काठमाडौं । आजपा र पहिला देश अभियानबीच पार्टी एकता भएको छ । पाँच बुँदे सहमती गर्दै आजपा र अभियानबीच पार्टी एकीकरण भएको घोषणा भएको हो ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले सहमतीपत्रमा हस्ताक्षर गर्दै २१ फागुनको निर्वाचनमा मोवाइल चुनाव चिन्हबाट निर्वाचनमा सहभागि हुने सहमती गरेका छन् ।
‘आगामी २०८२ फाल्गुन २१ गतेमा सम्पन्न हुन गईरहेको संसदीय चुनावमा आम जनता पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन पहिला देश अभियान र आम जनता पार्टीको नीति बमोजिम हुने सबै क्रियाकलापमा संयक्त भूमिका खेल्ने समझदारी गर्दछौँ,’ सहमती पत्रमा उल्लेख गरिएको छ ।
यसैगरी, पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेका छन् । विद्या प्रसाद शर्मा (दैलेख), राधेश्याम गुप्ता (रुपन्देही) सहितका १२ जना केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरेको आजपा नेता नवराज ढुंगानाले जनाएका छन् ।
‘विगत लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय योगदान गर्दै आएका प्रभावशाली नेता तथा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्यद्धय विद्या प्रसाद शर्मा (दैलेख –१) र राधेश्याम गुप्ता (रूपन्देही – ३) आजबाट हाम्रो आम जनता पार्टीमा गोलबन्द हुनुभएको हो,’ पार्टी प्रवेश गराउँदै आजपा अध्यक्ष साहले भने ।
त्यस्तै जनमत पार्टीका केन्द्रीय सदस्य एवं मण्डल सेवा समाजका पूर्व अध्यक्ष पवनकुमार मण्डलले पनि आजपामा प्रवेश गरेका छन् । आजपा अध्यक्ष साहले उनीहरुलाई टिका, माला लगायर पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन् ।







