सिन्धुली । इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा बैशाख ७ गते शंकास्पद मृत्यु भएका सुनकोशी गाउँपालिका–३ का २३ वर्षिय श्रीकृष्ण विकको मृत्यु प्रकरणले गम्भीर मोड लिएको छ ।
उक्त प्रकरणमा सत्यतथ्य छानविनको लागि न्यायिक क्षेत्रका व्यक्तिको नेतृत्वमा उच्च स्तरीय छानविन आयोग गठनको माग गर्दै पीडित पक्ष आन्दोलित भएका छन् । उनीहरुले दिनभर जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आफ्ना मागहरु सहितका प्लेकार्ड बोकेर धर्ना दिएका छन् ।
उनीहरुले पीडित परिवारलाई न्यायोचित क्षतिपूर्ति दिन, दोषीलाई कडा कानुनी कारवाहि गर्न माग गरेका छन् । उनीहरुले प्रहरी हिरासतमा ज्यान गएको र परिवारलाई मृत्यु भईसकेको लामो समयपछि मात्र जानकारी दिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
मृतककी आमा विन्दामाया विकले छोरालाई बालविवाह गरेको घटनामा बलत्कारमा मुद्दा चलाएको र शारिरिक तथा मानसिक यातना दिएर हत्या गरेको हुन सक्ने भन्दै मंगलबार प्रेस विज्ञप्ती जारी गरी न्यायको लागि अपिल समेत गरेकी थिइन् । उनले घटना भएको समय दिउँसो ४ बजे भनिएको तर आफुहरुलाई राती १० बजे मात्र जानकारी गराईएको प्रेस विज्ञप्तीमा उल्लेख गरेकी छिन् ।
आफुलाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले मानसिक दवाव दिएर लाश बुझेर छिट्टै दाहासंस्कार गराउन भनिरहेको मृतककी आमा विन्दामायाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आफुलाई दिएको दवावबाट छोराको मृत्यु प्रहरीको यातनाले भएको प्रष्ट भएको उक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनले प्रहरीले आफुलाई मृत्युको चित्तबुझ्दो कारण र प्रमाण दिन नसकेको बताउँदै राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगमा न्यायको माग गर्दै र उचित छानविनको माग गर्दै निवेदन समेत दिएका छन् ।
दलित आयोग र दलित पत्रकार संघको ध्यानाकर्षण
इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा सोमबार मृत्यु भएका श्री कृष्ण विकको मृत्यु प्रकरणमा राष्ट्रिय दलित आयोगले ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार नै विज्ञप्ती जारी गर्दै आयोगले ध्यानाकर्षण भएको जनाएको हो ।
प्रहरी नियन्त्रणमा रहेका बेला मृत्यु भएको र परिवारले न्यायकि छानविनको माग गरिरहेका बेला दलित समुदायमाथि हुने क्रुर शारीरिक र मानसिक यातनाका विगतका तथ्यहरुले यस घटनाप्रति थप चिन्ता गर्न बाध्य बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु हुनु मानवअधिकारको दृष्टिले अत्यन्त संवेदनशिल र चिन्ताजनक विषय भएको उल्लेख गरिएको छ । ‘यस्तो घटनाले कानुनी शासन, मानवअधिकार संरक्षण र राज्यप्रति नागरिकको विश्वासमाथि गम्भिर प्रश्न खडा गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।
आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटीद्वारा जारी गरिएको विज्ञप्तीमा घटनाको निश्पक्ष र पारदर्शी छानविन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरिएको छ । साथै दोषीलाई कारवाहि गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न समेत आग्रह गरिएको छ ।
यस्तै विहिबार विज्ञप्ती जारी गर्दै राष्ट्रिय दलित पत्रकार संघ सिन्धुलीले ध्यानाकर्षण भएको जनाएको छन् । संघका जिल्ला अध्यक्ष बुद्ध नेपालीद्वारा जारी विज्ञप्तीमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु हुनु कानुनी शासन, मानवअधिकारको संरक्षण तथा राज्यप्रति नागरिकको विश्वासमाथि नै गम्भिर प्रश्न रहेको उल्लेख गरिएको छ । संघले घटनालाई गम्भिरतापूर्वक लिएको बताउँदै जिम्मेवार र संवेदनशिल ढंगले विषयलाई सम्बोधन गर्न समेत माग गरेको छ ।
सिन्धुली पुग्यो दलित सांसदहरुको टोली
श्रीकृष्ण वि.कको हिरासतमा भएको शंकास्पद मृत्युको घटनापछि दलित सांसदहरुको टोली सिन्धुली पुगेको छ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनुवार, रिमा विश्वकर्मा सहितको टोली सिन्धुली पुगेको हो ।
टोलीले मृतकका परिवार तथा आफन्तहरु, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदी लगाएतसँग छलफल गरेको छ ।
परिवारसँगको छलफलमा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले न्यायका लागि आफु लागि पर्ने बताएका छन् । मृतककी आमा विन्दामाया वि.कलाई आफुले छोराको रुपमा भूमिका निर्वाह गर्ने आश्वासन समेत दिएका छन् ।
यसैबीच प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र एसपी लालध्वज सुवेदीसँग मृत्युको कारण माग गरेका छन् । यस्तै सांसदको टोलीले सिसीटिभि फुटेज, मृत्युको कारण खुल्ने प्रमाण पेश गर्न र उचित छानविन गर्न निर्देशन समेत गरेको छ । वि.क.को मृत्यु भएको हिरासतको समेत अनुगमन गरिएको बताईएको छ ।
सांसदहरुको धर्ना
इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासतमा बैशाख ७ गते रहस्यमय मृत्यु भएका सुनकोशी गाउँपालिका वडा नं. ३ का श्रीकृष्ण वि.कको न्यायका लागि सत्तारुढ दलका सांसदहरु जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बसेका छन् । उनीहरु विहीबार साँझबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना बसेका हुन् ।
विहीबार सिन्धुलीमाढी पुगेर स्थानीय प्रशासन, प्रहरी र मृतकका परिवारसँग भेटेपछि न्यायको माग गर्दै सांसदहरु नै धर्ना बसेका हुन् । धर्ना बस्ने सांसदहरुमा खगेन्द्र सुनुवार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश वि.क, खिमा विश्वकर्मा र आशिष गजुरेल रहेका छन् ।
प्रहरीको हिरासतमा दलित युवा वि.क.को शंकास्पद मृत्यु भएपछि पीडितहरु न्यायको माग गर्दै आन्दोलनमा छन् । उनीहरुले न्यायीक छानविन आयोगको माग गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी र इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुखको निलम्बनको माग गर्दै धर्ना बसेका हुन् ।
वि.कको मृत्युलाई परिवारले हत्या भएको जनाएको छ । उक्त घटनामा जिम्मेवार अनुसन्धान नगरेको भन्दै प्रतिनिधिसभा सदस्यहरु समेत आन्दोलित छन् ।
सम्बन्धित समाचार
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द
दैलेखमा प्रादेशिक महोत्सव हुँदै, स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड
बालिकालाई यौन कार्यमा लगाएको आरोपमा ४ जना पक्राउ
तराई क्षेत्रमा तातो लहरको सम्भावना
एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
प्रसूति हिंसावारे राष्ट्रियसभाको समितिमा छलफल हुने
विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन






