विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा (मोरङ) । विश्व वातावरण दिवस २०२६ को अवसरमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाको कटान नियन्त्रण तथा वातावरण संरक्षणका लागि वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल कलेज अफ इन्भाइरोमेन्ट एन्ड फरेष्ट्री, जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर तथा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।

‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नारासहित आयोजित कार्यक्रममा बाँस रोपणमार्फत वातावरण संरक्षण, हरित विकास तथा जलवायु परिवर्तन न्यूनीकरणका विषयमा विशेष जोड दिइएको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली रहेका थिए भने मन्त्रालयका सचिव डा. ईन्द्रप्रसाद सापकोटा तथा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईं विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले वातावरण संरक्षण वर्तमान पुस्ताको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको दायित्वसमेत भएको उल्लेख गरे। उनले हरित प्रदेश निर्माणका लागि वृक्षारोपण अभियान र जनसहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
त्यस्तै मन्त्रालयका सचिव डा. सापकोटाले बाँसलाई वातावरणीय सन्तुलन कायम राख्ने, भूक्षय नियन्त्रण गर्ने तथा आर्थिक रूपमा समेत लाभदायक वनस्पतिको रूपमा व्याख्या गरे।

नगर प्रमुख गुरागाईंले वातावरणमैत्री विकासलाई प्राथमिकतामा राख्दै नगरपालिका अघि बढिरहेको जानकारी दिँदै नगर क्षेत्रमा हरियाली विस्तार, खुला स्थान संरक्षण तथा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। “विकास र वातावरणबीच सन्तुलन कायम गर्दै हरित नगर निर्माणमा सबै नागरिकको साथ र सहयोग आवश्यक छ,” उनले भने।

कार्यक्रमका अध्यक्ष तथा पूर्वाञ्चल कलेज अफ इन्भाइरोमेन्ट एन्ड फरेष्ट्री एवं जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टरका निर्देशक (प्रमुख) सहायक प्राध्यापक शन्नि कुमार साहले वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै रुख रोप्नु मात्रै पर्याप्त नहुने, त्यसको संरक्षण र संवर्द्धनमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए।

कार्यक्रम’bout जानकारी दिँदै कलेजका सिनियर अफिसर देबीप्रसाद कट्टेलले वातावरण संरक्षण र जलवायु परिवर्तनका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार विभिन्न सरकारी निकाय, शैक्षिक संस्था, संघसंस्था तथा स्थानीय समुदायको सहकार्यमा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।

“यस्ता कार्यक्रमले समाजमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई प्रकृतिप्रति जिम्मेवार बन्न प्रेरित गर्छन्,” कट्टेलले भने। विद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको समेत सहकार्य रहेको थियो।

आयोजकहरूले विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको वृहत बाँस वृक्षारोपण अभियानले हरित वातावरण निर्माण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, कार्यक्रमले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र दिगो विकासका लागि सामूहिक प्रयासको आवश्यकतालाई पुनः स्मरण गराएको सहभागीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न