काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले जालझेलपूर्ण ढंगले कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरेको खुलेको छ । एनसेल प्रालिको नाममा रहेको यो कम्पनी १९ साउन २०७७ मा एनसेल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो ।
७ जनाको नाममा जम्मा ११ कित्ता सेयर, २० प्रतिशत लगानीमा कानुनी प्रश्न
एनसेलको सेयर खरिद बिक्री प्रकरणमा भएको अनियमितताका विषयमा छानबिन गर्न पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित छानबिन समितिले पब्लिक लिमिटेड बनाउने क्रममा चलाखीपूर्वक र अस्वाभाविकरूपमा काम भएको भन्दै गम्भीर प्रश्न उठाइदिएको हो ।
समितिले एनसेलको २० प्रतिशत स्वदेशी सेयर लगानीकर्ताको नागरिकताको वैधतामा समेत प्रश्न उठाउँदै यस विषयमा पनि गम्भीर छानबिन जरुरी रहेको औँल्याएको हो । समितिले २०६८ सालमा गैरआवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतो र निरजगोविन्द वैद्यको राष्ट्रियतामा गम्भीर प्रश्न उठाउँदै थप अनुसन्धान गर्नुपर्ने औँल्याएको छ ।


२०७८ वैशाखभित्रमा ५ करोड रुपैयाँभन्दा माथि चुक्ता पुँजी भएको कम्पनीलाई पब्लिक कम्पनीमा रूपान्तरण गर्नुपर्ने कम्पनी ऐनको व्यवस्थाअनुसार एनसेल पब्लिक कम्पनी बनेको थियो । तर तत्कालीन एनसेल प्रालिले यो प्रक्रियामा चलाखीपूर्वक काम गरेर नाम मात्रको पब्लिक लिमिडेट कम्पनी बनाएको देखिएको हो ।
पब्लिक लिमिटेड बन्ने प्रक्रिया हुँदै विभिन्न कर विवादमा मुछिएको एनसेल पछिल्लो पटक २०८० मा सेयर खरिद बिक्रीमा भएको गैरकाननुी कार्यका कारण चरम विवादमा छ ।
पछिल्लो सेयर खरिद बिक्री प्रक्रिया सुरु हुनु तीन वर्षअघि नै चलाखीपूर्ण ढंगले सात जना नेपाली सेयर होल्डर थपेर कुल सेयरको ११ कित्ता सेयर बाँडफाँड गरी प्रालिलाई कम्पनीमा रूपान्तरण गरिएको पाइएको छ ।
एनसेल आजियाटा कम्पनी पप्लिक लिमिटेड भएपछि हालसम्म रेनोल्ड होल्डिङको ७९ दशमलव ९९ प्रतिशत र सतीशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको सतप्रतिशत लगानी रहेको सुनिभेरा क्यापिटल भेन्चर्स प्रालि (सनग्लोरी प्रालि) को १९ दशमलव ९९ प्रतिशत सेयर छ ।
बाँकी ० दशमलव ००११ प्रतिशत सेयर बापतको ११ कित्ता सेयर भने एनसेलमै कार्यरत ११ जना कर्मचारीको नाममा हस्तान्तरण गरिएको छ । यसलाई शर्माको प्रतिवेदनले ‘कम्पनीकै कर्मचारीलाई सेयर बिक्री वितरण गरी पब्लिक कम्पनी बनाउने अभ्यास अस्वाभाविक देखिएको’ भनेको छ । यो प्रकरणको थप छानबिन हुनुपर्ने उसको राय छ । एनसेलले पछिल्लोपटक स्वामित्व हस्तान्तरण रोकिएको बाहेक हालसम्म १४ पटक सेयर खरिद बिक्री अर्थात् स्वामित्व हस्तान्तरण गरिसकेको छ ।
‘२०७७ साल साउन १९ गते थप सात जना सोही कम्पनीका कर्मचारीहरूलाई ११ कित्ता सेयर बिक्री गरी कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको स्वाभाविक नदेखिएको,’ समितिले १५ माघ २०८० मा सरकारलाई बुझाएको प्रतिवेदनको निष्कर्ष तथा सिफारिस खण्डमा भनिएको छ ।
कम्पनीले १९ साउन २०७७ सालमा कर्मचारीहरू लेनाकेशरी कंसाकार, कविन मूल, समिरराज गौतम, कञ्चनसिंह कार्की, सम्पन्नराज भट्ट, ज्योति दाहाल र उमा महर्जनका नाममा कसैलाई एक कित्ता र कसैलाई दुई कित्ताका दरले सेयर दिएर प्रालिलाई पब्लिक लिमिटेड बनाएको थियो ।
प्रतिवेदनले उपेन्द्र महतोले खरिद गरेको २० प्रतिशत सेयर र खरिदलगत्तै अर्का गैरआवासीय नेपाली निरजगोविन्द वैद्यलाई बेचेका थिए । वैद्य सो सेयर बोकेर एनसेलमा ४ वर्षसम्म टिकेको देखिन्छ ।
यी दुई जनाबीचको सेयर किनबेचमा पनि प्रतिवेदनले कानुनी प्रश्न उठाइँदै यो लगानीलाई स्वदेशी लगानी भन्ने आधार कमजोर भनेको छ ।
उसले २० प्रतिशत स्वदेशी लगानी हुनुपर्ने प्रावधानअन्तर्गत सुरुमा महतो र त्यसपछि वैद्यको स्वामित्वमा गएको सेयरका विषयमा पनि छानबिन हुनुपर्ने भनेको छ ।
‘उपेन्द्र महतो’ सन् २००३ मा स्थापना भएको संस्था गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष भएको सार्वजनिक भएको हुँदा नेपाली टेलिकम कम्पनी एनसेलको २० प्रतिशत सेयर खरिद गर्दाको बखत उनी र निरजगोविन्द श्रेष्ठको राष्ट्रियता नेपाली वा गैरआवासीय नेपाली के थियो स्पष्ट हुनुपर्ने देखिन्छ,’ शर्माको प्रतिवेदनमा भनिएको छ ।
‘उक्त २० प्रतिशत सेयर स्वामित्व ग्रहण गर्दा यदि निजहरू नेपाली नागरिक नरहेको भए सो कारोबार दूरसञ्चार नीति, २०६० को प्रतिकूल हुने देखिन्छ । यदि त्यसबखत निजहरू नेपाली नागरिक भएको भए निजहरूबाट गरिएका विदेशी लगानी तथा ऋणका कारोबारहरू समेत विदेशी विनिमय (नियमन) गर्ने ऐन, २०१९ को विपरीत हुनजाने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
यसरी जन्मियो पछिल्लो विवाद
१५ मंसिर २०८० मा आजियाटाले आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई हस्तान्तरण गरेपछि एनसेल आजियाटा लिमिटेडको सेयर खरिद बिक्री प्रकरण पुनः विवादमा परेको हो ।
१२ फागुन २०८० मा ८० प्रतिशत सेयर बेच्ने स्वीकृति माग्दै दूरसञ्चार प्राधिकरणमा एनसेलले निवेदन दिएको थियो । जबकि यो निवेदन दिनुअघि नै सेयर हस्तान्तरणको निर्णय र कारोबार भइसकेको देखिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणले १५ चैत २०८० मा सेयर खरिद विक्री अनुमति नदिने निर्णय गरेपछि हालसम्म यो प्रक्रिया रोकिएको छ भने अदालतले अन्तरिम आदेश जारी गरेर हाल या विवाद विचाराधीन छ ।
एनसेलको सेयर खरिद बिक्रीको निर्णयपछि सार्वजनिक लेखा समितिले समेत २० मंसिर २०८० मा सेयर खरिद बिक्री रोक्यो ।
२१ मंसिर २०८० मा टंकमणि शर्माको अध्यक्षतामा एनसेल सेयर खरिद बिक्री छानबिन समिति गठन भएपछि संसद्का विभिन्न समितिसमेत एकैपटक यो प्रकरणमा तातेको देखिन्छ । शर्माले १५ माघ २०८० मा प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म यो प्रतिवेदन औपचारिकरूपमा सार्वजनिक भएको छैन ।
संसद्को अर्थ समितिले २० पुस २०८० मै सेयर खरिद बिक्रीको १० वर्षको यथार्थ विवरण मागेको थियो भने राज्य व्यवस्था सुशासन समितिले ३ पुस २०८० मा एनसेलबाट सेयर खरिद बिक्रीदेखि कर र गैरकर रकम एनसेलबाट असुल गर्न निर्देशन दिएको थियो ।
१२ पुस २०८० मा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पनि एनसेल सेयर खरिद बिक्री तथा स्वामित्व हस्तान्तरणमा टंकमणि शर्माको छानबिन समितिलाई निष्पक्ष काम गर्न दिन निर्देशन दिएको थियो ।
पछिल्लो खरिद विवाद र अनुसन्धान
– १५ मंसिर २०८० मा आजियाटाले आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युकेलाई हस्तान्तरण
– १२ फागुन २०८० मा ८० प्रतिशत सेयर बेच्ने स्वीकृति माग्दै दूरसञ्चार प्राधिकरणमा एनसेलको निवेदन
– १५ चैत २०८० मा सेयर खरिद बिक्रीमा अनुमति नदिने प्राधिकरणको निर्णय
– २० मंसिर २०८० मा सेयर खरिद बिक्री रोक्न सार्वजनिक लेखा समितिको निर्देशन
– २१ मंसिर २०८० मा टंकमणि शर्माको अध्यक्षतामा एनसेल सेयर खरिद बिक्री छानबिन समिति गठन
– १२ पुस २०८० मा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले एनसेल सेयर खरिद बिक्री तथा स्वामित्व हस्तान्तरणमा टंकमणि शर्माको समितिलाई निष्पक्ष काम गर्न दिन निर्देशन।
– २० पुस २०८० मा अर्थ समितिद्वारा एनसेल सेयर खरिद बिक्रीको १० वर्षको यथार्थ विवरण माग्दै सेयर खरिद बिक्रीदेखि कर र गैरकर रकम एनसेलबाट असुल गर्न निर्देशन
– १५ माघ २०८० मा प्रतिवेदन सरकारलाई हस्तान्तरण
सम्बन्धित समाचार
सुन तोलामै ४ हजार ४ सयले वृद्धि, कतिमा भइराखेको छ कारोबार ?
आव २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ
एनसेल केन्द्रीय कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रण
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश
सेवा प्रवाहमा ऊर्जा मन्त्रालयको नयाँ अभ्यास : ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’
कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव
छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…
कामिरिताले तोडे आफ्नै विश्व कीर्तिमान, ३२औं पटक पुगे सगरमाथाको शिखरमा






