सुन्दरहरैंचा (मोरङ) । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल को प्राविधिक सहयोग तथा पूर्वाञ्चल एकेडेमीको आयोजनामा मोरङको सुन्दरहरैंचा–६ स्थित विद्यालय परिसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
पूर्वाञ्चल एकेडेमीको १८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त शिविर आगामी २०८२ साल चैत २७ गते शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने बिद्यालयले जनाएको छ।
शिविरमा स्थानीय बासिन्दा, अभिभावक, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरी विभिन्न प्रकारका विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ। आयोजकका अनुसार, शिविरबाट स्वास्थ्य जाँचसँगै आवश्यक परामर्श तथा उपचार सेवा समेत प्रदान गरिनेछ।
शिविरमा उपलब्ध गराइने सेवाहरूमा जनरल मेडिसिन, स्त्री रोग, हाडजोर्नी तथा नसारोग, बालरोग, छाला रोग, नाक–कान–घाँटी, दन्त रोग, शल्यक्रिया, आँखा जाँच, रेडियोलोजी (भिडियो एक्स–रे), मुटु जाँच (ईसीजी) तथा प्रयोगशाला सेवा (रगत र पिसाब परीक्षण) लगायत रहेका छन्।
विद्यालयका प्रिन्सिपल दिपेन राईले यस्तो स्वास्थ्य शिविरले विद्यालय मात्र नभई समग्र समुदायलाई ठूलो लाभ पुग्ने बताए। उनले भने, “हामीले वार्षिकोत्सवको अवसरलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेका हौं। यस शिविरमार्फत स्थानीय अभिभावक, विद्यार्थी र सर्वसाधारणले विशेषज्ञ स्वास्थ्य सेवा निःशुल्क पाउने भएकाले यो अत्यन्त महत्वपूर्ण कार्यक्रम हो।”
उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यसैगरी, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. अशोक कोइरालाले पूर्वाञ्चल एकेडेमीसँगको सहकार्यमा आयोजना गरिने यस स्वास्थ्य शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले स्वास्थ्य सेवामा पहुँच बढाउन यस्ता शिविरहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे।
बिद्यालय ले सबैलाई समयमै उपस्थित भई स्वास्थ्य जाँच गराई लाभ लिन आग्रह गरेको छ। साथै, “रक्तदान–जीवनदान” भन्ने सन्देशसहित शिविरमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिइएको छ। स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस शिविरलाई समुदायले सकारात्मक रूपमा लिने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
सङ्खुवासभाको जिल्ला अस्पतालमा पहिलो पटक ५ शैय्याको डायलाइसिस सेवा सुरु
नेसनल प्याब्सन कोशी प्रदेशको पहिलो बैठक सम्पन्न
धनगढीमा चैत १५ गतेदेखि पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु
राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त गर्यो ‘आइएसओ’ मान्यता






