समलिंगी विवाह दर्ता गराउन सफल पाण्डे काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धामा

काठमाडौं । मानवअधिकार, समान अवसर र सबै नागरिक सम्मान सुनिश्चित गर्न लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता सुरेन्द्र पाण्डे काठमाडौं निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदान उत्रिएका छन् । समावेशी समाजवादी पार्टीका तर्फबाट उम्मेदवार पाण्डेले उनले श्रीवत्स चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेका छन् ।

पाण्डे नेपालको इतिहासमा पहिलो पटक समलिंगी विवाह कानुनी रूपमा दर्ता गराउन सफल व्यक्ति हुन् । दक्षिण एसियामै उदाहरणीय मानिने सो ऐतिहासिक उपलब्धि उनले तीव्र सामाजिक विरोध, दबाब र चुनौतीका बाबजुद हासिल गरेका थिए । यही यथार्थता बोकेका पाण्डे अहिले प्रत्यक्ष राजनीतिमा प्रवेश गर्दै संसदमार्फत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका साथै सबै नागरिकका अधिकार सुनिश्चित गर्न उम्मेदवार बनेको बताउँछन् ।

काठमाडौ ं–१ मा पहिलेदेखि नै राजनीतिक दलहरूको बलियो हस्तक्षेप रहने गरेको उनको अनुभव छ । धेरै राजनीतिक दलहरूको आँखा गाडिएको क्षेत्र भएकाले चुनौती अवश्य रहेको स्वीकार गर्दै पाण्डेले भने, ‘सबै जनतामाझ जानुपर्छ, हामी पनि भिज्नुपर्छ, हामी पनि चिनिनुपर्छ । चुनौती भए पनि मलाई खासै गाह्रो लाग्दैन ।’

आम मतदातालाई बुझाउन सके जुनसुकै चुनौती पनि चिर्न सकिने विश्वास व्यक्त गर्दै उनले भने, ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि आवश्यक कानुनहरू बनेका छैनन्, संसदमा पुग्नेहरूले हाम्रा लागि कानुन नबनाएकै कारण उम्मेदवार बन्न प्रेरित भएको हुँ । हाम्रा लागि कोही बोल्दिने रहेनछ, त्यसैले आफैँ बोल्न अग्रसर हुनुपर्छ भनेर अगाडि बढेको हुँ ।’

समलिंगी विवाह दर्ता गराउँदा जस्तै अहिले पनि विरोध गर्नेहरू चुनावमा प्रतिद्वन्द्वीका रूपमा उम्मेदवार बनेको जानकारी आफूलाई भएको पाण्डेले बताए । विवाह दर्ता हुनुअघि पनि तीव्र विरोध भएको स्मरण गर्दै उनले भने, ‘त्यत्रो विरोधका बाबजुद विवाह दर्ता सफल भयो, हरेक चुनौती सामना गर्नकै लागि अभियन्ता बनेको हुँ । यस्ता चुनौतीहरू आइरहन्छन् ।’

समलिंगी विवाहको विरोध गर्नेहरू चुनावी प्रतिद्वन्द्वी भएर आएको विषयमा प्रतिक्रिया दिँदै पाण्डेले भने, ‘मलाई भन्दा उहाँहरूलाई नै असर पर्छ । एउटा मानवले अर्को मानवसँग गरेको प्रेमको विरोध गर्नेहरूले चुनाव जितेर जनताको के सेवा गर्नुहुन्छ भन्ने प्रश्न उहाँहरूतर्फ जान्छ । त्यसले मलाई होइन, उहाँहरूलाई नै असर गर्छ ।’

आममतदाता स्वविवेक प्रयोग गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले विगतमा पुराना दलहरूलाई मत दिएर संसदसम्म पु¥याउँदा के उपलब्धि भयो भन्ने प्रश्न उठाउनुपर्ने बताए । पाण्डेले यौनिक तथा लै ंगिक अल्पसंख्यक समुदायका लागिमात्र नभई काठमाडौ ं क्षेत्र नम्बर १ का आमनागरिकका लागि पनि काम गर्ने प्रतिबद्धता जनाए ।

सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक कानुन निर्माण गर्ने लक्ष्य रहेको बताउँदै उनले भने, ‘वडामै न्याय नपाए सिंहदरबार, सिंहदरबारमा नभए अदालत धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।’ वडामै सिंहदरबार भन्ने अवधारणालाई व्यवहारमा उतार्न कानुन आवश्यक छ ।’ काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा १६ जना दलीय उम्मेदवार रहेका छन् भने १३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

चलचित्र विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पारित