काठमाडौं । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पदभार ग्रहण गरेसँगै मन्त्रालयअन्तर्गतका विभिन्न महत्वपूर्ण निर्णयहरू सदर गरेका छन् ।
मन्त्री चौलागाईंले कर्णाली राजमार्गलाई सडक सुरक्षाको सुदृढीकरण तथा स्तरोन्नतिको दृष्टिले आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैंक (एडीबी) समक्ष अनुरोध गर्ने निर्णय गरेका छन्। यसले कर्णाली क्षेत्रको सडक पहुँच र यातायात सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।
त्यसैगरी, जुम्ला र कालिकोट जिल्लाको सिमानामा पर्ने नाग्मस्थित हिमा नदीमा पक्की पुल निर्माण सम्पन्न भइसकेको सन्दर्भमा सो स्थानमा रहेको बेलिब्रिजलाई जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–५ स्थित तिला नदीमा स्थानान्तरण गर्ने निर्णय गरिएको छ। उक्त बेलिब्रिज तातोपानी गाउँपालिका–४ हाँकुसँग जोड्ने गरी स्थानान्तरण गरिने मन्त्रालयले जनाएको छ। यसबाट स्थानीय नागरिकको आवतजावत थप सहज हुने विश्वास लिइएको छ।
यसैबीच, निर्माण व्यवसायी नियमावली, २०५६ को अनुसूची–१३ मा व्यवस्था गरिएको ‘घ’ वर्गका निर्माण व्यवसायीको योग्यता सम्बन्धी मापदण्ड परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ। मन्त्रालयका सहसचिव शुसिलबाबु ढकालको संयोजकत्वमा गठित उक्त समितिले आवश्यक अध्ययन गरी सुझाव पेस गर्नेछ।
मन्त्री चौलागाईंले पदभार ग्रहणसँगै गरेका यी निर्णयहरू भौतिक पूर्वाधार विकास, सडक सुरक्षा र निर्माण क्षेत्रको व्यवस्थापन सुधारतर्फ केन्द्रित रहेको मन्त्रालयले जनाएको छ ।









