अन्तःशुल्क टिकटको गलत प्रयोगः ‘राजश्व कार्यालय’ चुप

वीरगन्ज । अन्तःशुल्क निर्देशिका, २०६८ परिमार्जित संस्करण २०७९ को पालनामा आन्तरिक राजश्व कार्यालय जितपुरसिमरा, बारा आफै चुप रहेको पाइएको छ । राज्यको नियमनकारी निकाय भएर पनि अन्तःशुल्क टिकट सम्बन्धी व्यवस्थाको, अन्तःशुल्क टिकट र यसको प्रयोग (नियमावलीको नियम ३०) मा जिम्मेवार निकाय आफै चुप रहेको पाइएको हो ।

वियर र मदिरा उत्पादक विभिन्न (७-८ वटा) उद्योग आन्तरिक राजश्व कार्यालय जितपुरसिमरा बारा अन्तरगर्त पर्दछन् । ती उद्योगहरु मध्ये रौतहटको कबही नगरपालिका ९ मा रहेको ज्योति डिष्टिलरी र बाबा डिष्टिलरीलगायतले अन्तःशुल्कका निरिक्षक (कर्मचारी) को अनुपस्थितमा अन्तशुल्क टिकट प्रयोग गर्ने गरेको पाइएको छ ।

यो अन्तः शुल्क निर्देशिका २०६८ परिमार्जित संस्करण २०७९ को परिच्छेद ६ को अन्तःशुल्क टिकट सम्बन्धी व्यवस्थाको ६.१.५ को बर्खिलाप हो । उद्योगी एक्लैले राज्यका जिम्मेवार कर्मचारीको अनुपस्थितिमा अन्तःशुल्क टिकटको प्रयोग गर्न नमिल्ने नीतिगतः व्यवस्था छ ।

राजश्व चुहावट रोक्न नीतिगत व्यवस्था
अन्तः शुल्क टिकट राख्ने विधि समेत निर्देशिकामै प्रष्ट पारिएको छ । जहाँ अन्तःशुल्क टिकट राखिन्छ त्यहाँ ताल्चा प्रयोग गर्ने विधि समेत निर्देशिकामा उल्लेख छ । उद्योगी व्यवसायीले जाली टिकट प्रयोग नगरुन्, कानूनतः गलत काम र राजश्व चुहावट नहोस् भन्ने उद्देश्यले अन्तःशुल्क टिकटको प्रयोग राज्यको निगरानीमा मात्र हुने नीति राज्यको छ ।

अन्तःशुल्क निर्देशिकाको टिकट ताल्चा प्रयोग गर्ने तरिकाको ६.३.१.३. मा उल्लेख ‘गोदाममा अन्य ढोका छन् भने ती सबै ढोकाहरुमा एक पटक टिकट सहित लाहाछाप लगाई पूर्ण रुपमा सधैं बन्द गर्नु पर्छ, गोदाममा जति वटा ढोका भए पनि कारोबारको लागि खोल्ने र बन्द गर्ने एउटा मात्र मूल ढोकामा टिकट ताल्चाको प्रयोग गर्नुपर्छ’ भनी प्रष्टै भनिएको छ । त्यसैगरी निर्देशिकाको नम्बर ६.३.१.३ मा टिकट ताल्चाको आकार विभागले तोके बमोजिम हुन्छ । सो टिकटलाई ताल्चामा साँचो घुसार्ने प्वालबन्द हुने गरी ताल्चाको वरिपरि ढाक्ने गरी बेरिदिनु पर्दछ र ताल्चा खोल्नासाथ त्यो टिकट ताल्चा च्यातिनु पर्दछ । च्यातिन बाँकी रहेको टिकटको भागहरु पनि उप्काएर ढोका बन्द गरिसकेपछि पुनः अर्को टिकट लगाउनु पर्दछ भनी निर्देशिकामा भनिएको छ ।

झन् ‘अन्तःशुल्क टिकट ताल्चा प्रयोग गरेपछि तोकिए बमोजिमको खातामा प्रत्येक पटक गोदामको ढोका खोल्नु पर्नाको कारण सहितको विवरण लेखेर मात्र ढोका खोल्नु पर्छ र ढोका बन्द गरेपछि प्रयोग गरिएको नयाँ टिकटको सिलसिलेबार नम्बर उल्लेख गर्नु पर्छ’ भनी निर्देशिकाको ६.३.१.४ मा थप उल्लेख गरिएको छ ।

अन्तशुल्क टिकट ताल्चाको प्रयोग कडा गरिनुको मुख्य उद्देश्य कच्चा पदार्थ, अर्ध तयारी बस्तु र तयारी बस्तु उद्योगी व्यवसायीले दूरुपयोग एवं अन्तशुल्क चुहावट गर्ने सम्भावना नहोस् भनी अन्तः शुल्क टिकट राखिएको ठाउँकै सम्वेदनशितालाई पनि राज्यले विधिसंगत राख्न निर्दिष्ट गरेको छ । कति उद्योगीले अन्तःशुल्क गलत प्रयोग गरेको भेटेपछि जेल चलान भएकासम्म उदाहरण छन् ।

प्रतिष्ठानमा नियमित कर्मचारी नपुग्नुको रहस्य अवैध लाभको चक्कर
महिनामा एक या दुई पटक वाहेक जिम्मेवारी तोकिएका राजश्वका कर्मचारी दिलचन्द्र साह नियमित उक्त उद्योगमा नपुग्ने गरेको आन्तरिक राजश्व कार्यालय जितपुरसिमराले आफै स्वीकार गरेको छ । कर्मचारी अभावले यस्तो भएको आन्तरिक राजश्व कार्यालय जितपुरसिमराका प्रमुख दिनेश पाण्डेले राजधानी दैनिकसँग बताए । ‘जनशक्ति अभावले दैनिक जान आउन सम्भव हुँदैन’ । ‘फेरि अन्तःशुल्क टिकट त गनेर दिएकोले यता उता हुनै सक्दैन नि उनले उल्टै दावी गरे ।

कार्यालयका निरिक्षक नियमित उद्योग नपुग्नुमा कार्यालय प्रमुख पाण्डे समेतको उद्योगीसँग साँठगाँठ रहेको श्रोतको दावी छ । कार्यालय प्रमुख पाण्डेले यो दावी सत्य नभएको जिकिर गरे । उद्योगमा सुक्ष्म निगरानी गरिरहेका प्रत्यक्षदर्शीले भने डिष्टिलरीले अरुको कम्पनीको पुराना बोत्तल ग्रेण्डिङ्ग गरी पुनः प्रयोग गर्ने र टिकट प्रयोग पनि आफै गर्ने सम्मको कडा दावी गरे । आफू थप बुझिरहेकोले अलि पछि नाम पनि सार्वजनिक गर्न उनले तर्क गरे ।

उद्योगीकोे पनि सुक्ष्म स्वीकारोक्ति
अन्तःशुल्कका कर्मचारीको अनुपस्थितमा अन्तःशुल्क टिकट प्रयोग किन ? भनी ज्योति डिष्टिलरीका संचालक बैजु जयसवालसँग बुझ्दा ज्योति डिष्टिलरी लगायत आफ्ना अन्य कम्पनीहरुमा ३ जनासम्म राजश्वका कर्मचारी खट्ने गरेको उनको दावी छ । फेरि प्रविधिको प्रयोगसँगै कार्यालयबाट पनि निगरानी राख्ने गरेको भनी उनले घुमाउरो पाराले कर्मचारी अनुपस्थित हुने संकेत पनि गरे ।

रौतहटका ओम ब्रुअरी तथा ज्योति डिष्टिलरीहरुले अरुको प्रयोग भएको बोत्तल ग्रेण्डिङ्ग गरेर पुनः प्रयोग गर्ने सम्मका केही कमजोरी गर्ने गरेको केन्द्रबाट चासो भएपछि आन्तरिक राजश्व कार्यालय जितपुरसिमरा बाराले छापा मारेको थियो । तर त्यसको निश्किर्ष पनि अनुसन्धानका बहानामा किनारा नलागेको खुलेको छ । थप अनुसन्धान पछि टुँगोमा पुगिने राजश्व कार्यालय सिमराका प्रमुख पाण्डेले दावी गरे ।

विगतका सरकारले अवैध आर्थिक लाभको लागि नीतिगत छिद्र राखी ब्रुअरी र डिष्टिलरीले पुराना बोत्तल प्रयोग गर्न पाउने भरपुर ठाउँ राखेका थिए । तर वर्तमान सरकार भने उत्पादक कम्पनीहरुको गलत प्रभावबाट जोगिन्छ कि भन्ने मदिरा व्यवसायीहरुको तर्क छ ।

नयाँ बोत्तल प्रयोग गर्दा २७ देखि ३५ रुपैयासम्म खर्च पर्ने भएपछि ४ रुपैयादेखि ८ रुपैयासम्ममा पुराना बोत्तल मै तयारी मदिरा तथा बियर प्याक गरी प्रति बोत्तल २७ रुपैयासम्म उपभोक्ता ठग्ने तथ्य मदिरा र बियर कम्पनीले पुराना बोत्तल प्रयोग गर्ने तथ्य खोतल्दा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य जिम्मेवार कर्मचारी समेत नीतिगत छिद्रमा रमाउने गरेको भेटिएको थियो । यो पटक सुधार हुनेमा मदिरा व्यवसायीहरुको अपेक्षा छ ।

०८१–०८२ सालमा मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट जम्मा ६६ लाख मात्र विय र मदिराका नयाँ बोत्तल आयात भएको तथ्यले मुलकभर पुराना बोत्तल प्रयोगको अनुपात ९५ प्रतिशतभन्दा बढि हुने गरेको रहस्य खुलेको थियो । तर अझै नेपाल सरकारका सम्बन्धित मन्त्रालयका मन्त्री र जिम्मेवार कर्मचारी यो गल्ती सुधार्ने तर्फ सकारात्मक नभएको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित