धनगढी । आफ्नो २६औँ स्थापना दिवसको अवसरमा चैतन्य पाठशालाले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै धनगढीस्थित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया छात्रावास’मा आश्रित बालबालिकाका लागि स्टेशनरी सामग्री तथा खाद्यान्न वितरण गरेको छ ।
शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको पाठशालाले समाजप्रति आफ्नो दायित्व केवल गुणस्तरीय शिक्षा प्रदान गर्नु मात्र नभई मानवीय संवेदना, सहयोग र सामाजिक सेवाको भावना विकास गर्नु पनि रहेको विश्वासका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।
स्थापना दिवसका अवसरमा विद्यालयका शिक्षक, कर्मचारी तथा कक्षा १० का विद्यार्थीहरू छात्रावास पुगेर आवश्यक शैक्षिक सामग्री र खाद्यान्न हस्तान्तरण गरेका थिए ।
यस अवसरमा विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बचत गरेको रकम समेत सहयोगस्वरूप प्रदान गरेका थिए । कार्यक्रममा अभिभावक ज्ञानु रोकायाले पनि आर्थिक तथा सामग्री सहयोग गरेका थिए । यस्ता सहयोगात्मक कार्यक्रमले बालबालिकाको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नुका साथै सामाजिक सद्भाव र मानवीय सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास विद्यालयले व्यक्त गरेको छ ।
चैतन्य पाठशालाले विगत २६ वर्षदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले संस्थाको सफलताको आधार समाज, अभिभावक र विद्यार्थीहरूको विश्वास रहेको बताए । शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई पनि विद्यालयले आफ्नो प्रमुख कर्तव्यका रूपमा लिँदै आएको र आगामी दिनमा समेत यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।
‘चैतन्य पाठशालाबाट निरन्तर प्राप्त सहयोगले छात्रावासका बालबालिकाको दैनिक आवश्यकताको पूर्तिमा सहयोग पुगेको छ। यसले हामीलाई समाजले साथ दिएको अनुभूति गराएको छ,’ आमाको माया छात्रावासका प्रमुख सुवास तामाङले भने ।
स्थापना दिवसको अवसरमा गरिएको यस सहयोगात्मक कार्यक्रमले चैतन्य पाठशालाको सामाजिक प्रतिबद्धता, मानवीय संवेदना र सेवामूलक सोचलाई पुनः एकपटक उजागर गरेको छ । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा समाजमुखी गतिविधिलाई निरन्तरता दिँदै शिक्षा र संस्कारको यात्रालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार
ठाटीकाँध गाउँपालिकामा विद्यालय समायोजन लागू
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
रानीसैन संरक्षणका लागि संघीय सरकारलाई मेयर हमालको आग्रह
लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन
चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा
विद्यालयमै महिनावारी आराम कक्ष
अन्धकारमै बझाङ !
त्रिदेशीय महत्वको ‘महाबु सडक’ निर्माणमा जोड






