पर्सा । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटर पर्साले २५औँ सशस्त्र प्रहरी दिवस मनाएको छ । यहाँ विविध कार्यक्रम गरेर सशस्त्र प्रहरी दिवस मनाइएको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सशस्त्र प्रहरीले सीमा सुरक्षादेखि विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताए । “सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले जनतासँग साझेदारी गरेर जुन काम गर्दै आइरहेको छ । त्यो सराहनीय रहेको छ”, उनले भने, “आगामी दिनमा पनि जनतासँग सहकार्य गरेर अघि बढ्न अनुरोध गर्दछु ।”
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सशस्त्र प्रहरी बलले विपन्न परिवारलाई न्यानो कपडा वितरणदेखि विभिन्न स्वास्थ्य शिविर गरेर उदाहरणीय काम गरेको बताए । “सीमा सुरक्षाको अलावा सशस्त्र प्रहरीले विभिन्न रचनात्मक काम गर्दै आइरहेको छ”, उनले भने, “आगामी दिनमा पनि सशस्त्र प्रहरीले सीमा क्षेत्रका जनतासँग सचेतनामूलक कार्यक्रम गर्दै अघि बढ्न जरुरी छ ।”
सशस्त्र प्रहरी बल नेपालका पूर्वनायब महानिरीक्षक कृष्णभक्त ब्रहमचार्यले सशस्त्र प्रहरीले शान्ति सुरक्षा र सीमा सुरक्षामा अब्बल काम गर्दै आइरहेको दाबी गरे । सशस्त्र प्रहरी बल पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सीमा सुरक्षाको अलावा राजस्व चुहावट नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
“सङ्गठनले तोकेको जिम्मेवारीअनुसार कार्यसम्पादन गर्दै आइरहेका छौँ”, उनले भने, “सशस्त्र प्रहरीले विभिन्न विपद्हरूमा सधैँ अग्रमोर्चामा रहेर काम गर्दै आइरहेका छौँ ।” प्रहरी दिवसका अवसरमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको थियो । सशस्त्र प्रहरी दिवसमा २५ वर्षे सेवा गरेका प्रहरीहरूलाई पनि सम्मान गरिएको थियो ।






