कपिलवस्तु। कपिलवस्तु जिल्लामा पछिल्लो छ महिनाको अवधिमा ३९ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म उक्त संख्यामा नयाँ बिरामी पहिचान भएका हुन्।
स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै महाराजगंज नगरपालिकामा ११ जना कुष्ठरोगी देखिएका छन्। नयाँ बिरामी थपिएसँगै चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्लामा कुष्ठरोगीको कुल संख्या १६७ पुगेको प्रमुख ढकालले जानकारी दिनुभयो। हाल पहिचान भएका सबै ३९ जना बिरामीको उपचार भइरहेको छ।
७३औँ कुष्ठरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा रोगको अवस्था’bout जानकारी दिँदै प्रमुख ढकालले विगतका वर्षहरूको तुलनामा कुष्ठरोगीको संख्यामा केही कमी आएको भए पनि समस्या अझै पूर्ण रूपमा समाधान नभएको बताउनुभयो।
गत आर्थिक वर्षमा कपिलवस्तु जिल्लामा १८८ जना कुष्ठरोगी फेला परेका थिए। उक्त वर्ष सबैभन्दा धेरै कृष्णनगर नगरपालिकामा २१ जनामा कुष्ठरोग देखिएको थियो। त्यस्तै, बिजयनगर गाउँपालिकामा २० जना, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा १५/१५ जना, महाराजगंज नगरपालिका र शुद्धोधन गाउँपालिकामा १३/१३ जना, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकामा ११/११ जना, बाणगंगा नगरपालिकामा ६ जना तथा मायादेवी गाउँपालिकामा ३ जना कुष्ठरोगी भेटिएका थिए।
सरकारले करिब १६ वर्षअघि नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरे पनि कपिलवस्तु लगायत केही जिल्लामा अझै पनि कुष्ठरोगी भेटिने गरेको छ। ग्रामीण क्षेत्रमा कुष्ठरोग लागेमा लुकाउने प्रवृत्ति कायमै रहेकाले समयमै उपचार नपाउँदा समस्या जटिल बन्दै गएको प्रमुख ढकालले बताउनुभयो। उहाँले कुष्ठरोगको आशंका लागेमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन सबैलाई आग्रह गर्नुभयो।
चिकित्सकहरूका अनुसार चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन सक्छ। समयमै उपचार भएमा अङ्गभङ्ग हुने जोखिमबाट समेत बच्न सकिने उनीहरूको भनाइ छ। कुष्ठरोगको औषधि देशभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा निःशुल्क उपलब्ध रहेको जनाइएको छ।
आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तु जिल्लामा नयाँ कुष्ठरोगी पत्ता लाग्ने दर प्रति एक लाख जनसंख्यामा १८.१ रहेको छ भने कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा १.६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै, नयाँ कुष्ठरोगीमध्ये ग्रेड–२ अपांगता दर २.३ प्रतिशत रहेको छ।










