खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना उम्मेदवार घोषणा गरेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा यसपटक सात राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव वीरकाजी राईलाई उम्मेदवार बनाएको छ । केपिलासगढी गाउँपालिका–१ फेदी निवासी वीरकाजी २०४७ सालदेखि नेपाल विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरी मूलधारको राजनीतिमा क्रियासिल छन् । वीरकाजी साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जिल्ला अध्यक्ष देवबिक्रम राईलाई टिकट दिएको छ ।
राजनीतिलाई सामाजिक सेवाका रुपमा उपयोग गर्दै आएका राई पार्टीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला सदस्य, छैटौँमा सचिव, सातौँमा उपाध्यक्ष र आठौँमा जिल्ला अध्यक्ष निर्वाचित हुदै राजनितिमा अगाडी बढेका नेता हुन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले अर्थ–राजनीतिक विश्लेषक डा. हरि रोकालाई उम्मेदवार बनाएको छ । रोका नेपालका प्रगतिशील चिन्तक, लेखक, राजनीतिक–आर्थिक विश्लेषक र बौद्धिक व्यक्तित्वका रूपमा परिचित छन् । बौद्धिक, वैचारिक रूपमा स्पष्ट र राष्ट्रियस्तरमा आफ्ना छवि निर्माण गरेका व्यक्तित्वले खोटाङबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिनुले खोटाङमा चुनावी माहोल नै थप उत्साहित बनाएको छ ।
यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पनि खोटाङबाट उम्मेदवारी दिने भएका छन् । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका स्थायी बासिन्दा आरेन मङ्गोल नेशनल अर्गनाइजेशन पार्टी (एमएनओ) परित्याग गरी श्रम संस्कृति पार्टी निर्माणमा जुटेका हुन् । पार्टी केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा महासचिव आरेनको उम्मेदवारीलाई निक्कै महत्वका साथ हेरिएको छ ।
श्रम संस्कृति पार्टीले जिल्लाका दशवटै स्थानीय तहमा सङ्गठन विस्तार गरिसकेको र श्रमदान अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ । पार्टीले निर्वाचन आयोगमा पेश गरेको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा खोटाङका पाँच जना नेताको नाम समावेश भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (नेपाल)बाट राकेश राई र राष्ट्रिय परिवर्तन पार्टीबाट निमेश राईले टिकट प्राप्त गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता माघ ६ गतेदेखि सुरु हुनेछ ।
राजनीतिक विश्लेषकहरूका अनुसार खोटाङमा पुराना दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ–६ गते उम्मेदवारको मनोनयन दर्ता, माघ–७ गते उम्मेदवारविरुद्ध उजुरी, माघ–७ गते उम्मेदवारको नामावली प्रकाशन, माघ–९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
निर्वाचन सफल बनाउन सरकारले निर्वाचन प्रहरीसमेत छनोट गरिरहेको छ । आगामी निर्वाचनका लागि जिल्लामा १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । खोटाङ जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १२० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।











