क्यापिटल म्याक्सको कब्जामा युनाइटेड मोदी हाइड्रोपावर

काठमाडौं । सेयर कारोबारमा अनेक ‘छलि’ गर्दै आएको क्यापिटल म्याक्स (ब्रोकर नं६२)ले कारोबारमा पनि युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य बढाउन चलखेल गरेको देखिएको छ । उसले आइतबार ४० प्रतिशतभन्दा बढी कारोबार आफूलगायतबाट मात्र गरेर युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारको दिनभन्दा २ दशमलव ६९ प्रतिशतले बढाएर प्रतिसेयर मूल्य ६ सय ४८ रुपैयाँ पु-याएको छ ।

सेयर लगानीकर्ताको भाषामा यस्तो चलखेललाई कमजोर सूचक र ‘लोक्याप’ भएका कम्पनीको सेयर मूल्य उचाल्ने ‘ट्रेन्ड’ भनिन्छ । कमजोर कम्पनीको सेयर मूल्य बढाउन केही व्यक्ति तथा ब्रोकर कम्पनीले गरेको यस्तो गलत क्रियाकलापले समग्र सेयर बजार नै बिगार्ने छ ।

बजारमा अस्वभाविक रूपमा ‘लोक्याप’ कम्पनीको सेयर मूल्य बढाउन यस्ता ‘ट्रेडर’ हावी हुँदा अहिले मोदी हाइड्रोपावरजस्ता कमजोर वित्तीय अवस्था भएका कम्पनीको सेयर मूल्य अकासिएको छ । आइतबारको कारोबारमा पनि क्यापिटल म्याक्स (ब्रोकर नं ६२)को चलखेल भएको प्रस्ट देखिएको छ । यसदिन ९५० चोटी कारोबार हुँदा क्यापिटल म्याक्स नै चलमलाएको देखिएको छ ।

कुल ३५ लाख १५ हजार कित्ता होल्ड गरेर बसेको क्यापिटल म्याक्सले आइतबारमात्रै २ लाख ५३ हजार ६ सय ३८ कित्ता किनबेच गरेको देखिएको छ । क्यापिटल म्याक्सको पारदर्शिता र जवाफदेहिताको अभावले ब्रोकर क्षेत्रप्रति नै अविश्वास बढ्न सक्ने खतरा छ ।

क्यापिटल म्याक्स सेक्युरिटिज, अर्थात् ब्रोकर नम्बर ६२, युनाइटेड मोदीको सेयर संरचनामा सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा देखिएको छ । जनवरी २०२६ सम्मको तथ्यांकअनुसार ब्रोकर ६२ का ग्राहकसँग करिब ३५ लाख १५ हजार कित्ता सेयर छन् । दोस्रो ठूलो ‘होल्डिङ’ भएको ब्रोकर नम्बर ३९ सँग करिब १ लाख ६० हजार कित्तामात्र रहेको देखिन्छ । यसले ब्रोकर ६२ सँग दोस्रो ठूलो खेलाडीभन्दा २१ गुणा बढी सेयर केन्द्रित भएको स्पष्ट पार्छ ।

कुल सूचीकृत १ करोड २३ लाख कित्ता सेयरमध्ये करिब २८ प्रतिशत हिस्सा एउटै ब्रोकर नेटवर्कमा केन्द्रित हुनु सामान्य बजार व्यवहार होइन । सेयर बजारका अनुभवी विश्लेषक यस अवस्थालाई ‘पोखरीको ह्वेल’सँग तुलना गर्छन्, जहाँ एउटा ठूलो खेलाडीले सानो बजारको दिशा नै नियन्त्रण गर्न सक्छ ।

सेयर बजारको सिद्धान्तअनुसार जब कुनै एक समूहले फ्लोटिङ स्टकको झण्डै ३० प्रतिशत हिस्सा ‘लक’ गर्छ, तब आपूर्तिमा प्रत्यक्ष नियन्त्रण सम्भव हुन्छ । यदि त्यस्तो समूहले सेयर बेच्न मानेन भने, बजारमा कृत्रिम अभाव सिर्जना हुन्छ र बाँकी थोरै उपलब्ध सेयरका लागि खरिदकर्ताले उच्च मूल्य तिर्न बाध्य हुन्छन् । युनाइटेड मोदीको सेयरमा देखिएको मूल्य स्थायित्व यही आपूर्ति नियन्त्रणको परिणाम हुनसक्ने विश्लेषण गरिएको छ ।

यही कारोबारको केन्द्रमा क्यापिटल म्याक्स (ब्रोकर नं ६२) बारम्बार देखिन थालेपछि आलोचना चुलिएको हो । विभिन्न कारोबार सत्रमा क्यापिटल म्याक्समार्फत ठूलो परिमाणमा सेयर किनबेच भएको देखिन्छ । एउटै ब्रोकरमार्फत निरन्तर उच्च भोल्युम हुनु संयोग मात्रै हो कि संगठित रणनीति भन्ने प्रश्न उठेको छ । नियामक निकायले स्पष्ट जवाफ नदिँदा बजारमा आशंका झनै गहिरिएको छ ।

युनाइटेड मोदीको सेयरमा देखिएको गतिविधिले भित्री सूचनामा आधारित कारोबार (इनसाइडर ट्र ेडिङ) को आशंका पनि जन्माएको छ । कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध भएका व्यक्तिले अग्रिम सूचना प्रयोग गरी सेयर किनेको र पछि मूल्य बढेपछि बजारमा बेच्ने रणनीति अपनाइएको हुनसक्ने अनुमान गरिएको छ । यस्ता गतिविधि पुष्टि भएमा यो गम्भीर कानुनी उल्लंघन हुनेछ ।

सतहमा हेर्दा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड आइतबार नेप्से बजारको ‘स्टार स्टक’जस्तै देखियो । उच्च मूल्यसँगै आइतबार मात्रै ४ लाख ७७ हजा ८ सय ६७ कित्ता सेयर कारोबार भएको छ । आइतबारमात्रै युनाइटेड मोदीको ३० करोड १४ लाख ७९ हजार ८ सय ८ रुपैयाँको कारोवार भएको छ ।

कारोबारमा कम्पनीको सेयर मूल्य २.६९ प्रतिशतले बढ्दै प्रतिकित्ता ६४८ रुपैयाँमा बन्द भयो । यो कम्पनीको ५२ साताकै उच्च विन्दु हो । यो मूल्य वृद्धिलाई कम्पनीको वित्तीय आधार, आम्दानी क्षमता र दीर्घकालीन सम्भावनासँग जोडेर हेर्दा त्यहाँ गम्भीर प्रश्नहरू उब्जिएका छन् ।

मूल्यमा वृद्धि अस्वभाविक
आइतबार युनाइटेड मोदी हाइड्रोपावरको सेयर ६२२ रुपैयाँदेखि ६४८ रुपैयाँसम्म कारोबार भयो । ३० दिनको औसत कारोबारभन्दा करिब तीन गुणा बढी, ४ लाख ७७ हजार कित्ता सेयर किनबेच हुनु स्पष्ट रूपमा ‘बुलिस सेन्टिमेन्ट’को संकेत हो । १ वर्षमै करिब ९१ प्रतिशत मूल्य बढिसक्नुले यस सेयरलाई पछिल्लो समय ‘मोमेन्टम स्टक’का रूपमा उभ्याएको छ ।

तर बजारमा मोमेन्टम बलियो हुनु सधैं कम्पनी बलियो हुनुको प्रमाण हुँदैन । कम्पनीको हालको ईपीएस ६.२३ रुपैयाँ मात्र छ । यही आम्दानीका आधारमा गणना गर्दा कम्पनीको पीइ अनुपात १०४ नाघिसकेको छ । साधारण भाषामा भन्नुपर्दा, लगानीकर्ताले आजको मूल्य तिर्दा आफ्नो लगानी फिर्ता पाउन १०० वर्षभन्दा बढी कुर्नुपर्ने अवस्था देखिन्छ । हाइड्रोपावर क्षेत्रका अन्य कम्पनीहरूसँग तुलना गर्दा युनाइटेड मोदीको पीइ अत्यन्तै महँगो तहमा पुगेको छ ।

बजारले कम्पनीको भविष्यमा तीव्र आम्दानी वृद्धि हुने अपेक्षा गरिरहेको देखिए पनि, हालसम्मका वित्तीय विवरणले त्यो अपेक्षा पुष्टि गर्दैनन् । कम्पनीको बुक भ्यालु प्रतिकित्ता करिब १०९ रुपैयाँ छ । तर बजारमा यसको कारोबार ६४८ रुपैयाँमा भइरहेको छ । अर्थात् पीबी अनुपात १८.६७ पुगेको छ । यो अवस्था दीर्घकालीन लगानीकर्ताका लागि गम्भीर चिन्ताको विषय हो ।

– सय वर्षको पीई रेसियो : कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) जम्मा ६.२३ रुपैयाँमात्र छ । यस आधारमा ६४८ रुपैयाँ लगानी गर्दा लगानीकर्ताले आफ्नो सावाँ रकम फिर्ता पाउन सय वर्षभन्दा बढी कुर्नुपर्ने देखिन्छ ।
– मूल्य र नेटवर्थमा ६ गुणाको अन्तर : कम्पनीको वास्तविक नेटवर्थ (बुक भ्यालु) १०९ रुपैयाँमात्र भए पनि बजारमा यसको कारोबार करिब ६ गुणा बढी मूल्यमा भइरहेको छ, जुन वित्तीय आधारमा पुष्टि हुँदैन ।
– ब्रोकर नं ६२ को ‘कर्नरिङ’: युनाइटेड मोदीको कुल सेयरमध्ये करिब २८ प्रतिशत (३५ लाख कित्ता) हिस्सा ब्रोकर नं ६२ (क्यापिटल म्याक्स)मा केन्द्रित देखिएको छ । यसले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य नियन्त्रण (कर्नरिङ) गरिएको आशंका बढाएको छ ।
– ६६ प्रतिशतभन्दा बढी डुब्ने जोखिम : हाइड्रोपावर क्षेत्रको औसत मूल्यांकनका आधारमा कम्पनीको उचित मूल्य करिब २१८ रुपैयाँ देखिन्छ । तसर्थ, हालको ६४८ रुपैयाँमा सेयर किन्दा लगानीकर्ताले ६६ प्रतिशतभन्दा बढी (प्रतिकित्ता ४३० रुपैयाँ) गुमाउने उच्च जोखिम छ ।
– फ्लोर सिटमा शंकास्पद गतिविधि : आइतबारको कुल कारोबारको ४०प्रतिशत बढी कारोबार ब्रोकर ६२ कै संलग्नता देखिनु र दोस्रो ठूलो ब्रोकरभन्दा २१ गुणा बढी सेयर होल्डिङ हुनुले बजारमा अस्वाभाविक चलखेलको संकेत गर्छ ।
– साना लगानीकर्ता फस्ने डर : ठूलो हिस्सा ओगटेर बसेको ‘ह्वेल’ (ब्रोकर ६२)ले नाफा सुरक्षित गर्न सेयर बिक्री सुरु गर्नासाथ बजारमा पहिरो जानसक्ने र उच्च मूल्यमा किनेका साना लगानीकर्ता नराम्ररी फस्ने खतरा औल्याइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा भएका घटनाहरुको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : साह