प्रतिनिधिसभाको निर्वाचनः १२ बर्षपछि फर्कियो नेकपाको चुनाव चिन्ह

गुल्मी । भनिन्छ, ‘१२ बर्षपछि खोला पनि फर्किन्छ ।’ गुल्मीमा पनि नेकपाका कार्यक्रताहरुको लागि १२ बर्षपछि चुनाव चिन्ह फर्किएको छ । गुल्मीमा साविक माओवादी केन्द्रका नेता–कार्यक्रताले १२ बर्षपछि आफ्नै चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् ।

यसभन्दा अगाडी भएका दुईवटा प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस र एमालेलाई सघाएपछि गुल्मीका निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । २०७४ सालमा तत्कालिन माओवादी र एमालेबीच बाम गठबन्धन भएको थियो । जसमा जिल्लाको क्षेत्र नम्बर १ मा एमालेका प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ मा गोकर्ण विष्टलाई सघाएको थियो ।

त्यसैगरी २०७९ सालमा भएको निर्वाचनमा काँग्रेस, माआवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुको गठबन्धन भएको थियो । जसअन्तरगत माओवादीले क्षेत्र नम्बर १ मा काँग्रेसका चन्द्र भण्डारी र २ मा तत्कालिन एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई सघाउदाँ तत्कालिन माओवादी केन्द्र प्रतिनिधिसभामा गुल्मीमा उम्मेदवारबिहीन बनेको थियो ।

साविक माओवादी प्रतिनिधिसभामा मात्रै होइन्, दुईवटा प्रदेश सभामा पनि उम्मेदवारबिहीन बनेको थियो । ०७४ र ७९ मा सालमा माओवादी केन्द्रको तर्फबाट गुल्मी १ (क) मा सुदर्शन बराल तथा २ (ख) ०७४ मा दिनेश पन्थी र ०७९ मा बुद्धि जिसी उम्मेदवार बनेका थिए । तर गुल्मी १ (ख) र २ (क) मा माओवादी केन्द्र दुवै प्रदेश सभामा उम्मेदवारबिहीन बनेको थियो । ०७४ सालमा माओवादीले सघाएका दुवै उम्मेदवारले जित हाँसिल गरेका थिए । त्यस्तै ०७९ मा क्षेत्र नम्बर १ मा चन्द्र भण्डारीले जितेका थिए । क्षेत्र नम्बर २ मा भने पाँच दलीय गठबन्धन तोड्दै एमालेका गोकर्ण विष्ट निर्वाचित भएका थिए ।

साविकका माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले गत कात्तिक १९ गते एकता गरी नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको थियो । सोही पार्टीले अहिले गुल्मीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसअनुसार क्षेत्र नम्बर १ मा सुदर्शन बराल र क्षेत्र नम्बर २ मा श्रीराम महत उम्मेदवार बनेसँगै गुल्मीमा साविक नेकपा माओवादी केन्द्रका नेता कार्यक्रताले १२ बर्षपछि आफ्नै चुनाव चिन्हमा मतदान गर्न पाउने पार्टीका केन्द्रिय सदस्य बुद्धि जिसीले जानकारी दिए । ‘यसपटक दुवै क्षेत्रमा हाम्रै उम्मेदवार छन् ।’ नेता जिसीले भने, ‘पार्टीले भ्रष्टाचारबिरोधी काम गरेकोमा मतदाता हामीप्रति उत्साहित छन् ।’

यस्तो छ ७९ को निर्वाचनको अंकगणित
०७९ सालमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको पाँचदलिय गठबन्धनबाट क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । उनले ३३ हजार सात सय ७४ मत ल्याउदा एमालेका प्रदिप कुमार ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा समानुपातिकतर्फ एमालेले २८ हजार चार सय ५३, काँग्रेसले २३ हजार चार सय १३, रास्वपाले आठ हजार एक सय ११६, तत्कालिन माओवादी केन्द्रले छ हजार दुई सय ५० र एकीकृत समाजवादीले दुई सय ५६ मत प्राप्त गरेको थियो । अहिले यस क्षेत्रमा नेकपाका सुदर्शन बरालसँगै एमालेबाट प्रदिप ज्ञवाली, काँग्रेसबाट चन्द्र भण्डारी र रास्वपाबाट सागर ढकाल उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट २८ हजार चार सय ७६ मत ल्याउदैँ विजयी भएका थिए । उनका प्रतिस्पर्धी पाँचदलीय गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्र २६ हजार चार सय ४१ मत ल्याएकी थिइन् । समानुपातिकतफ यस क्षेत्रमा एमालेले २५ हजार एक सय ३०, काँग्रेसले १८ हजार चार सय ५१, तत्कालिन माओवादी केन्द्रले पाँच हजार चार सय ३७, रास्वपाले चार हजार दुई सय ६३ र एकीकृत समाजवादीले दुई हजार चार सय ७० मत प्राप्त गरेको जिल्ला निर्वाचन आयोगले जनाएको छ । यस क्षेत्रमा अहिले नेकपाका श्रीराम महतसँगै एमालेका गोकर्ण विष्ट, काँग्रेसका भुवन प्रसाद श्रेष्ठ र रास्वपाबाट गोविन्द पन्थी लगायत अन्य उम्मेदवारहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै