खोटाङमा दुई स्वतन्त्रसहित १५ उम्मेदवारको मनोनयन दर्ता

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा दुई जना स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि विभिन्न राजनीतिक दलबाट १३ जना र स्वतन्त्र उम्मेदवारका रूपमा दुई जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रमुख राजनीतिक दलहरूबाट उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेसबाट महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला सचिव वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट जिल्ला अध्यक्ष देवबिक्रम राई र नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट अर्थ–राजनीतिक विश्लेषक डा. हरि रोकाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुद्र गिरी, जनता समाजवादी पार्टी जसपाबाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट दीपक तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ राजनीतिक शक्तिका रूपमा उदाइरहेको श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट चन्द्र बुढाथोकी शैलेस, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई र मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पराजुलीले जानकारी दिएका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारी दर्ता गराएका डा. राजकुमार राई नेपाली काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेलगत्तै जिल्ला सभापतिमा पराजित भएका व्यक्ति हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी लिइने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

माघ ९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल बनाउन नेपाल सरकारले देशभर निर्वाचन प्रहरीसमेत छनोट गरिरहेको छ । आगामी निर्वाचनका लागि जिल्लामा एक सय ३६ वटा मतदानस्थल तथा एक सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

आगामी फागुनमा हुने निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार एक सय २० जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिए । जिल्लामा हुने यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा पुराना राजनीतिक दलका उम्मेदवारहरूबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराउदै नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क