आफ्ना सबै मतदातालाई मतदानका दिन समयमै उपस्थित हुन अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा एमालेका तर्फबाट प्रदेश अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा तथा काँग्रेसको तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।
कर्णाली प्रदेशमा अन्य कलष्टरबाट कांग्रेसका ललितजंग शाही र महिला कलष्टरबाट एमालेका मिनासिं रखालको उम्मेदवारी छ । शाही कांग्रेस पार्टी प्रदेश सभापति हुन् भने रखाल एमालेको केन्द्रीय सदस्य र पूर्व प्रदेश सांसद हुन् । त्यस्तै बुधबार नेपाली कम्युनिष्ट पार्टीले पनि उम्मेदवारी दिएको छ । सो पार्टीबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतारा शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाता रहने व्यवस्था छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ । कर्णालीमा १९८ मतदाता रहेकामा कुल ५ हजार १२२ मतभार रहेको छ ।






