भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ३४० किसानलाई हाते टयाक्टर (मिनिटिलर) वितरण थालेको छ । कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित कृषकको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हाते ट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने बताए ।
‘किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने‘यसले किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न प्रोत्साहन गर्छ भन्ने हाम्रो अपेक्षा हो ।’बाँकी किसानलाई क्रमशः वितरण गरिने उनले बताए ।
गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । विगतका वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । किसानमा व्यवसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको बताए । ‘हामीले किसानको वास्तविक मागका आधारमा कार्यक्रम ल्याएका छौँ,’अध्यक्ष राईले उनले भने ‘यन्त्रिकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ।’
कृषकलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिइन् । ‘सामग्री वितरण मात्रै होइन’उनले भनिन्‘त्यसको सही प्रयोग र दीगो प्रभाव सुनिश्चित गर्नु पनि हाम्रो दायित्व हो,’।
स्थानीय किसानहरूले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन्। किसान डम्बरबहादुर कार्कीले हाते ट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषि कार्यमा लाग्ने समय र श्रम घटाउने बताए। स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ ।
गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्राउदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
सम्बन्धित समाचार
उदयपुर सिमेन्ट उद्योगका कर्मचारी तलब माग्दै आन्दोलित
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
सहकारी संस्थाहरूको दर्ता आनाकानी
विद्यालयको नाममा रहेको जमिनमा बस्ती विस्तार
घरजग्गा धितो बन्धक रोक्का र फुकुवा सहज
‘समाजवादउन्मुख अर्थ व्यवस्था’मा उद्योगी–व्यवसायी असन्तुष्ट
किसानलाई रु १२ करोड भुक्तानी
आर्थिक सर्वेक्षण २०८२/८३ः कुल राजस्वमा सङ्घ सरकारको हिस्सा ९२ प्रतिशत






