इनिसा विक हत्या प्रकरणः सिआईबीले थाल्यो अनुसन्धान, शव एक सातादेखि अस्पतालमै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरी इनिशा विकको रहस्यमय मृत्यु प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले औपचारिक रूपमा अनुसन्धान थालेको छ । जिल्ला प्रहरीको प्रारम्भिक अनुसन्धानपछि घटनाको थप पाटो केलाउन सीआईबीको विज्ञ टोली विहीबार सुर्खेत पुगेको हो ।

घटना सार्वजनिक भएदेखि नै व्यापक चासो र आक्रोश उत्पन्न भएपछि प्रहरीमाथि सत्यतथ्य बाहिर ल्याउन दबाब बढेको हो । वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा विकको २३ फागुनको बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा नग्न र रक्ताम्य अवस्थामा मृत फेला परेकी थिइन् । इनिशा वीरेन्द्रनगर–६ मा स्थित उषा बालबाटिका स्कूलमा कक्षा ११ मा अध्ययनरत थिइन् । परिवारका अनुसार सो दिन उनी ट्युसन पढ्न भनेर घरबाट निस्किएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको प्रारम्भिक अनुसन्धान सम्पन्न गरिसकेको छ । घटनासँग सम्बन्धित सबुत प्रमाणका आधारमा सीआईबीले थप वैज्ञानिक र प्राविधिक तवरले अनुसन्धान अघि बढाएको हो । सीआईबीले पोस्टमार्टम रिपोर्टलगायतका आवश्यक प्रमाण संकलन गरिसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार घटनासँग सम्बन्धित विद्युतीय सामग्रीहरू फरेन्सिक परीक्षणका लागि पठाइएको जानकारी दिए । पीडित र आरोपित दुवै पक्षका मोबाइल फोनलगायतका विद्युतीय सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । साथै टक्सिकोलोजिकल तथा बायोसेरोलोजिकल परीक्षण पनि भइरहेको छ । ती सबै परीक्षणको रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविक कारण’bout अन्तिम निष्कर्षमा पुग्न सकिने प्रहरीको भनाई छ ।

एसपी शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतले विज्ञ टोली गठन गरी अनुसन्धान अघि बढाइरहेको छ भने कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट आएको अर्को टोलीले पोलिग्राफ परीक्षण (झुटो बोलेको पत्ता लगाउने मेसिन) मार्फत पनि अनुसन्धान गरिरहेको छ । विस्तृत अनुसन्धानपछि मात्रै अन्य तीन बालकको संलग्नता रहे–नरहेको स्पष्ट हुने प्रहरीले जनाएको छ ।

पोस्टमार्टम रिपोर्टमा अत्यधिक रक्तश्राप भएको उल्लेख गरिएको छ । घटनास्थलबाट प्रहरीले एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा उक्त बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि अत्यधिक रक्तश्राप भएको र त्यसपछि उनी बेहोस भएको बयान दिएको प्रहरीले जनाएको छ । घटनासँग जोडिएका थप तीन जना बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । घटनास्थलबाट पक्राउ परेका बालकले इनिशा अचानक बेहोस भएपछि आफूले अन्य तीन साथीलाई बोलाएको बताएका छन् । यद्यपि पीडित परिवारले भने यसलाई स्वीकार गरेका छैनन् । परिवारले चारै जनाले सामूहिक बलात्कार गरेर हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

पीडित परिवारले २५ फागुनमा पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा किटानी जाहेरी दर्ता गराएका थिए । परिवारको जाहेरीपछि बाँकेको भेरी अस्पतालका फरेन्सिक विशेषज्ञ डाक्टर अर्विन शाक्य नेतृत्वको टोली सुर्खेत पुगेर पुनः शव परीक्षण गरेको थियो । उक्त परीक्षणबाट जबर्जस्ती करणीका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भएको र त्यसकै कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

एक सातादेखि शव अस्पतालमै
घटना भएको एक साता बितिसक्दा पनि वास्तविक तथ्य सार्वजनिक नभएको भन्दै पीडित परिवारले अझैसम्म इनिशाको शव बुझ्न मानेका छैनन् । उनीहरूले सामूहिक बलात्कारपछि हत्या भएको घटनालाई ‘रक्तश्राव’ मात्र देखाएर दोषीलाई उम्काउन खोजिएको आरोप लगाएका छन् । प्रहरीले हालसम्म विश्वस्त हुने आधार प्रस्तुत गर्न नसकेको परिवारको भनाई छ । मृतक इनिशाका परिवारले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै न्यायको गुहार गरिरहेकी छन् । हाल इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको अवस्थामा छ ।

यसैबीच, रोजगारीका लागि दुबईमा रहेका इनिशाका बुबा इन्द्रबहादुर विक छोरीको मृत्युको खबर पाएपछि नेपाल फर्किएका छन् । नेपाली सेनाबाट अवकाशप्राप्त विक ६ वर्षदेखि दुबईमा काम गर्दै आएका थिए । उनी केही महिनाअघि मात्रै बिदा सकेर दुबई फर्किएका थिए । घर पुगेपछि इन्द्रबहादुरले घटनास्थलसमेत अवलोकन गरेका छन् । उनले छोरीको योजनाबद्ध रूपमा हत्या गरिएको दाबी गर्दै न्याय नपाएसम्म शव नबुझ्ने अडान व्यक्त गरे । “पार्कबाट घना जंगलतिर लगेर विभिन्न बहानामा फकाई मेरो छोरीको हत्या गरिएको देखिन्छ, मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ” उनले भने । गुर्भाकोट नगरपालिका –६ बडाखोलीमा स्थायी बसोबास रहेको यो परिवार केही वर्षदेखि वीरेन्द्रनगर–१ मा बस्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?