गछिया गोल्डकपको आय–व्यय सार्वजनिक, दोस्रो संस्करण अझ भव्य बनाइने

सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया युवा समाजद्वारा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण एनी प्रथम गछिया गोल्डकप २०८२ को आय–व्यय सार्वजनिक गरिएको छ। गछियास्थित एसएस क्याफे एन्ड रेष्ट्रोमा आयोजित विशेष कार्यक्रममा आयोजक समितिले प्रतियोगिताको विस्तृत आर्थिक विवरण सार्वजनिक गर्दै प्रतियोगिताको समिक्षासमेत गरेको हो।

गत मंसिर १५ गतेदेखि सञ्चालन भएको गछिया गोल्डकपले स्थानीयस्तर मात्र नभई प्रदेशकै खेलकुद क्षेत्रमा विशेष चर्चा बटुल्न सफल भएको आयोजकले जनाएको छ। प्रतियोगिताले युवापुस्तामा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै गछियाको पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको कार्यक्रममा सहभागीहरूले बताएका छन्।

आयोजक समितिका अनुसार विभिन्न संघ–संस्था, शिक्षा साझेदार, प्रायोजक, स्थानीय तह, टिकट बिक्री तथा सिजनल पासमार्फत कुल ५० लाख २५ हजार ३ सय ३८ रुपैयाँ आम्दानी भएको छ। प्रतियोगिता सञ्चालन, व्यवस्थापन, खेलाडी आवास, पुरस्कार वितरण, प्रचार–प्रसारलगायत शीर्षकमा ४२ लाख ५७ हजार ३ सय ७० रुपैयाँ खर्च भएको जानकारी दिइएको छ। साथै ७ लाख ६ हजार रुपैयाँ उठ्न बाँकी रहेको तथा रेडबुल कम्पनीबाट १६ कार्टुन सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै खेल संयोजक प्रलाहद थोप्राले पहिलो संस्करण नै अपेक्षाभन्दा सफल भएको उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन स्थानीय खेलप्रेमी, व्यवसायी, प्रायोजक संस्था, स्थानीय तह तथा दर्शकहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

उनले पहिलो संस्करण भएकाले अनुभव कम र चुनौती धेरै भए पनि सबैको साथ, सहयोग र विश्वासका कारण प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताए। आगामी संस्करणलाई अझ व्यवस्थित, भव्य तथा अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारीमा जुटिसकेको उनले जानकारी दिए।

गछिया युवा समाजका अध्यक्ष सरोज दाहालले खेलकुदमार्फत युवालाई सकारात्मक तथा सिर्जनशील गतिविधितर्फ अग्रसर गराउने उद्देश्यले गोल्डकप आयोजना गरिएको बताए। उनले छोटो समयमै गछिया गोल्डकपले छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे।

“हामीले सुरुदेखि नै पारदर्शितालाई प्राथमिकतामा राखेका छौं,” अध्यक्ष दाहालले भने, “त्यसैले सार्वजनिक रूपमा आय–व्यय विवरण प्रस्तुत गरेका हौं। पहिलो संस्करणबाट प्राप्त माया, समर्थन र उत्साहले आगामी संस्करणलाई अझ प्रभावकारी र आकर्षक बनाउने प्रेरणा दिएको छ।” यस्तै सह–संयोजक मनोज राईले गछिया खेल मैदानलाई “सजीलाल अन्तर्राष्ट्रिय रंगशाला”का रूपमा विकास गर्न पहल आवश्यक रहेकोमा जोड दिए।

आयोजकले आगामी संस्करणमा थप विदेशी टोली सहभागी गराउने, पुरस्कार राशि वृद्धि गर्ने तथा दर्शकमैत्री व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने योजना रहेको जनाएको छ।प्रतियोगितालाई प्रदेशकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित गर्ने लक्ष्यसहित तयारी अघि बढाइने आयोजकको भनाइ छ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली माटोको सुगन्ध