‘एक्लो–१’ बाट प्रदीप खड्कालाई ठुलो झट्का

काठमाडौं । अभिनेता प्रदीप खड्कालाई यति बेला व्यावसायिक झट्का लागेको छ । गत साता रिलिज भएको उनको नयाँ चलचित्र ‘एक्लो–१’ पनि बक्स अफिसमा सफल हुन सकेन ।

उनले अभिनय गरेको अघिल्लो चलचित्र ‘एक्टर–वान टेक’ व्यावसायिक रूपमा असफल भएको थियो । सो चलचित्रको असफलता पछि उनले फरक चलचित्रमा काम गर्ने बताएका थिए । तर फरक चलचित्रमा काम गर्दा पनि उनी यस पटक व्यावसायिक असफल भएका छन् ।

यति बेला दोस्रो सातामा प्रदर्शन भइरहेको अभिनेता प्रदीपको चलचित्र ‘एक्लो–१’ ले बक्स अफिसबाट ५० लाख रुपैयाँको समेत व्यापार गर्न सकेको छैन ।

बेलायतमा बस्दै आएका निर्देशक प्रदीप शाहीले निर्देशन गरेको ‘एक्लो–१’ साइन्स फिक्सनमा आधारित चलचित्र हो । यसमा आफ्नो फरक भूमिका भएको अभिनेता प्रदीपले बताएका थिए । तर चलचित्रको व्यापार सोचे जस्तो राम्रो नभएपछि अभिनेता प्रदीप खड्का यति बेला निराश देखिएका छन् ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार ‘एक्लो – १’ले २६ पुस शनिवार रातीसम्म ४३ लाख २५ हजार ४९८ रुपैयाँ कुल व्यापार गरेको छ । प्रदर्शनमा आएको ९ दिनमा यो चलचित्रको जम्मा टिकट १३ हजार ११ वटा मात्र बिक्री भएका छन् । यो रकमबाट निर्माताले कर कट्टा गरेर आधा मात्र पाउँछन् । बक्स अफिसको अनौपचारिक विवरण अनुसार सोमबार दिउँसोसम्म यो चलचित्रको व्यापार ४५ लाख पुगेको छ । करिब ३ करोडको बजेटमा प्रदीप खड्काको यो चलचित्र तयार भएको हो । नेपालबाट प्रदीपको ‘एक्लो–१’ ले बढीमा ७५ लाखसम्मको व्यापार गर्ने अनुमान चलचित्र वितरकहरूको छ । तसर्थ प्रदीपको यो चलचित्रको अब नेपालबाट लगानी उठ्ने अवस्था देखिँदैन ।

प्रदीपको दुई वटा फरक चरित्रका चलचित्र भने यस अघि सफल भएका थिए । २०८१ मा रिलिज भएको उनको चलचित्र ‘पूजार सार्की’ले करिब १० करोडको व्यापार नेपालबाट गरेको थियो । यस्तै २०७९ मा रिलिज भएको उनको अर्को चलचित्र ‘प्रकाश’ पनि व्यावसायिक सफल भएको थियो । यी दुवै चलचित्रमा अभिनेता प्रदीपले ग्रामीण युवाको भूमिका निर्वाह गरेका थिए ।

पछिल्लो चलचित्र ‘एक्लो –१’ रिलिज हुनु भन्दा एक साता अघि अभिनेता प्रदीपले सबै चलचित्र हिट हुन्छन् भन्ने छैन भनेका थिए । आफ्नो चलचित्र ‘एक्लो –१’ पृथक् चलचित्र भएकाले यो हिट हुन्छ भनेर आफूले ठोकुवा गर्न नसक्ने बताएका थिए । तर चलचित्रको कथा र आफ्नो भूमिका फरक भएको दाबी उनको थियो । उनले भनेकै जस्तै ‘एक्टर १’ले पुसको चिसोमा बक्स अफिस तताउन सकेन ।

यस्तो छ अरू चलचित्रको व्यापार
हास्य अभिनेता अर्जुन घिमिरे ‘पाँड’ले निर्देशन गरेको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ गत ४ पुसबाट प्रदर्शनमा आएको थियो । यो चलचित्र अहिले चौथो हप्तामा केही चलचित्र घरमा प्रदर्शन भइरहेको छ । रिलिज भएको चौथा हप्तामा अर्थात् शनिवार रातीसम्म ‘झरीपछिको इन्द्रेणी’ले एक करोड भन्दा माथिको व्यापार गरेको छ । तथापि यो चलचित्र पनि व्यावसायिक घाटामा गएको देखिन्छ । करिब ३ करोड लागतको यो चलचित्रले शनिवार रातीसम्म ३५ हजार ८४२ वटा टिकट बिक्रीसँगै १ करोड १२ लाख ३८ हजार ९०४ रुपैयाँको कुल व्यापार गरेको बक्स अफिस तथ्यांकमा उल्लेख छ ।

यता गत १४ कात्तिकबाट प्रदर्शनमा आएको चलचित्र ‘परान’ अझै पनि केही हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्र गएको शनिवारसम्म नेपालका चलचित्र घरमा कुल १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँको ग्रस व्यापार गरेको छ ।

यस्तै गत १० पुसमा रिलिज भएको अर्को नेपाली चलचित्र ‘मुगलान’को व्यावसायिक अवस्था निकै नाजुक छ । यो चलचित्रले रिलिज भएको दुई सातामा शनिवार रातीसम्म २ हजार ४०० वटा टिकट बिक्रीसँगै जम्मा ६ लाख ३१ हजार ९४४ रुपैयाँको ग्रस व्यापार गरेको सोमबार सार्वजनिक बक्स अफिस रिपोर्टमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिम नेपालबाट भित्रियो पानी पार्ने अर्को प्रणाली