काठमाडौं । आठौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट भुजेल चलचित्रकर्मी संघमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार अबेर रात सम्पन्न अधिवेशनबाट अमृत सिंह भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
१३ सदस्यीय नयाँ कार्यसमितिमा सह अध्यक्षहरूमा राम बहादुर भुजेल, पवन भुजेल र पदम बहादुर भुजेल, महासचिव बिपना भुजेल चयन भएका छन् । यस्तै सचिवहरूमा नेत्र बहादुर भुजेल, पर्शुराम भुजेल र विमला भुजेल, कोषाध्यक्ष किरण भुजेल र सह–कोषाध्यक्ष भावना भुजेल चयन भएका छन् । संघको कार्यसमिति सदस्यहरू भने मिलन भुजेल, रेसम भुजेल, बिरबल भुजेल निर्वाचित भएका छन् ।
अध्यक्षको कार्यभार जिम्मा लिँदै अमृत सिंह भुजेलले भुजेल समुदायका चलचित्रकर्मीहरूको पहिचान, हकहित र सशक्तीकरणका लागि संघले निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै अधिवेशनको उद्घाटन समारोहमा भुजेल सेवा समिति अध्यक्ष खेमराज भुजेलले आफ्नो फरक संस्कृति र भाषा भएको भुजेल समुदायको संस्कृतिलाई चलचित्रकर्मीहरूले चलचित्र मार्फत प्रवर्धन गर्नु पर्ने सुझाव दिए । प्रदेश सभा सदस्य सुष्पा भुजेलले संघमार्फत भुजेल चलचित्र निर्माणमा सहयोगको लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने भनाई सो कार्यक्रममा राखिन् ।






