हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ । सङ्घीय सरकारले करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि मनहरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो ।
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त गरेका तीन जना कर्मचारी र अन्य प्रविधि तथा उपकरण व्यवस्थापन गरी करदाता सेवा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
अध्यक्ष कालाखेतीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने, प्यान रुपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी काम हुनेछ । यसका साथै अन्तःशुल्कसम्बन्धी इजाजत जारी तथा नवीकरण प्रक्रियाका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पालिकाबाटै गरी अन्तिम स्वीकृति आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुने अध्यक्ष कालाखेतीले बताए ।
गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन भएपछि पालिकाभित्रका करदाताहरुलाई हेटौँडा धाउनुपर्ने बाध्यता हट्नुका साथै करदातालाई समय र खर्चसमेत बचत हुने उनको विश्वास छ ।
सम्बन्धित समाचार
बागमती प्रदेशमा बढाइयो सार्वजनिक यातायातको भाडा
विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
६ दिनदेखि सम्पर्कविहीन छन् बाबुछोरी
हुम्लामा हिमपातले जनजीवन कष्टकर
प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा युट्युवर पक्राउ
बेनी अस्पतालमा दुर्घटनासम्बन्धी उद्धार र उपचार अभ्यास
पोल पुग्यो , वितरण गरिएन विद्युत
ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु






