६ पूर्वअर्थमन्त्रीले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराए

काठमाडौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार ६ जना पूर्वअर्थमन्त्रीहरूले देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । गत भदौको जेनजी पुस्ताले गरेको आन्दोलनबाट सरकार परिवर्तन भई प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले निर्धारण गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनको दिन आउन अब जम्मा ४३ दिन मात्र बाँकी छ ।

सो निर्वाचनका लागि देशको विभिन्न निर्वाचन क्षेत्रबाट आ–आफ्ना पार्टीको तर्फबाट उम्मेदवारी दर्ता उराउने ६ जना पूर्वअर्थमन्त्रीहरूमा पूर्व प्रधानमन्त्रीसमेत रहका डा. बाबुराम भट्टराई, डा. प्रकाशशरण महत, वर्षमान पुन, विष्णुप्रसाद पौडेल, ज्ञानेन्द्रबहादुर कार्की र जनार्दन शर्मा रहेका छन् । उनीहरूले विभिन्न दलबाट आ–आङ्खना निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसपालिको निर्वाचन प्रतिस्पर्धामा उत्रिएका पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री भट्टराईले पुनः आङ्खनै जन्मथलो जिल्ला गोरखा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गर्नु केही दिनअघिसम्म चुनाव नउठ्ने घोषणा गरेका भट्टराईले गोरखा–२ बाट सो निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।

भट्टराईको सो क्षेत्रमा गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि आङ्खनो पकड क्षेत्र नै छाडिदिएर ठूलो सहयोग गरिदिएका थिए । यसैगरी, नेपाली कांग्रेसबाट पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटको १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा महतले उम्मेदवारी दर्ता गराएको नुवाकोट–१ बाट तत्कालीन माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए । अहिले पूर्वअर्थमन्त्री महतसँग विभिन्न पार्टीका तर्फबाट उम्मेदवारी परेको छ ।

अर्का पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले रोल्पाबाट यस निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । योसहित पूर्वअर्थमन्त्री पुनले तेस्रो पटक रोल्पाबाट उम्मेदवारी दिएका हुन् । यसअघि उनी २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए । सो निर्वाचनका लागि एमालेको तर्फबाट धेरै पटक अर्थमन्त्री भएका पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसपालि रुपन्देही–२ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयपत्र दर्ता गर्ने समयअघिसम्म पूर्वअर्थमन्त्री पौडेल पाल्पाबाट भिड्ने तय भएको थियो । पछि एमाले पार्टीभित्रै चर्को विरोध भएपछि एमालेले पौडेललाई पुनः रुपन्देही–२ बाटै उठाउने निर्णय गरेको थियो । एमालेको पछिल्लो निर्णयपछि पौडेलले रुपन्देहीबाट आङ्खनो उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वअर्थमन्त्री पौडेलले रूपन्देहीको यस क्षेत्रमा २०५६ सालदेखि नै निर्वाचन लड्दै आएका थिए । उनी गत निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

अर्का पूर्वअर्थमन्त्री तथा कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले यसपटक सुनसरी–४ बाट उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–४ मा यसअघि वाम गठबन्धनलाई हराउँदै कार्की विजयी भएका थिए । यसपटक पनि सोही क्षेत्रमा पूर्वअर्थमन्त्री कार्कीलाई नेपाली कांग्रेसले पुनः टिकट दिएको छि । अब उनले विगतका निर्वाचनमा जस्तै विजयी हासिल गर्ने दाबी गरेका छन् । त्यस्तै अर्का पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट आङ्खनो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वअर्थमन्त्री शर्माले यसपटक पनि रुकुम पश्चिमबाट सहजे विजयी हुने दाबी गरेका छन् । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अलग बनेका पूर्वअर्थमन्त्री शर्मा यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रूकुम पश्चिमबाट उनी ४ पटक विजयी भइसकेका छन् । आगामी निर्वाचनका लागि चुनावी मैदानमा उत्रिने तयारीमा रहेका अर्का पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीलगायत विभिन्न ५ जना पूर्वअर्थमन्त्रीहरूले आकांक्षा राख्दा पनि टिकट नै पाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री लोहनीले पार्टीबाट टिकट नपाएपछि आकांक्षा राख्दा पनि यसपटकको चुनावमा प्रतिस्पर्धा गरिरहेका छैनन् ।

आकांक्षा राख्दा पनि पार्टीबाट टिकट नपाउने र अन्य विविध कारणले चुनावी प्रतिस्पर्धामा नरहेका पूर्वअर्थमन्त्रीहरूमध्ये नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा.रामशरण महत बिरामी भएका कारण अहिले सक्रिय राजनीतिमा छैनन् । यसअघि उनी उठ्ने गरेको नुवाकोटको १ नम्बर निर्वाचन क्षेत्रमा उनका भाइ डा. प्रकाशशरण महतले नै उम्मेदवारी दर्ता गराका छन् ।

त्यस्तै, अर्का पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्य पनि चुनावी प्रतिस्पर्धामा छैनन् । वर्तमान अन्तरिम सरकारका अर्थमन्त्री डा.रामेश्वर खनालले अब आफू सक्रिय राजनीति नगर्ने भन्दै सार्वजनिक घोषणा गरिसकेका छन् । अर्थ सचिवबाट राजीनामा दिएपछि नेपाली कांग्रेस प्रवेश गरेका खनाल पछिल्लो समय डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय भएका थिए ।

अर्का पूर्वअर्थमन्त्री तथा एमाले वरिष्ठ नेता सुरेन्द्र पाण्डेलाई भने पार्टीले टिकट नै दिएन । यसअघि पाण्डे चितवन–१ बाट पराजित भएका थिए । त्यसअघि भने उनी सोही निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका थिए । त्यस्तै, अर्का पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा पनि चुनावी अभियानमा सहभागी छैनन् । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री कृष्णबहादुर महरा पनि चुनावी प्रतिस्पर्धामा छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै