काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा जारी विशेष महाधिवेशनलाई पार्टी फुटाउने प्रयासको संज्ञा दिएका छन् । आइतबार बिहान आफ्नो निवासमा भेट्न आएका संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरूसँग कुरा गर्दै देउवाले भने, ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म पूर्ण रूपमा विश्वस्त छु ।’
देउवाले यो विशेष महाधिवेशन वैधानिक नभएको जिकिर गर्दै यसको बन्दसत्रबाट आउने कुनै पनि निर्णयका आधारमा आफूले आवश्यक कदम चाल्ने बताए । उनले भने, ‘विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यसैअनुसार हामी अघि बढ्छौं ।’भेटमा सहभागी संस्थापन पक्षका केही नेताहरूले पनि देउवालाई साथ दिँदै विशेष महाधिवेशनलाई अवैधानिक ठहर गरेका थिए ।
विशेष महाधिवेशनमा सभापति देउवा जाने चर्चा भ्रामक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा जारी ‘विशेष महाधिवेशन’को बन्दसत्रमा सहभागी हुने भनी सामाजिक सञ्जालमा फैलाइएको चर्चाको उनको सचिवालयले औपचारिक खण्डन गरेको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार एक प्रेस नोट जारी गर्दै उक्त कार्यक्रममा सभापति सहभागी हुने कुनै पनि कार्यतालिका नरहेको स्पष्ट पारेका हुन् ।
केही व्यक्तिहरूले राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरेको सचिवालयको ठहर छ । ‘केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज भृकुटीमण्डप जानुहुने भनी गलत सूचना सम्प्रेषण गरेकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ स्वकीय सचिव देउवाद्वारा जारी स्पष्टीकरणमा भनिएको छ, ‘उक्त कार्यक्रममा सभापतिज्यू जाने कुनै पनि कार्यक्रम नरहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।’






