काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक नियुक्तिमा तर मार्दै विभिन्न जिम्मेवारी हात पारिरहेका सुरेन्द्र पौडेललाई उदयपुर सिमेन्टमा ४६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । उनले उद्योगका लागि क्लिंकर खरिदमा भ्रष्टाचार गरेको आयोगको निष्कर्ष छ ।
कर र नियुक्तिमा ‘तर मार्ने’ अदालती कठघरामा
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्दे शक एवं नेपाल पुनर्बिमा कम्पनीका हालका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध आइतबार अख्तियारले विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको हो । उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक रहेका पौडेल, निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काङ्खले, तत्कालीन उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, तत्कालीन क्लिंकर उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरिप्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख रामबहादुर जीसीविरुद्ध मुद्दा दायर गरिएको छ ।
उनीहरूले आर्थिक वर्ष २०७४–०७५ देखि क्लिंकर आयात गरेको परिमाणभन्दा धेरै देखाएर ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ सार्वजनिक सम्पत्ति क्लिंकर हिनामिना, हानि नोक्सानी तथा मासेको तथ्य स्थापित भएको अख्तियारले जनाएको छ । अख्तियारले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २ सय ४२ रुपैयाँ, साहविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ, काङ्खलेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रुपैयाँ असुल उपर दाबी गरेको छ ।
यस्तै, आरोपित अन्यहरूमा रहेका लाल, साह, पौडेल, अधिकारी र जीसीविरुद्ध जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ बिगो दाबी गरिएको छ आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । चूडामणि प्रकरणमा विशेषज्ञ झिकाउन आदेश कर फस्र्यौट प्रकरणमा भ्रष्टाचार भएको आरोपमा मुद्दा खेपिरहेका तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्दे शक चूडामणि शर्मासहितको मुद्दामा विशेषज्ञ झिकाउन आदेश भएको छ ।
शर्मासहित तीन जनाविरुद्धको राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले आइतबार विशेषज्ञ झिकाउने आदेश दिएको हो । शर्माविरुद्ध अख्तियारले गत २५ असारमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले विशेषज्ञ झिकाउने आदेश दिएको हो ।
आदेशमा महालेखा परीक्षकको कार्यालय, आन्तरिक राजस्व विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विशेषज्ञ झिकाउन भनिएको छ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा, कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालले १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय २४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेको छ ।
पतञ्जलि काण्डमा साक्षी बुझ्न माधव नेपाललाई ताकेता
पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा आरोपित पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाललाई साक्षी बुझ्न ताकेता गरिएको छ । भ्रष्टाचार मुद्दामा साक्षी बुझ्न विशेष अदालतले आइतबार आदेश दिएको हो । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पूर्वप्रधानमन्त्री नेपालसहित प्रतिवादीलाई साक्षी बुझ्ने आदेश दिएको हो ।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको थियो । तामेलीमा राखिएको फाइल उधिनेर मुद्दा अघि बढाएको अदालतले अख्तियारबाट तामेली निर्णयको फाइल आएसँगै आइतबार पेसी तोकेको थियो ।
आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा गत २२ जेठमा मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ ।
तत्कालीन प्रधानमन्त्रीको है सियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ ।
पूर्वप्रधानमन्त्री नेपालसहितका प्रतिवादी ३ सय १४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
सम्बन्धित समाचार
रास्वपाबाट आशिका तामाङ उम्मेदवार
सञ्चारमन्त्री जगदीश खरेल राजीनामा दिँदै
ईश्वर पोखरेल काठमाडौं ५ बाट निर्वाचन लड्ने
शिक्षामन्त्री महाविर पुनले पनि दिए राजीनामा
कार्की आयोगको प्रतिवेदन बुझ्न सरकारको आनाकानी
प्रतिवेदन कार्यान्वयन टार्न फेरि थपियो कार्की आयोगको म्याद
राष्ट्रियसभाको निर्वाचनमा एमालेकी उम्मेदवार भण्डारी विजयी
रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना






