वीरगंज । आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपालबीच पार्टी एकता भएको छ । जन अधिकार पार्टीको सिंगो कमिटी आजपामा समाहित हुँदै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ‘मोवाइल’ चुनाव चिन्हबाट प्रतिस्पर्धामा उत्रिने सहमती भएको छ ।
वीरगंजमा आज दुबै पार्टीका बीचमा पार्टी एकता सहित निर्वाचनमा आजपाको मोवाइल चुनाव चिन्हबाट चुनाव लड्ने सहमती भएको हो । सहमती पत्रमा आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र जन अधिकार पार्टी नेपालका अध्यक्ष ईमदाद गद्दीले हस्ताक्षर गरेका थिए ।
‘आम जनता पार्टी र जन अधिकार पार्टी नेपालबीच एकता सहित मोवाइल छापबाट चुनाव लड्ने सहमति भयो,’ दुबै पार्टीले गरेको सहमती पत्रमा उल्लेख छ ।
यसअघि आजपाले जनादेश पार्टी, लघुवित्त पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतका चुनावी सहमती एवं गठबन्धन गरेको छ । समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको आजपाले १६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवार प्रतिस्पर्धामा उतार्दैछ ।







