मुम्बई । बलिउड अभिनेता सलमान खानको आगामी चलचित्र ‘ब्याटल अफ बलवान’ ले यति बेला चीनको ध्यान आकर्षण गरेको छ । यो चलचित्र प्रति चिनले चासो देखाउँदै गर्दा अभिनेता सलमान अहिले नयाँ कानुनी विवादमा फसेका छन् ।
सलमान र यो चलचित्र विरुद्ध चिनियाँ एआई कम्पनीले दायर गरेको मुद्धामा सलमान खानलाई चार हप्ता भित्र आफ्नो जवाफ पेस गर्न दिल्ली उच्च अदालतले निर्देशन दिएको छ । यस मुद्दाको अर्को सुनुवाइ २७ फेब्रुअरीमा हुने तय भएको छ ।
केही समय अघि, दिल्ली उच्च अदालतले सलमान खानको व्यक्तित्व अधिकारको रक्षा गर्दै एक महत्त्वपूर्ण आदेश जारी गरेको थियो । यो आदेशले कुनै पनि तेस्रो पक्षलाई अनुमति बिना सलमान खानको नाम, तस्बिर, आवाज, छवि वा पहिचानको व्यावसायिक शोषण गर्न निषेध गरेको थियो । अब, एक चिनियाँ एआई–आधारित डिजिटल प्लेटफर्म कम्पनीले यो आदेशलाई अदालतमा चुनौती दिएको छ ।
चिनियाँ कम्पनीले आफ्नो एआई–उत्पन्न सामग्री स्पष्ट रूपमा कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर सिर्जना गरिएको र धोका दिने वा भ्रामक बनाउने उद्देश्यले नभएको दाबी गरेको छ । यो मुद्दालाई सुल्झाउन सलमानले आफ्ना कानुनी सल्लाहकारसँग सुझाव लिएका छन् ।






