धनगढीमा पर्यटन बोर्डको कार्यालय स्थापना हुने

धनगढी । कैलालीको धनगढीमा पर्यटन बोर्डको कार्यालय स्थापना हुनेभएको छ । सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवद्र्धनलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित नेपाल पर्यटन बोर्डको प्रदेश कार्यालय धनगढीमा स्थापना हुने भएको हो ।

पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि धनगढी नगर विकास समिति र नेपाल पर्यटन बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्दै पर्यटन व्यवसायको विस्तार र प्रवद्र्धन गर्ने लक्ष्यअनुसार बोर्डले सुदूरपश्चिम प्रदेशमा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बोर्डको आर्थिक वर्ष २०८२-८३ को बजेट विनियोजनअनुसार धनगढीमा प्रदेश कार्यालय सञ्चालन गर्ने तयारी अघि बढाइएको जनाइएको छ । समझदारीअनुसार धनगढी नगर विकास समितिले कार्यालय सञ्चालनका लागि कम्तीमा तीन कोठा र शौचालयसहितको भवन उपलब्ध गराउनेछ । साथै, भवनमा विद्युत्, खानेपानी तथा ढल व्यवस्थाको उपयुक्त सुविधा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।

नेपाल पर्यटन बोर्डले भने कार्यालय सञ्चालनका लागि आवश्यक सरसफाइ, सौन्दर्यीकरण, फर्निचर तथा अन्य कार्यालय सामग्रीको व्यवस्थापन गर्नेछ । साथै, भवनको मर्मतसम्भार, विद्युत्, खानेपानी, टेलिफोन र इन्टरनेट शुल्क व्यहोर्ने तथा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने दायित्व पनि बोर्डकै रहनेछ ।

समझदारीपत्रको अवधि हस्ताक्षर मितिदेखि पाँच वर्षको रहनेछ भने आपसी सहमतिमा अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ । कुनै कारणवश कार्यालय स्थानान्तरण गर्नुपरेमा वा भवन खाली गराउनुपर्ने अवस्थामा कम्तीमा एक महिनाअघि लिखित सूचना दिनुपर्ने प्रावधानसमेत राखिएको छ । समझदारीपत्रमा उल्लेखित विषयमा संशोधन वा थप स्पष्टता आवश्यक परेमा दुवै पक्षको सहमतिमा गर्न सकिने जनाइएको छ ।

समझदारीपत्रमा धनगढी नगर विकास समितिका अध्यक्ष गोपाल हमाल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले हस्ताक्षर गरेका हुन् । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन, प्रचारप्रसार तथा व्यवस्थापनमा यो कदम महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु