दैलेख २ मा दिक्पाल–लक्ष्मी फेरि आमने सामने

सुर्खेत । २०४८ यताका संसदीय निर्वाचनहरुमा द्विपक्षीय प्रतिष्पर्धा हुँदै आएको दैलेख २ मा यसपटक पनि कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनाधार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रभाव क्षेत्र कमजोर रहेकाले यस क्षेत्रमा पुनः कांग्रेस र एमालेबीच भिडन्त हुने देखिएको हो ।

यस क्षेत्रमा कांग्रेसका दिक्पालकुमार शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार छन् । शाही निवर्तमान सांसद हुन् । उनले २०७९ को निर्वाचनमा पोखरेललाई झिनो मतान्तर उछिन्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । तत्कालिन वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार बनेका शाहीले उक्त निर्वाचनमा २० हजार १८३ मत ल्याएका थिए भने पोखरेलले २० हजार ०३० मत । अहिले फेरी शाही र पोखरेल चुनावी मैदानमा आमनेसामने भएका छन् । शाही जीत दोहो¥याउने रणनीतिमा छन् भने पोखरेल अघिल्लो हारको बदला लिने दाउमा देखिन्छन् ।

दुवै उम्मेदवारले आ–आफ्नो सांगठनिक बल र आफूले गरेका कामको माध्यमबाट चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेस उम्मेदवार शाही जनताले पाँच वर्षका लागि आफूललाई जिताएर पठाएको भएपनि कार्यकाल पुरा बिताउन नपाएकाले यसपटक पुनः सहानुभूतिको मत पाउने बताउँछन् । ‘३२ महिनामात्रै सांसदको रुपमा बिताउन पाएँ, थुपै्र विकास निर्माणका योजनाहरु पारेको छु, केही दीर्घकालिन विकासका योजनाहरु पनि छन् तीनलाई पुरा गर्नुछ,’ उनी भन्छन्, ‘अहिले पार्टी पनि रुपान्तरण भएको अवस्था छ, पार्टी सभापतिलाई प्रधानमन्त्रीका रुपमा घोषणा गरेका छौं, बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएकाले मलाई जनताले पनि मलाई जिताउँछन् भन्ने विश्वास छ ।’ पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको रुपमा घोषणा गरेर निर्वाचनमा जाँदा देशैभर उत्साह छाएको उनको टिप्पणी छ । शाहीले यसपटक पनि आफ्नो मुख्य प्रतिष्पर्धा एमालेसंग हुने दाबी गरे ।

एमाले उम्मेदवार पोखरेलले दुल्लू स्मार्ट सिटी, पेट्रोलियम अन्वेषणजस्ता मेगा प्रोजेक्ट एमालेकै पालामा सुरुवात गरेकाले ती योजना पुरा गर्न एमाले नेतृत्वकै सरकार बन्नुपर्ने बताउँछन् । ‘दैलेख २ को सुखदुखमा लामो समयदेखि भिजेको छु, विगतमा चुनाव हार्दा होस् या जित्दा निरन्तर जनतामाझ छु,’ उनी भन्छन्, ‘दैलेखको विकासका साथै हरेक लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर नेतृत्व गरेका कारण यसपटक जनताले न्याय गर्नेछन् भन्ने विश्वास छ ।’ उनी २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई हराउँदै यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कांग्रेस उम्मेदवार शाही २०३६ सालदेखि नै विद्यार्थी राजनीतिमार्फत कांग्रेससंग जोडिएका थिए । उनी नेपाल शिक्षक संघको संस्थापक जिल्ला उपसभापति हुन् । २०४८ मा पार्टीको जिल्ला उपसभापति, १३ र १४ औं महाधिवेशनमा प्रतिनिधि भएका थिए । उनी हालै सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । २०७४ को निर्वाचनमा दैलेख २ (ख) बाट कर्णाली प्रदेशसभा सदस्य पदमा उम्मेदवार बनेका उनी एमालेका राजबहादुर शाहीसँग पराजित हुन पुगे । २०४४ सालमा निर्वाचन उपयोग गर्ने नीति अनुरुप जम्बुकाँध गाउँ पञ्चायतको प्रधान लडेपनि जित निकाल्न सकेनन् ।

२०४६ को राजनीतिक परिवर्तनपछि शिक्षकको जागिरबाट राजिनामा दिएर पार्टीको पूर्णकालिन राजनीतिमा होमिएका शाहीसंग २०४९–२०५४ मा जिल्ला विकास समितिको सदस्य (क्षेत्रपाल) भएर काम गरेको अनुभव छ । २०५५ सालमा माओवादी सशस्त्र द्वन्द्वका कारण विस्थापित भएका थिए । सशस्त्र द्वन्द्वकै बेला विस्थापित भएर नेपालगञ्ज बस्दा उनले निर्माण कम्पनीको इजाजत लिएका थिए । निर्माण व्यवसाय र राजनीतिलाई संगसंगै अघि बढाएका शाहीले अहिले भने छोराले कारोबार सम्हाल्दै आएको बताएका छन् ।

एमाले उम्मेदवार पोखरेल २०४९ स्थानीय निकाय निर्वाचनमा छिउडीपुसाकोट गाविस अध्यक्ष, २०४३ सालमा निर्वाचन उपयोग गर्ने पार्टी नीति अनुसार छिउडीपुसाकोट गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएका थिए । एमाले दैलेखको जिल्ला उपसचिव, भेरी अञ्चल कमिटी सदस्य, केन्द्रीय सदस्य हुँदै निवर्तमान पोलिटब्युरो सदस्य, केन्द्रीय संगठन विभागको सदस्य भएर पार्टी संगठनमा काम गरेको अनुभव छ । राजनीतिमा होमिनुअघि उनी शिक्षक थिए । २०४६ र २०६२–६३ को जनआन्दोलनमा जिल्लास्तरीय संयुक्त आन्दोलन परिचालन समितिको संयोजक रहेका काम गरेका उनले पञ्चायतकालमा पटक–पटक जेल जीवन बिताएका थिए ।

दैलेख २ मा कांग्रेस र एमालेका अतिरिक्त अन्य दलका उम्मेदवारहरु पनि मैदानमा छन् । नेकपाका योगेन्द्र शाही, रास्वपाका बखतबहादुर शाही, राप्रपाकी बबिता शाही लगायत उम्मेदवार छन् । योगेन्द्र प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष हुन भने रास्वपाका शाही हाइड्रो इन्जिनियर हुन् । एमाले पृष्ठभूमिका युवा नेता योगेन्द्र २०७९ को निर्वाचन अघि तत्कालिन माओवादी केन्द्र प्रवेश गरेका थिए ।

त्यसअघि एमालेमा माधव नेपाल खेमामा थिए । योगेन्द्र राष्ट्रिय युवा नीतिका प्रमुख मस्यौदाकार हुन् । नेकपा र रास्वपा भने कांग्रेस र एमालेका असन्तुष्ट मत तान्दै जित निकाल्ने दाबी गर्छन् । तर विगतका निर्वाचन परिणाम, उम्मेदवार र ती पार्टीको स्थानीयस्तरमा माहौल हेर्दा नेकपा र रास्वपालाई जित निकाल्न सहज छैन् । दैलेख २ मा रास्वपाले आक्रामक प्रचार अभियान थालेपनि बहुसंख्यक मतदाताको रुझान अझैं कांग्रेस एमालेमै रहेको छ । कांग्रेस र एमाले भने आफूहरुको असन्तुष्ट मत रास्वपामा जान सक्ने स्वीकार्छन् । तर त्यो उल्लेख्य संख्यामा नजाने उनीहरुको जिकिर छ ।

यस्तो छ विगतको निर्वाचन परिणाम
विगतका निर्वाचन परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा दुल्लू नगरपालिका, भैरवी गाउँपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, ठाँटीकाँध गाउँपालिका र आठबिस नगरपालिका पर्दछन् । यहाँ ८१ हजार ५०३ मतदाता छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रमा एमालेले १७ हजार ३१७ मत ल्याएको थियो । कांग्रेसले १५ हजार ४०४, माओवादी केन्द्रले ६ हजार ३५४, नेमकिपाले ३ हजार ८९८, रास्वपाले ९०५ र राप्रपाले ५१८ मत ल्याएका थिए ।

त्यस्तै, २०७४ मा एमालेले १८ हजार ३४८, कांग्रेसले १५ हजार ३४७, माओवादी केन्द्रले ३ हजार ५४६, नेमकिपाले ३ हजार १७९ र राप्रपाले ३११ समानुपातिक मत प्राप्त गरेका थिए । यस क्षेत्रमा २०४८ मा कांग्रेसका रंगबहादुर शाही, २०५१ मा नेमकिपाका विनोदकुमार शाह, २०५६ मा कांग्रेसका शिवराज जोशी, २०६४ मा एमालेका राजबहादुर बुढा, २०७० मा एमालेका लक्ष्मीप्रसाद पोखरेल, २०७४ मा एमालेका राजबहादुर बुढा र २०७९ मा कांग्रेसका दिक्पालकुमार शाहीले जितेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

दैलेख २ मा दिक्पाल–लक्ष्मी फेरि आमने सामने