हाइप्रोफाइल भीडन्त : ‘ढुक्क’को छैन ५ भावी प्रधानमन्त्रीका दावेदारको क्षेत्र

काठमाडौं । आन्तरिक असन्तुष्टि बोकेर निर्वाचन प्रतिस्पर्धाका लागि जुटेका प्रमुख राजनीतिक दलहरु पहिलोपटक भावी प्रधानमन्त्रीको घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् ।

दोस्रोपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका पूर्वमेयर वालेन शाहलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेपछि कांग्रेस, एमाले र नेकपाले पनि पार्टी नेतृत्वलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका छन् ।
रास्वपाले वरिष्ठ नेतालाई अघि सार्दा परम्परागत दलहरु भने बहुमत ल्याएर पार्टी नेतृत्वलाई प्रधानमन्त्री बनाउने दाउमा छन् । प्रधानमन्त्री तोकिएर निर्वाचनमा होमिएका कतिपय नेताहरु निर्वाचनमै पराजित हुने सम्भावना समेत देखिन्छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा भएको व्यवस्था अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्ने संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

तर कुनै दलको बहुमत नरहेको अवस्थामा भने एक महिनाभित्र बहुमत जुटाउन सक्ने सांसद संसदीय दलको नेता नभए पनि प्रधानमन्त्री बन्न पाउँछन् । एक महिनाभित्र बहुमत नजुटे राष्ट्रपतिले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

बहुमत ल्याउन नसकेको अवस्थामा दुई वा दुई भन्दा बढी दल मिलेर गठबन्धनको सरकार बनाउन सक्ने व्यवस्था रहेको छ । २०७२ मा संविधान जारी भएपछि गठबन्धनको सरकार बनाउने अभ्यास छ । कुनै दलले स्पष्ट बहुमत ल्याउन नसक्दा सरकारमा सहभागी दलले गठबन्धनबाट बाहिरिदा सरकार नै हेरफेर हुदैआएको छ ।

आगामी निर्वाचनबाट पनि कुनै दलको स्पष्ट बहुमत नआउँने विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा दलहरुले दावी गरेजस्तै प्रधानमन्त्री नियुक्ति र सरकार गठन नहुनसक्छ ।

प्रधानमन्त्री हुन गगनलाई छैन सहज
विशेष महाधिवेशनबाट हालै नेपाली कांग्रेसको सभापति भएका गगनकुमार थापालाई पार्टीले आगामी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ ।

२०७९ सालको निर्वाचनमा काठमाडौं–४ बाट बिजयी भएका गगन यो निर्वाचनमा सर्लाही–४ बाट प्रतिस्पर्धामा छन् । काठमाडौंबाट मधेस छिरेका थापाले आफू काठमाडौं–४ बाटै सहजरुपमा निर्वाचित हुनसक्ने अवस्था भए पनि मधेस ओर्लिएको बताएका छन् ।

सर्लाही पुगेर थापाले मधेसबाट निर्वाचित भएर पार्टीको निर्णय अनुसार अगामी प्रधानमन्त्री हुने र सरकार गठन गर्ने दावी गरे । तर थापाले भने जस्तै सर्लाही–४ मा भने सहज छैन । मधेसको अवस्था, परिस्थिति, सामाजिक अवस्था लगायतका कारण उनी सजिलै बिजयी हुन्छन् भन्ने छैन् ।

यो क्षेत्रबाट २०७९ सालको निर्वाचनमा कांग्रेसवाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेर बिजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार भएका छन् । गत निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिदै बिजयी भएका सिंहले २० हजार १७ मत ल्याएका थिए ।

सिंहसंग त्यतिबेला प्रतिस्पर्धा गरेका कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत ल्याएका थिए । नागेन्द्रलाई गत निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको थियो ।

तर यो निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुका बीचमा एकीकरण गरेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट डा.रगनिस राय यादव र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रविसिंह कुशवाहा उम्मेदवार छन् । जनमत पार्टीबाट राकेश मिश्रा उम्मेदवार छन । कतिपयले थापा र सिंहको प्रतिस्पर्धा हुने चर्चा भए पनि मिश्राले बाजी मार्न सक्ने विश्लेषण गरिरहेका छन् ।

सिंहले २०७४ सालको चुनावमा जसपाबाट उमेदवार बनेका मिश्रलाई हराएर चुनाव जितेका थिए भने २०७९ सालको चुनावमा कांग्रेसका नागेन्द्र कुमारलाई हराएर सांसदमा विजयी भएका थिए ।

प्रस्तावित दुई प्रधानमन्त्रीकै बीच मुख्य प्रतिस्पर्धा

एमालेबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवार हुन । रास्वपाबाट वालेन शाहलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ ।

एमालेबाट ओली र रास्वपाबाट शाहलाई प्रधानमन्त्री प्रस्ताव गरिए पनि एकजना वा दुबैजना पराजित हुने अवस्था छ । ओली र शाह दुबै झापा–५ बाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

चारपटक प्रधानमन्त्री र सात पटक झापाबाट सांसद भइसकेका ओली फेरी सांसदमा बिजयी भएर अगामी प्रधानमन्त्री बन्ने दाबी एमालेले गर्दैआएको छ । तर काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजिनामा गरेर ओलीसंग प्रतिस्पर्धामा उत्रिएका रास्वपा वरिष्ठ नेता शाह नै बिजयी हुने दावी रास्वपाको छ ।

रास्वपाले आगामी निर्वाचनबाट बहुमतसहितको सरकार गठन गर्ने र शाहलाई प्रधानमन्त्री बनाउने गरी निर्वाचनमा होमिएको छ । झापा–५ मा नेकपाले युवा नेता रञ्जित तामाङलाई मैदानमा उतारेको छ । उनको चुनावी कमाण्डर बनेका अर्का युवा नेता सुरेन्द्र बस्नेत भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका दुबै नेतालाई पराजित गरेर तामाङले यसपटक इतिहास रच्ने दाबी गर्छन् ।

कति दम छ प्रचण्डको दाबीमा ?

विभिन्न १६ दल र समूह मिलेर बनेको नेकपाले अषेषित रुपमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको आगामी उम्मेदवार भनेका छन् । नेता देव गुरुङले नेकपाले बहुमत ल्याएमा प्रचण्ड प्रधानमन्त्री हुने घोषणा गरिसकेका छन् ।

यो पार्टीमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल पूर्वप्रधानमन्त्री छन् । प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवार छन भने नेपाल रौतहट १ बाट उम्मेदवारी दिएका छन् । खनालले यो निर्वाचनमा उम्मेदवारी दिएका छैनन् ।

३ पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड यसपटक गोरखा छाडेर रुकुम पूर्वबाट प्रतिस्पर्धा गर्दैछन् । हरेक संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गरेर प्रतिस्पर्धा गर्दै आएका प्रचण्ड नेतृत्वको दल एकलै बहुमत ल्याउन नसके पनि गठबन्धनको सरकार बनाउने र आलोपालो प्रधानमन्त्री हुन सक्ने विश्लेषण भइरहेको छ ।

हर्कको तर्कः १०९ उम्मेदवार उठाएर प्रधानमन्त्री
पुराना दलबाट मात्रै नभई नयाँ दलबाट समेत प्रधानमन्त्रीका आकांक्षी देखिएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट उम्मेदवार भएका छन् ।

सामाजिक सञ्जालमा चर्चित छवि बनाएका हर्क श्रम अभियन्ता हुन् । उनको श्रमदानले देश बिदेशमा चर्चा कमाइरहदा यो क्षेत्रमा अन्य दलका उम्मेदवार तुलनात्मक रुपमा कम चर्चाका छन् ।

एमालेले टिकाराम लिम्बु, कांग्रेसले सुजेन्द्र तामाङ, नेकपाले सुर्य बहादुर भट्टराई र रास्वपाले गोमाम तामाङलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा हर्क जत्तिकै चर्चित छिन् रास्वपाकी गोमा । प्रधानमन्त्री बन्न हर्कलाई आफुले जितेर मात्र पुग्दैन, उनको पार्टीले बहुमत ल्याउनुपर्छ ।
१६५ मध्ये देशभरबाट १०९ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको उनको श्रम संस्कृति पार्टीले बहुमत ल्याउने गुन्जासय नै छैन । बहुमत ल्याउन प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा १३८ सिट जित्नुपर्छ । तर प्रत्यक्षतर्फ नै सबै क्षेत्रमा उम्मेदवार बनाउन नसकेको यो दलले समानुपातिकबाट बहुमतको अंकगणित जुटाउने आधार देखिदैन ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

चार यातायात व्यवसायी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार