न्यायालयको नेतृत्वमा २०९१ सालसम्म शर्मा र सुवेदी

काठमाडौं । सर्वोच्च अदालतको चौथो बरीयताका न्यायाधीश मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकको बहुमत निर्णयबाट शर्मा भावी प्रधानन्यायाधीशमा सिफारिस भएका हुन् । परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको लिखित असहमतिबीच शर्माको नाम सिफारिस गर्दै अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाउने निर्णय भएको छ ।

परिषद्का ६ जना सदस्यमध्ये दाहाल र आङ्देम्बेले परम्परा मिचिएको लगायतका लिखित कारण जनाएर परिषद्को निर्णयमा असहमति जनाएका छन् । हालै जारी संवैधानिक परिषद् अध्यादेशमा परिषद् बैठकमा सबै सदस्य उपस्थित भएमा परिषद् अध्यक्ष (प्रधानमन्त्री)सहित तीन जनाले गरेको निर्णय सदर हुने व्यवस्था छ ।

– प्रधानन्यायाधीश नियुक्तिमा दोस्रो पटक मिचियो वरियता

– शर्माको ६ वर्षे कार्यकाल सकिदा पनि ३ वर्ष बाँकी हुन्छ फुयाँलको पदावधि

– शर्माको नेतृत्व स्वीकार गर्ने मुडमा सपना, कुमार र हरि

– न्यायाधीश हुँदै उठेको थियो शर्माको योग्यतामा प्रश्न

– बहुमतले अनुमोदन गर्दा २ सदस्यको लिखित असहमति

परिषद्ले प्रधानन्यायाधीशको रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजनीतिक दलप्रति वफादार रहेकोलगायतका आरोप लगाउँदै चौथो बरीयताका शर्माको नाम सिफारिस गरेको हो ।

परिषद्ले दोस्रो पटक वरियता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको हो । यसअघि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई अस्वीकार गर्दै तेस्रो वरियताका गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

परिषद्ले अस्वीकार गरेका सपना एमालेको तर्फबाट सांसद भएकी थिइन् । रेग्मी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनको नेतृत्व तहमा काम गर्नुका साथै कांग्रेस क्रियाशील सदस्य थिए । फुयाँल एमालेका संगठित सदस्यका साथै केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए ।

मनोज कुमार शर्मा प्रधानन्यायाधीशमा पूरा कार्यकाल अर्थात् ६ वर्ष काम गर्न पाउने पहिलो न्यायाधीश पनि बनेका छन् । उनी २०८९ वैशाखसम्म पदमा कायम हुनेछन् ।

उनले उमेर हदका कारण अवकाश पाउँदा हाल तेस्रो वरियतामा रहेका न्यायाधीश हरि फुयाँलको कार्यकाल ३ वर्ष बाँकी रहनेछ । शर्माको कार्यकाल भर उनी कायम रहे र त्यसपछि प्रधानन्यायाधीशमा नियुक्त भए भने फुयाँल पनि करिब ३ वर्ष प्रधानन्यायाधीश बन्नेछन् ।

तर यस पटक नै उनीभन्दा पछिल्लो वरियताका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएका कारण फुयाँलको सम्भावना कम छ । ६ वर्षपछि पनि वरियता मिचियो भने हाल पाँचौँ वरियताका न्यायाधीश नहकुल सुवेदी प्रधानन्यायाधीश बन्नेछन् । उनी दुई वर्ष प्रधानन्यायाधीश पदमा बहाल रहनेछन् ।

६ वर्षपछि पनि संवैधानिक परिषद्मा हालकै राजनीतिक दल, संरचना र कानुन कायम रहेको अवस्थामा नहकुल सुवेदी पनि प्रधानन्यायाधीश बन्न नसक्ने देखिएको छ । रास्वपा सभापति रवि लामिछानेलाई सुवेदी र अर्का न्यायाधीश बालकृष्ण ढकालको इजलासले थुनामा पठाउने उच्च अदालतको आदेश सदर गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको थियो ।

सुवेदी संलग्न इजलासले ९ जेठ २०८२ मा लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गर्दै लामिछाने पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको थियो ।

शर्माको अवकाशपछि फुयाँल या सुवेदी जो प्रधानन्यायाधीश नियुक्त भए पनि आगामी २०९१ सालसम्म नयाँ प्रधानन्यायाधीश नियुक्त हुने छैनन् ।

शर्माको कार्यकालमा हाल बहालवाला फुयाँल र सुवेदीबाहेकका सबै न्यायाधीशले उमेर हदका कारण अवकाश पाइसकेका हुनेछन् ।

उनको कार्यकालभित्रै सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, नित्यानन्द पाण्डे, मेघराज पोखरेल, शारंगा सुवेदी, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले अवकाश पाइसकेका हुनेछन् ।

को हुन् शर्मा ?
६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका मनोजकुमार शर्माको जन्म ४ असार २०२७ मा वीगञ्जमा भएको हो । उनले नेपाल ल क्याम्पसबाट बी.एल.र भारतको पुणे विश्वविद्यालयबाट एल.एल.एम. गरेका छन् । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् ।

प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पालामा २०७१ सालमा उच्च अदालतमा अस्थायी न्यायाधीशमा नियुक्त भएका शर्मा प्रधानन्यायाधीश कल्याण श्रेष्ठका पालामा स्थायी नभएपछि पदबाट हटेका थिए । पूर्वप्रधानन्यायाधीश दामोदर प्रसाद शर्माका भतिज नाता पर्ने शर्मालाई चोलेन्द्र शमशेर जबराको पालामा सर्वोच्च अदालतको न्यायाधीश बनाइएको हो ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण थापाले उनीविरुद्ध ५ वर्षे अनुभवको अभाव भएको, अधिवक्ता भएको १५ वर्ष नपुगी न्यायाधीशमा सिफारिस गरिएको र न्याय क्षेत्रमा निरन्तर १२ वर्ष सेवा नगरेको भन्दै उजुरी दिएका थिए । संसदीय सुनुवाई समितिले उजुरीमा सुनुवाइ गरे पनि उनलाई अनुमोदन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

अदालतबाट ‘लालीबजार’ रिलिजको लागि फुकुवा