धनगढी । २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट चुनाव लडेर जित हात पारेका चर्चित तीन जना मेयरमध्ये दुई जना राजीनामा दिएर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिसकेका छन् । तर स्वतन्त्रबाट चुनाव लडेर जित हात पारेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल भने आफूले जनताले दिएको पाँच वर्षे कार्यकाल पूरा गर्ने बताएका छन् ।
मेयर हमालको भनाई छ अन्यको रोजाइमा पार्टी परेपनि आफ्नो रोजाइमा जनता परेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो तर्क सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्– ‘सबैले पार्टी रोजे, मैले जनता राजेँ ।’
स्वतन्त्रबाट चुनाव लडेर जित हात पारेका काठमाडौं महानगरका मेयर बालेन शाहले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बनेका छन् । उनी झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्व चुनावी मैदानमा छन् । त्यस्तै धरान उपमहानगरका मेयर हर्क साम्पाङ साम्पाङ श्रम संस्कृति पार्टी खोल्दै सुनसरी क्षेत्र नम्बर–१ मा उम्मेदवार बनेका छन् ।
मेयर हमाल भने आफूलाई धनगढीका जनताले पाँच वर्ष मेयर पदका लागि म्यान्डेट दिएको बताउँदै सोही जिम्मेवारी निभाएर बस्ने बताएका छन् ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा मेयर हमालले नेपाली कांग्रेसका नृप वडलाई पराजित गरी मेयरमा विजयी भएका थिए । हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत ल्याएका थिए । तेस्रो भएका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याएका थिए ।







