काठमाडौं । कोभिड–१९ को महामारीमा विश्व नै अक्रान्त भइरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्देश्यले विश्व खेलकुद संस्थाहरूले विभिन्न कार्यक्रमलाई अगाडि सार्दै आइरहेका छन् ।
यसैक्रममा विश्व पारा पावरलिफ्टिङ अर्गनाइजेसनले पनि आफ्ना सदस्य राष्ट्रबीच खेलाडीहरूलाई क्रियाशील राख्ने र खेल क्षमतालाई कमी हुन नदिने उद्देश्यले अनलाइन प्रतिस्पर्धा गराएको छ । अर्गनाइजेसनले दोस्रो अनलाइनल विश्वकप सिरिज आयोजना गर्दै सदस्य राष्ट्रका खेलाडीहरूलाई खेल जीवनमा सक्रिय पार्ने उद्देश्यका साथ प्रतिस्पर्धा गराएको हो ।
सिरिजमा विश्व पारा पावरलिफ्टिङ अर्गनाइजेसनमा दर्ता रहेका तीन नेपाली खेलाडीले पनि जनाएको प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । उक्त सेरिजमा नेपाली खेलाडीहरू निर्मला भण्डारीले ५५ केजी समूहमा, दुर्गामान तामाङले ८० केजी र शरद पौड्यालले ९० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका छन् । निर्मलाले पहिलो लिफ्टमा ४५ केजी, दोस्रोमा ५० र तेस्रोमा ५५ केजी भार वहन गरेकी थिइन् । यस्तै, पौड्यालले पहिलोमा ८५ केजी, दोस्रोमा ९० केजी र तेस्रोमा ९५ केजी तथा तामाङले पहिलोमा ९० केजी, दोस्रोमा ९५ केजी र तेस्रोमा १०५ केजी तौल भार वहन गरेका थिए ।
कम्मरमुनिको भागमा अपांगता रहेका व्यक्तिहरूले प्रतिस्पर्धा गर्ने उक्त विश्वकप सिरिजमा नेपालसहित २० राष्ट्रका ४३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसको नतिजा २ जुनमा प्रकाशन गरिने विश्वपारा पावरलिफ्टिङ अर्गनाइजेसनले जनाएको छ । सिरिजमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूले अनलाइन वरीयता प्राप्त गर्नुका साथै प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रत्येक राष्ट्रका दुई खेलाडीको दुई मिनेटको भिडियो क्लिप तयार गरि पठाउनुपर्ने र उक्त क्लिपका आधारमा खेलाडीहरूको नतिजा प्रकाशित गर्ने नेपाल मास्टर्स एथलेटिक्स एसोसिएसनका महासचिव भैरव शाहीले जानकारी गराएका छन् । उक्त प्रतिस्पर्धामा सेनाका राजेन्द्र भण्डारी र सेनाकै अर्का खेलाडी डा. गोपाल महर्जनले सहभागिता जनाएका छन् ।






