काठमाडौँ। नेपाली काँग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार गरेको प्रतिबद्धता दस्ताबेज पार्टीको केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
बुधबार भर्चुअल माध्यमबाट सम्पन्न बैठकले उक्त दस्ताबेज पारित गरेको जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले दिएका छन्। बैठक पार्टी सभापति गगन थापा को अध्यक्षतामा बसेको थियो।
पार्टीले अनुमोदित दस्ताबेजलाई सार्वजनिक गर्ने कार्यक्रम पनि तय गरेको छ। सोहीअनुसार मधेस प्रदेशको राजधानी जनकपुर मा आजै औपचारिक रूपमा सार्वजनिक गरिने तयारी गरिएको जनाइएको छ। निर्वाचन लक्षित नीतिगत प्राथमिकता, विकासका कार्यक्रम तथा शासनसम्बन्धी प्रतिबद्धता समेटिएको उक्त दस्ताबेज पार्टी संरचनाभित्र छलफलपछि अनुमोदन गरिएको बताइएको छ।
गगन मुभमेन्टले राष्ट्रव्यापी प्रभाव
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा काँग्रेस अगाडि आउँदै गरेको दाबी गरेका छन्। पार्टी मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस विशेष महाधिवेशन पछाडि नवीन भएर आएको जिकिर गरेका छन्।
बाहिरको धेरै हल्लाखल्लामा काँग्रेसको विश्वास नगर्ने भन्दै पार्टी सभापति गगन थापा अब प्रधानमन्त्री बन्ने गरी एउटा मुभमेन्ट राष्ट्रव्यापी रूपमा अघि बढिसकेको बताए।






