काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा जेनजी आन्दोलनको प्रभावले गर्दा विगतको निर्वाचनमा भन्दा कलिलो उमेरका उम्मेदवारका चुनावी अनुभव बोकेका ‘हेभीवेट’ राजनीतिक नेताहरू ‘चुनावी कमान्डर’ हुने भएका छन् ।
जेनजी आन्दोलनको प्रभावले नेतृत्व हस्तान्तरणको मुद्दासहित विशेष महाधिवेशन गरेको नेपाली कांग्रेसमा धेरै हेधीवेट नेताहरू कमान्डर बन्नुपर्ने अवस्थामा पुगेका छन् भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका पनि धेरै युवाहरूले उम्मेदवार बन्ने अवसर पाएका छन् ।
उस्तै संख्यामा अनुभवी नेताहरू कमान्डर बनेर पहिलो पटक निर्वाचन क्षेत्र जाने सम्भावना देखिएको छ । नेकपा एमालेको तर्फबाट चितवन–१ बाट उम्मेदवारी दर्ता गर्न बागमती प्रदेशसभाका पूर्वसांसद दावादोर्जे लामाको साथमा उभिएर नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे चुनावी कमान्डर छन् ।
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा काभ्रे–२ का उम्मेदवार अशोक ब्याञ्जुको चुनावी कमान्डर बनेका छन् । एमालेमा पाण्डे र बाँस्कोटाजस्तै धेरै पूर्वपदाधिकारीसहित वर्तमान उपमहासचिव योगेश भट्टराईलगायतका नेताहरू युवा उम्मेदवारलाई चुनाव जिताउनुपर्ने जिम्मेवारीसाथ निर्वाचन क्षेत्र जाँदैछन् ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओखलढुंगामा कुमार लुइँटेलको चुनावी कमान्डर बन्ने अवस्था आएको छ । नाति पुस्ताका नैनसिंह महरलाई डडेलधुराबाट चुनाव जिताउन कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाईसमेत मैदान उत्रनुपर्ने बाध्यता छ । देउवाकै निकट रहेका महरलाई कांग्रेसको आधिकारिकता पाएका सभापति गगनकुमार थापाले डडेलधुरा पठाएपछि महरको हारजित देउवाको प्रतिष्ठासँग जोडिएको छ ।
कांग्रेसमा विशेष महाधिवेशनको प्रभावले विद्यार्थी राजनीतिबाट उदाएका नेता थापा सभापति निर्वाचित भएपनि टिकट वितरणमा नेविसंघ र तरुण दल पृष्ठभूमिका धेरैले टिकट पाएका छन् । महाधिवेशन विवाद निर्वाचन आयोगमा पुगेपछि आयोगले थापालाई आधिकारिकता दिएसँगै कांग्रेसमा धेरै युवा नेताहरू उम्मेदवार र सिनियर नेताहरू कमान्डर बन्नुपर्ने अवस्थामा पुगेको हो ।
विशेष महाधिवेशनपछि राजनीतिक अस्तित्व नै जोखिममा पुगेका नेताहरू पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, शशांक कोइराला, रमेश लेखक, बालकृष्ण खाँण, प्रकाशमान सिंह, डा. आरजु देउवा राणा, हृदयराम थानी, धनराज गुरुङ, चित्रलेखा यादव, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, बद्री पाण्डे, डा.नारायण खड्का, जीवन परियार, उमेश श्रेष्ठ, दिलेन्द्र बडू, जीवनबहादुर शाही, सीता गुरुङ थापालगायत उत्तराधिकारी उम्मेदवार जिताउन निर्वाचन क्षेत्र जानुपर्ने बाध्यतामा छन् ।
कांग्रेसको राजनीतिमा रहनका लागि पनि उनीहरू निर्वाचन क्षेत्र जानुपर्ने अवस्था भएको कांग्रेस नेताहरू बताउँछन् । आफैँले विकास गरेका कार्यकर्ता रणबहादुर (आरबी) राईलाई इलामबाट चुनाव जिताउने जिम्मेवारी पूर्वप्रधानमन्त्री झलनाथ खनालको काँधमा आइपुगेको छ । यसअघि सूर्योदय नगरपालिकाको मेयरसमेत भइसकेका राई आफैँ निर्वाचनमा सक्षम खेलाडी भएको प्रमाणित गरिसकेका भए पनि २०४८ देखि हरेक निर्वाचनमा आफूलाई जनतामाझ उम्मेदवारको रूपमा उभ्याएका खनाललाई यसपटक भने कमान्डरको रूपमा मैदानमा इलामवासीले देख्न पाउने सम्भावना ज्यादा छ ।
हरेक निर्वाचनमा आफूलाई पद दाबी गर्ने स्वभावका अर्का ‘चुनावी खेलाडी’ बामदेव गौतम पनि यसपटक ‘कलिला उम्मेदवार’को लागि कमान्डर बन्नुपर्ने अवस्थामा पुगेका छन् । बर्दियाबाट उम्मेदवार बन्ने मुडमा राष्ट्रियसभाबाट राजीनामा गरेका उनलाई बर्दियाका स्थानीयले ‘रिजेक्ट’ गरेपछि चुनावी कमान्डर बन्नुपर्ने बाध्यतामा पुगेका हुन् । प्रतिनिधिसभा निर्वाचनमा एमालेका उपाध्यक्ष रघुजी पन्त पनि कमान्डरको भूमिकामा देखिने छन् ।
उनीभन्दा करिब ४० वर्ष कम उमेरका सन्दन थापामगरलाई ललितपुर–३ मा जिताउन कमान्डरको भूमिकामा पुग्नुपर्नेछ । पन्त ललितपुर ३ बाट २०५१, ०५६, ०६४ र ०७० मा उम्मेदवार बनेका थिए । एमाले नेताहरू लालबाबु पण्डित, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, कैलाश ढुंगेल, भीम आचार्य पनि कमान्डरकै रूपमा चुनावी क्षेत्रहरूमा जानुपर्ने अवस्था देखिएको छ ।
उपमहासचिव भट्टराईले युवा संघका अध्यक्ष क्षितिज थेबेलाई चुनाव जिताउनुपर्ने जिम्मेवारी आएजस्तै महेश बर्तौला, सुहाङ नेम्वाङ, दीपक धामी, द्वारिका न्यौपाने, बचनबहादुर सिंह, आरसी लामिछाने, रश्मी आचार्य, ऐन महर, अस्मिता थापालगायत युवा विद्यार्थी पृष्ठभूमिबाट आएकालाई जिताउन पदाधिकारी र पूर्वपदाधिकारीलाई परिस्थितिले कमान्डर बनाएको छ । तत्कालीन नेकपा माओवादीको शीर्ष नेताको पहिचान बनाएका पूर्वसभामुख अग्निप्रसाद सापकोटा पनि २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका ‘हेभीवेट चुनावी कमान्डर’ हुन् ।
नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक जिल्लाबाट युवा उम्मेदवारहरू माधव सापकोटा र युवराज दुलाललाई उम्मेदवारको रूपमा अगाडि सारेपछि उनीहरूलाई जिताउन केन्द्रीय कमान्ड सम्हाल्दै सिन्धुपाल्चोक पुग्नुपर्ने जिम्मेवारी सापकोटाको काँधमा छ । सशस्त्र द्वन्द्वरत माओवादी वार्ताका लागि टोली गठन हुँदादेखि गत प्रतिनिधिसभा निर्वाचनसम्म चर्चामा रहेका सापकोटा अहिले नेपाली कम्युनिस्ट पार्टीको शीर्ष नेताको रूपमा छन् ।
उनी स्वेच्छाले उम्मेदवार नहुने घोषणा गरेका नेता हुन् । वामपन्थी राजनीतिमा महिलाका मुद्दाले अग्लो कद बनाएकी पम्फा भुसाल पनि यसपटक चुनावी कमान्डर बन्ने भएकी छन् । ललितपुर–३ बाट उम्मेदवार बन्दै विजय पराजयको अनुभव संगालेकी भुसाल अघिल्लो निर्वाचनमा आफूभन्दा करिब ३ दशक कम उमेरकी डा. तोसिमा कार्कीसँग तेब्बर मतान्तरमा पराजय व्यहोरेपछि यस पटक कमान्डरको रूपमा मात्रै निर्वाचन क्षेत्र जाने भएकी छन् । ललितपुर–३ मा नेकपाले राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीभित्रका झलनाथ खनाल, अग्निप्रसाद सापकोटा, पम्फा भुसाललगायतलाई युवा उम्मेदवारहरू अशेष घिमिरे, रञ्जित तामाङ, मेनका भण्डारीलगायत युवा उम्मेदवारको क्षेत्रहरूका निर्वाचनको कुशल कमान्डर बन्ने अवसर सिर्जना गरेको छ ।
सिनियर नेताहरूलाई चुनावी कमान्डर बनाउँदै नयाँलाई स्पेस दिने नीति लिएको बताउँदै आएको एमालेले महाधिवेशनको रापताप पनि मिसाएको भन्दै टिप्पणीसमेत भइरहेको छ । यसलाई नकारात्मक कोणबाट मात्र नभई जेनजी आन्दोलनले सिर्जना गरेको अवसरको रूपमा समेत हेर्नुपर्ने एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल बताउँछन् । ढुंगेललाई पनि पहिलोपटक एमालेले रामेछापबाट प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।
३५ वर्षमुनिका ५ सयबढी उम्मेदवार
आमचुनावका लागि मंगलबार दर्ता भएको प्रत्यक्षतर्फको उम्मेदवारीमा ३५ वर्षमुनिका ५ सयभन्दा बढी उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । विगतका निर्वाचनमा युवा विद्यार्थी परिचालन नाममा झन्डा बोकेर हिँड्ने उमेर समूहका मानिने ३५ वर्षसम्मका युवा पुस्तालाई यो निर्वाचनमा उम्मेदवार बनाउने अवस्था ‘जेनजी आन्दोलन’ले बनाएको दाबी गर्छन् जेनजी आन्दोलनका अभियन्ता रक्षा बम ।
‘यो उम्मेदवारी नै त्यो सफलता त होइन तर कमसेकम यी युवाहरू अरूको प्रचार गर्न मात्र नभई आफैँ उम्मेदवार बन्न तयार हुनु पनि एउटा महत्वपूर्ण उपलब्धि हो,’ बमले भनिन् । जेनजी आन्दोलनको एजेन्डा व्यवस्थामै सुधारसहितको परिवर्तनको प्याकेज भए पनि युवाहरूमा राजनीतिको झड्का दिन सफल भएको अभियन्ता मिराज ढुंगाना बताउँछन् ।
‘हाम्रा माग, चासो र सरोकार त व्यवस्थामा आमूल परिवर्तन नै हो, प्रत्यक्ष निर्वाचित कार्यकारी नै हो, तर पनि यो मुद्दा बोक्नका लागि युवाहरूमा राजनीतिको चासो बढाउनु आवश्यक थियो, चासो बढेछ भन्ने कुरा त उम्मेदवारीले पनि देखायो नि,’ ढुंगानाले भने । युवा अधिकारका क्षेत्रमा कार्यरत संस्था युवा सँस्था सञ्जाल (आयोन)की अध्यक्ष सुजता बराल निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गर्दै राजनीतिक परिवर्तनको हिस्सेदार बन्न तयार भएको युवा उम्मेदवारीलाई रूपान्तरणका लागि भएको सकारात्मक हस्तक्षेपकै रूपमा नै लिनुपर्ने बताउँछिन् ।
अघिल्ला निर्वाचनमा नाम सिफारिसमा समेत आनाकानी हुनसक्ने सम्भावना भएका युवाहरू पुरानै पार्टीबाट समेत टिकट लिएर निर्वाचनमा पुगेको दृश्य युवा आन्दोलनका लागि निकै प्रेरक भएको बरालले बताइन् । नेपाली काँग्र ेसको पार्टी नेतृत्वमै युवा पुस्ताको उपस्थिति हुनु र निर्वाचनका लागि युवा उम्मेदवारको संख्या बढ्नुलाई जेनजी आन्दोलनकै उपलब्धिको रुपमा लिनुपर्ने बरालले बताइन् ।










