कोरोना भाइरसको संक्रमण दर घट्यो

हुबे । चीनमा फैलिएको नयाँ कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु हुबे प्रान्तमा एकैदिन १ सय ३ जनाको मृत्यु भएको छ । सो प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक संख्या हो । यससँगै कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १ हजार १८ पुगेको छ ।

चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीलाई कारबाही गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा सो आयोगका प्रमुख घटुवामा परेका छन् । त्यसैगरी चन्दा हिनामिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई समेत पदमुक्त गरिएको छ ।

कोरोना भाइरसका कारण सोमबार एकैदिन १ सय ३ जनाको मृत्यु भएको भए पनि नयाँ संक्रमणको संख्या अघिल्लो दिनको तुलनामा २० प्रतिशतले घटेको छ । हुबेको स्वास्थ्य आयोगले सोमबार सो प्रान्तमा २ हजार ९७ जनामा नयाँ संक्रमण भएको पुष्टि गरेको छ । अघिल्लो दिन २ हजार ६ सय १८ जनामा नयाँ संक्रमण भएको थियो ।

अहिले चीनमा कोरोना भाइरसको संक्रमण भएका कम्तीमा ४२ हजार ६ सय ६७ पुगेको छ भने अन्य ३० देशमा संक्रमण फैलिएको छ । विश्वभर कोरोना भाइरसका कारण ४३ हजार १ सय ३८ जना संक्रमित भएका छन् । यसैगरी ४ हजार २ सय ८४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो संकट हो । यो संकट नियन्त्रणका लागि सघाउन विश्व स्वास्थ्य संगठनले पठाएको चिकित्साशास्त्रीको टोली बेइजिङ पुगेको छ । चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा कोरोना भाइरस संक्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूसँग भेट गरेका छन् । तर, उनी अहिलेसम्म हुबे गएका छैनन् ।

सीले सो भाइरस नियन्त्रण गर्न थप निर्णायक उपाय आवश्यक भएको टिप्पणी गरे । ‘यो प्रकोपलाई अन्ततः परास्त गर्न हामीसँग आत्मविश्वास हुनैपर्छ,’ उनलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

हुबे प्रान्तको स्वास्थ्य आयोगले सोमबार १ सय ३ जनाको मृत्यु भएको जनाएको छ । आइतबार मृत्यु हुनेको संख्या ९७ थियो । आयोगका अनुसार हुबेमा मात्र ३१ हजार ७ सय २८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएका बिरामी छन् । हुबेमा बिरामीको मृत्युदर ३ प्रतिशत रहेको छ ।

चीनभरि कुल मृतकको संख्या १ हजार १८ पुगेको छ । चीनबाहिर दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणका कारण मारिएका मध्ये तीन चौथाइको मृत्यु सो संक्रमण फैलिन सुरु भएको मानिएको वुहानमा नै भएको छ ।

कोरोना भाइरसको प्रकोप सुरु भएयता हप्तौंदेखि १ करोड १० लाख मानिस बस्ने सो सहर बन्दजस्तै छ । चिनियाँ नेतृत्वले प्रारम्भिक चरणमा प्रकोप ढाकछोप गर्न खोजेको आरोप लागेको छ । तर, विश्व स्वास्थ्य संगठनले चीनको प्रयासको प्रशंसा गरेको छ । बेलायतमा थप चार जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । अहिलेसम्म त्यहाँ आठ जनामा कोरोना भाइरस भेटिएको छ ।

सरकारले कोरोना भाइरसका कारण गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको एउटा पानीजहाजका थप ६५ यात्रुमा संक्रमण भएको पाइएको छ अर्थात् ३ हजार ७ सय यात्रुमध्ये १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण जनस्वास्थ्यमा संकट उत्पन्न भएको घोषणा गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी