प्रहरीविरुद्ध सुसाइड नोट लेख्दै महिलाद्वारा आत्महत्या

डडेलधुरा । श्रीमानले विदेशमा कमाएको १५ लाख रुपैयाँ नगद र सुन एक जना प्रहरीले हिनामिना गरेको आरोप लगाएर दुई बच्चाकी आमाले झुन्डिएर आत्महत्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय डडेलधुरा परिसरसँगै जोडिएको घरमा दुई बच्चाकी आमाले शुक्रबार बिहान झुन्डिर आत्महत्या गरेकी थिइन् । सामाजिक सञ्जालमा उनले प्रहरी कार्यालयमा सवारी चालक रहेका एक जनाको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि हाल सवारी चालक प्रहरी पक्राउ परेका छन् । मृतका दुई छोरा अनाथ भएका छन् । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–४ खलंगामा शुक्रबार एक महिला मृत फेला परेकी थिइन् । मृत भेटिएकी महिला भागेश्वर गाउँपालिका–३ घर भई हाल जिल्ला सदरमुकाममा बसोबास गर्दै आएकी सरिता गिरी (गिरी सानी) रहेको खुलेको छ ।

उनका श्रीमान् विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका लागि नेपाल बाहिर रहेको बुझिएको छ । मृत भेटिनुअघि गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो सुसाइड नोट सार्वजनिक गरेकी थिइन् । सो नोटमा उनले जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत एक प्रहरीको
तस्बिर र भिडियोसमेत संलग्न गरेकी थिइन् ।

नोटमा उल्लेख गरिएका व्यक्ति जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरीका सवारी चालक यज्ञ साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताए । मृतक महिलाको ती प्रहरीसँग अनैतिक सम्बन्ध रहेको र लामो समयदेखि आफू मानसिक दबाबमा रहेको गिरीले उल्लेख गरेकी छन् ।

सुसाइड नोटमा पीडादायी शब्द प्रयोग गर्दै गिरीले लेखेकी छन्, ‘मलाई मर्न बाध्य बनाइस्, मरेर के गर्छस् गर भनिस् ।’ उनले आफूसँग भएको पैसा र सुनसमेत ती प्रहरीले लिएको दाबी गर्दै छोराको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन् । नोटमा लेखिएको छ, ‘मसँग भएको सबै पैसा लगिस्, आफ्नो घर बनाइस् । मैले दिएको १५ लाख रुपैयाँ मेरो छोरालाई दिनू । कसैले पढाइदेलान् । आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकिनँ, छोरा माफ गरिदिनु । तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनू ।’

डीएसपी सिंहका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीका सवारी चालक साउदलाई नियन्त्रणमा लिइएको छ । परिवारजन आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने उनले बताए । उनका अनुसार मृतक गिरीका श्रीमान् विदेशमा भएकाले शनिबार बेलुकी मात्रै जाहेरी परेपछि आइतबार बिहान शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पताल लगिएको थियो । मृतक गिरीका कान्छा ससुराले जाहेरी दिएपछि शव पोस्टमार्टमका लागि अस्पताल लगिएको हो । उनका अनुसार मृतक गिरीका १० वर्षका र ७ वर्षका छोरा छन् ।

मृतक गिरीका आफन्तका अनुसार उनका श्रीमानले घरको माथिको तला थप्न भनेका थिए । तर उनले पठाएको रकम प्रहरीका सवारी चालक साउदले लगेका थिए । सो रकम र ३ तोला बढी सुन गिरीले फिर्ता माग्दा साउदले दिएनन् । उल्टै धम्काउने गरेका थिए । यही पीडामा गिरीले आत्महत्या गरेको हुनसक्ने बुझिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 381 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको चुनावी प्रचारमा अछाममा बेहोस भई ढलेका पत्रकार सिटौलाको निधन