काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा चुनावी पराजय र जेनजी आन्दोलनमा भएका घटनाको समीक्षा गर्दै नेतृत्व फेरबदलको बहस चर्किएको छ । गत २३ र २४ भदौको जेनजी आन्दोलनको नैतिक जिम्मेवारी लिनुपर्ने आवाज उठिरहेको बेलामा वलपूर्वक भिन्न आवाज दबाएर चुनावमा जाँदा पराजय व्यहोर्नुपरेको भन्दै पार्टीभित्र गम्भिर समीक्षा गरी नेतृत्व फेर्न विशेष महाधिवेसन गर्ने तयारीमा नेताहरु लागेका छन् ।
पार्टी केन्द्रीय कमिटी विघटन गरेर विशेष वा राष्ट्रिय महाधिवेशन गर्दै नेतृत्व फेर्नुपर्ने तयारीमा पार्टीको बुद्धिजीवी, युवा–विद्यार्थी नेताहरु लागेका हुन् । गत प्रतिनिधिसभामा दोश्रो ठूलो दल रहेको एमालेले २१ फागुनको निर्वाचनबाट प्रत्यक्षमा ९ र समानुपातिक तर्फ १६ गरी २५ सिट मात्रै ल्याएको छ ।
निर्वाचनमा एमालेले २५ सिटमात्रै ल्याउनु इतिहासकै सबैभन्दा कमजोर नतिजा भएको निष्कर्ष नेताहरुको छ । ओलीको शैलीकै कारण उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा एमालेका उम्मेदवारको जमानत जफत भएको दाबी पनि विशेष महाधिवेशनका लागि प्रतिनिधिको हस्ताक्षर संकलन गर्न तयार पारिएको मस्यौदामा उल्लेख छ ।
नेतृत्वले स्वस्फुर्त पराजयको जिम्मेवारी सहित नेतृत्व नछोडे विशेष महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बिषय छलफल हुन थालेको छ । पार्टीको बुद्धिजीवी, युवा, विद्यार्थी नेताहरुले दबाब स्वरुप हस्ताक्षर संकलन गर्ने चेतावनी सहित अगाडी बढेपछि पार्टी नेतृत्वले छलफल थालेको छ ।
गत ३ पुसमा ११औँ महाधिवेशनबाट भारी महतसहित अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित ओलीको तीन महिनामै एमालेभित्र विकल्प खोज्न थालिएको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको र त्यसले प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई ठुलो धक्का पुर्याएको ठहरसहित संस्थापन पक्षकै नेता पनि ओलीको विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
एमाले कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादलले ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व फेर्ने अभियानमा लागेका नेताहरुसंग मंगलबार छलफल गरेका छन् । एमालेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई कार्यवाहक अध्यक्ष बादलले छलफल गर्दै पार्टीलाई संकट परेको बेलामा यस्तो नगर्न सुझाव दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि जेनजी आन्दोलनको ’boutमा गठन भएको आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पार्टी अध्यक्ष सहितका नेतालाई पक्राउ गरेका छन् । पार्टी अध्यक्ष थुनामा रहेका बेलामा नेतृत्व फेर्ने ’boutमा बहस गर्नु पार्टी हितविपरित भएको भन्दै कार्यबाहक अध्यक्ष थापाले अहिले पार्टीलाई बलियो बनाउने अभियानमा लाग्नुपर्ने छलफलको क्रममा बताएको स्रोतले जनाएको छ ।
नेपाल बौद्धिक परिषदका अध्यक्ष गजेन्द्र थपलिया, अनेरास्ववियुका उपमहासचिव कमल जोशी लगायतका नेताहरुसंग कार्यबाहक अध्यक्ष बादलले छलफल गरेका छन् ।
केही दिनअघि जनसंगठनका अध्यक्षहरू डाकिएको बैठकमा थपलियाले महासचिव शंकर पोखरेल र मोर्चा प्रमुख भानुभक्त ढकालकै अगाडि ओलीले राजीनामा दिएर पार्टीलाई तलैसम्म पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए । पार्टीलाई पुनस्र्थापित गर्न नैतिकताका आधारमा मूल नेतृत्वले राजीनामा दिएर नयाँ नेतृत्वसहित नयाँ शिराबाट अघि बढ्ने या मूल नेतृत्वले राजीनामा नदिए बहुमत पदाधिकारीले दबाब सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।
विशेष महाधिवेशनका लागि प्रतिनिधिको हस्ताक्षर संकलनका लागि बनाइएको मस्यौदामा निर्वाचन पराजयलाई मुख्य कारण देखाइएको छ । ‘संसदीय राजनीतिमा ०४८ देखि ०८२ सम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम प्रत्यक्ष १६५ सिटमा नौ सिट (५.४५ प्रतिशत) र समानुपातिकमा १३.४३ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताले अविश्वास गरेको अवस्था हो,’ निवेदनमा भनिएको छ, ‘राजधानी रहेको काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा नेकपा एमालेको उम्मेदवारको जमानत जफत हुनुले गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ ।’
एमाले स्रोतका अनुसार ओलीलाई नेतृत्वबाट हटाउदै पार्टीलाई पुनर्गठन गर्ने अभियानमा लागेका नेताहरुलाई पूर्वराष्ट्रपती एवं एमाले नेतृ विद्यादेवी भण्डारी, नेताहरु ईश्वर पोखरे, विष्णु पौडेल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरुको समेत समर्थन रहेको छ ।
बुद्धिजीवी, युवा, बिद्यार्थी नेताहरुको यो अभियानले पार्टीलाई पुनर्गठन गर्दै बलियो बनाउने बुझाई नेताहरुको रहेको छ । तर ओली निकटका नेताहरुले यो अभियानलाई बीचमै तुहाउन खोजेको भए पनि अभियानलाई जसरी पनि अगाडी बढाउने बताइन्छ ।






