काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अस्थिरता, घट्दो कारोबार र लगानीकर्ताको मनोवैज्ञानिक दबाबको चरणबाट गुज्रिरहेका बेला सागर डिस्टिलरी लिमिटेडको सेयर मूल्य भने कृत्रिम रूपमा उकालो लगाइएको छ । बजार सूचक कमजोर, अधिकांश सूचीकृत कम्पनीका सेयर दबाबमा र कारोबार खुम्चिँदै गएको अवस्थामा पनि सागर डिस्टिलरीको सेयर भने २ हजार रुपैयाँमाथि पुगेको छ ।
उत्पादन र बजार घट्दा मिलेमतोमा ‘हरियो बत्ती’
तर यो उकालो यात्राले बजारमा उत्साहभन्दा बढी प्रश्न जन्माइरहेको छ । नेप्से चार्ट, कारोबार आँकडा, सेयर स्वामित्व संरचना र कम्पनीको वास्तविक वित्तीय अवस्थालाई एकै ठाउँमा राखेर हेर्दा सागर डिस्टिलरीको मौजुदा मूल्यस्तर प्राकृतिक बजार माग–आपूर्तिभन्दा धेरै टाढा देखिन्छ । यो सेयर अहिले ‘सफल उद्योग’को कथाभन्दा बढी ‘बजार संरचनागत जोखिम’, अस्वाभाविक उकालो र सम्भावित कृत्रिम बुलको उदाहरण बन्दै गएको छ ।
कारोबार कमजोर तर मूल्य पाँच गुणा !
पुस महिनाको नेप्से चार्ट हेर्दा सागर डिस्टिलरीको सेयर मूल्य निरन्तर उकालो लागेको देखिन्छ । क्यान्डल चार्टमा लगातार हरिया क्यान्डलहरू देखिए पनि ती क्यान्डलहरू प्रायः सानो आकारका छन् । यसको अर्थ दिनभरि ठूलो कारोबार नभए पनि अन्ततः सेयर मूल्य माथि बन्द हुँदै आएको छ । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कारोबार भोल्युम हो ।
चार्टको तल्लो भागमा देखिएको भोल्युम बार विश्लेषण गर्दा पुसको दोस्रो सातामा एक–दुई दिन बाहेक कारोबार उल्लेख्य रूपमा बढेको देखिँदैन । मूल्य करिब २ हजार ५ रुपैयाँमा टिकिरहँदा पनि दैनिक कारोबार संख्या अत्यन्त सीमित छ । प्राविधिक विश्लेषणको भाषामा यस्तो अवस्था ‘डाइभर्जे न्स’ हो– जहाँ मूल्य बढ्छ, तर भोल्युमल समर्थन गर्दैन । सामान्य बजारमा बलियो माग हु ँदा मूल्यसँगै कारोबार पनि बढ्छ । तर यसको भने मूल्य मात्र उक्लिरहेको छ, कारोबार भने खुम्चिएको छ । यो प्रवृत्ति दीर्घकालीन रूपमा दिगो मानिँदैन र प्रायः ‘पम्प–एन्ड–डम्प’को संकेतका रूपमा हेरिन्छ ।
नेप्सेमा उपलब्ध विवरणअनुसार पुस मसान्तसम्म सागर डिस्टिलरीको अन्तिम कारोबार मूल्य २ हजार ५ रुपैयाँ पुगेको छ । हालसम्मको कारोबारको उच्च मूल्य २ हजार १ सय ४६ रुपैयाँ ९० पैसा र न्यून मूल्य ३ सय १९ रुपैयाँ ५० पैसा छ । कुल सूचीकृत सेयर ७२ लाख ६० हजार कित्ता रहेको कम्पनीको बजार पुँजीकरण करिब १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
तर यति ठूलो बजार पुँजीकरण भएको कम्पनीमा कुल कारोबार कित्ता ५४ हजार ९ सय ६८ र कारोबार संख्या ९ सय ८३ पटक मात्र देखिन्छ । मूल्य ५–६ गुणा बढिसक्दा पनि कारोबारको गहिराइ अत्यन्त कमजोर हुनु अस्वाभाविक मानिन्छ । विश्लेषकहरूका अनुसार, यस्तो अवस्थामा मूल्य वास्तविक माग–आपूर्तिले नभई सीमित सेयर र सीमित खेलाडीको गतिविधिले निर्धारण भइरहेको संकेत गर्छ ।
जलानको कब्जामा ‘सेयर कर्नरिङ’
सागर डिस्टिलरीको सेयर स्वामित्व संरचना हेर्दा प्रत्यक्ष रूपमा ‘कर्नरिङ–फ्रेन्डली’ विशेषता देखिन्छ । कम्पनीका कुल सेयरमध्ये ठूलो हिस्सा सीमित व्यक्तिहरूको नियन्त्रणमा छ । उपलब्ध विवरणअनुसार ५ जना व्यक्तिले मात्र ४० दशमलव ८८ प्रतिशत सेयर आङ्खनो मुठ्ठीमा राखेका छन् । सन्दीप जलान, आशुतोष खेतान, अल्का गोयल, शोभा मिश्र र श्रीराम केसीकै हालीमुहाली कम्पनीमा छ ।
त्यसमा पनि सेयर खेलाडीको छवि बनाएका जलानका परिवारका सदस्यकै कब्जामा कम्पनी छ । ङ्खलोटिङ सेयर अत्यन्त न्यून हुँदा बजारमा सेयर आपूर्ति नियन्त्रण गर्न सजिलो हुन्छ । सेयर बजारमा उपलब्ध नहुने हो भने थोरै कारोबारमै मूल्य माथि धकेल्न सकिन्छ । अहिले सागर डिस्टिलरीमा देखिएको संरचना सेयर आपूर्ति ‘सुकाएर’ माग कृत्रिम रूपमा बढाइएपछि मूल्य एकाएक उकालो लागेको अवस्था देखिन्छ ।
व्यापार घट्दा सेयरमा भने अस्वाभाविक वृद्धि
सागर डिस्टिलरीको सेयर ३ सय २० रुपैयाँ आसपासबाट सुरु भएर हाल २ हजार रुपैयाँको हाराहारीमा पुगेको छ । यो करिब ५ गुणा वृद्धि हो । तर यही अवधिमा कम्पनीको वास्तविक व्यावसायिक वृद्धि भने अत्यन्त सीमित छ । कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब १८ करोड रुपैयाँबराबरको मात्र मदिरा कारोबार गरेको छ ।
अघिल्लो वर्ष १७ करोड ७० लाख रुपैयाँ कारोबार भएकामा गत वर्ष केवल १ दशमलव ६९ प्रतिशत अर्थात् ३० लाख रुपैयाँले मात्र वृद्धि भएको देखिन्छ । यस्तो न्यून कारोबार वृद्धि भएको कम्पनीको सेयर मूल्य पाँच गुणा बढ्नु स्वाभाविक मानिँदैन । सागर डिस्टिलरी सन् २०१४ मा स्थापना भई सन् २०२२ बाट पूर्ण रूपमा सञ्चालनमा आएको कम्पनी हो । सन् २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको यस कम्पनीको नवलपुरको देवचुलीमा उत्पादन केन्द्र छ ।
भोड्का, ह्विस्की, जिन जस्ता स्प्रिट उत्पादन गर्ने कम्पनीको वार्षिक उत्पादन क्षमता ५० लाख लिटर छ । तर उत्पादन क्षमता र ब्रान्ड सूची आकर्षक देखिए पनि वित्तीय सूचकहरू कमजोर छन् । बैक तथा वित्तीय संस्थासँगको ऋण दायित्व बढ्दो छ । ब्याज भुक्तानीले आम्दानीलाई खाइरहेको अवस्था छ ।
इन्फोमेरिक्सले दिएको क्रेडिट रेटिङले पनि कम्पनीको जोखिम प्रोफाइल उच्च देखाएको छ । ‘इन्ट्र ेस्ट कभरेज रेसियो’ अत्यन्त न्यून हुनु भनेको कम्पनीले ब्याज तिर्ने क्षमतासमेत दबाबमा रहेको संकेत हो । कारोबार संख्या अत्यन्त कम हुनु, सीमित कित्तामा सर्किट लाग्नु र चार्टमा देखिएको अस्वाभाविक सिँढी उकालोले वास ट्रेडिङ वा कृत्रिम अभाव सिर्जना गरिएको आशंका बढाएको छ । बजारमा सेयर नै नआएपछि साना अर्डरले पनि मूल्य माथि लैजान सक्छ ।
सेवोन र नेप्सेको रहस्यमय मौनता
स्पष्ट असामान्य गतिविधि देखिँदा पनि सेबोन र नेप्सेबाट ठोस हस्तक्षेप नदेखिनु चिन्ताको विषय बनेको छ । नियामक कमजोर हुँदा सन्देश जान्छ– बजारमा जोखिमभन्दा खेल बलियो छ । यसको प्रत्यक्ष असर साना लगानीकर्तामाथि पर्छ । अहिलेको मूल्य संरचनामा सबैभन्दा सुरक्षित पक्षमा पहिल्यै सस्तोमा सेयर पाएका सीमित लगानीकर्ता छन् ।
तर पछिल्लो चरणमा प्रवेश गर्ने साना लगानीकर्ता भने उच्च जोखिममा छन् । मूल्य उचाइमा पुगेपछि गिर ावट आउँदा खरिदकर्ता नपाइने र सर्किट उल्टो लाग्ने सम्भावना बढी हुन्छ । मूल्यभन्दा भोल्युम र फन्डामेन्टल हेर्नु आवश्यक छ । स्टप–लस बिना यस्ता सेयरमा प्रवेश गर्नु जोखिमपूर्ण हुन्छ । दीर्घकालीन लगानीका लागि बलियो आम्दानी, पारदर्शी कारोबार र स्थिर कर्पोरेट गभर्नेन्स भएका कम्पनी प्राथमिकतामा राख्नुपर्छ । सागर डिस्टिलरीको सेयर उचाइमा देखिए पनि चार्ट, कारोबार आँकडा र वित्तीय आधारले ठूलो जोखिम लुकेको संकेत गर्छ ।






